October 2, 2023, Monday
२०८० आश्विन १६, मंगलवार
एमाले नछोड्ने बताउदै योगेश भट्टराईले लगाए माधव नेपाललाई यस्तो आरोप

एमाले नछोड्ने बताउदै योगेश भट्टराईले लगाए माधव नेपाललाई यस्तो आरोप

भदौ ०७, काठमाडौँ– लामो समय माधव नेपालको पक्षमा रहेर अध्यक्ष केपी शर्मा ओलीसँग संघर्ष गरेका एमाले सचिव योगेश भट्टराईले पार्टी विभाजन गर्न नेपालले हतार गरेको आरोप लगाएका छन्।

१० बुँदे सहमति कार्यान्वन गर्ने र एमालेलाई पूर्ण रुपमा २०७५ जेठ २ को अवस्थामा फर्काउने प्रतिबद्धता अध्यक्ष ओलीले जनाएपछि नेपाल पक्षमा रहेका नौ जना स्थायी कमिटि सदस्यहरुले एमालेमै रहने निर्णय गरेसँगै उनीहरुले नेपालले हतारमा पार्टी विभाजन गरेको टिप्पणी गरेका हुन्।

ओलीसँग उक्त सहमित गरेपछि पार्टी विभाजनमा साथ नदिएका नेताहरुले नेपालले सल्लाह नै नगरी हतारमा पार्टी विभाजन गरेकाले अब उनको पक्षमा लाग्न नसकिने घोषणा गरेका छन्।

सचिव योगेश भट्टराईले भने, ‘आजको दिनमा पनि हामी माधव नेपालसहितको एकताको पक्षमा छौँ। तर उहाँले अलि हतारमा, साथ दिँदै आएका पार्टी स्थायी कमिटिको यत्रो टिमसँग छलफल नै नगरी, केन्द्रीय कमिटिको म्याण्डेटभन्दा बाहिर जानुभयो। पार्टी दर्ताको प्रक्रियामा जानुभयो। त्यो बारेमा स्थायी कमिटिका साथीहरु र केन्द्रीय कमिटिका धेरै साथीहरुलाई थाहा भएन। उहाँ हतारिनुभएको छ।’

सचिव भट्टराईले नेपाललाई पार्टी नफुटाउन आग्रह गर्दागर्दै पनि अघि बढेको आरोप लगाए।

उनले भने, ‘हामीले अन्तिम क्षणसम्म पनि भन्यौँ। चैत ४ र ५ गते भएको राष्ट्रिय भेलाको निष्कर्ष पार्टी एकताको रक्षा गर्ने थियो, विभाजन होइन। हामीले माधव नेपालसँग पटक–पटक भन्दै आयौँ, अध्यक्षको कार्यशैलीप्रति असहमित राख्न, विरोध जनाउन हाम्रो मत मिल्छन्। तर अगल पार्टी बनाउने सन्दर्भमा हामी तपाईंसँग हुँदैनौँ भनेर माधव कमरेडलाई प्रष्ट रुपमा भन्दै आएका थियौँ।’

उनले नेपाललाई नयाँ पार्टी गठन प्रक्रिया रोक्न र एमालेमै फर्किन औपचारिक रुपमा आग्रह गर्ने निर्णय भएको जानकारी दिए। त्यस्तो अवस्थामा १४ जना सांसदमाथि गरिएको कारबाही पनि रोक्ने प्रतिबद्धता अध्यक्ष ओलीले जनाएका उनको भनाइ छ।

‘एकतामा सहभागी हुने सन्दर्भमा विगतमा भएका कारबाही, कमिकमजोरी, जस्ता प्राविधिक कुरा रद्द हुन्छन् भनेर अध्यक्ष कमरेडले भन्नुभएको छ। माधव नेपाललाई पनि एकतामा आउन आह्वान गर्छौँ, कुरा गर्छौँ। औपचारिक रुपमा भनेका छौँ, नयाँ पार्टी गठनको प्रक्रियाबाट उहाँ अलग हुनुपर्छ। १४ जनाको कारबाही फिर्ता हुन्छ। हामी त्यसमा अन्तिम समयसम्म लाग्छौँ,’ भट्टराई भने।

ओली पक्षीय स्थायी कमिटि सदस्य प्रदीप ज्ञवालीले भने माधव नेपालले फरक बाटो तय गरिसकेकाले धेरै सोच्न आवश्यक नरहेको प्रतिक्रिया दिए। उनले भने, ‘उहाँले फरक बाटो तय गरिसक्नुभएको छ। यस्तो अवस्थामा उहाँका बारेमा धेरै अलमलिन जरुरी छैन।’

अध्यक्ष ओलीले एमालेका सबै संरचनालाई जेठ २ मा फर्काउने प्रतिबद्धता जनाएसँगै नेपाल पक्षीय नेताहरु स्थायी कमिटिको बैठकमा भाग लिन तयार भएका छन्।

त्यसका लागि मंगलबार बिहान ११ बजे स्थायी कमिटिको बैठक आह्वान गर्ने र त्यसमा नेपाल पक्षमा रहँदै आएका भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण बिष्ट, प्रदिप ज्ञवाली, रघुजी पन्त र प्रदीप ज्ञवाली सबैकमा उपस्थित हुन तयार भएका छन्।

यसअघि अध्यक्ष ओलीको बोली र व्यवहारम फरक हुने गरेको बताउँदै आएका नेपाल पक्षीय नेताहरु सोमबार भने निक्कै आशावादी बनेर बालकोटबाट निस्किएका छन्।

‘कसैमाथि पनि पक्षपात हुँदैन, पार्टीको सबै संरचना जेठ २ को अवस्थामा फर्किन्छ। त्यसको कार्यान्वयनको कार्यतालिकाबारे भोलि बिहान ११ बजे स्थायी कमिटि बैठक बसेर निर्णय गर्छौँ,’ भट्टराईले भने।

अध्यादेश जारी भएपछि नेपालले एमाले विभाजनका लािग दिएको निवेदनमाथि बुधबार निर्वाचन आयोगमा सनाखत हुँदैछ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज