सुजाता निवासमा ३ कोइरालाको लन्च मिटिङ, ३ एजेन्डामा छलफल
साउन ०२, काठमाडौं : कोइराला परिवारका नेपाली कांग्रेसका तीन नेताले शनिबार लञ्च मिटिङ गरेका छन्। महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला र सुजाता कोइरालाबीच लञ्च मिटिङ भएको हो।
महाराजगञ्जस्थित महामन्त्री शशांकको निवासमा भएको लञ्च मिटिङमा तीन एजेन्डामा छलफल भएको डा. शेखर कोइरालाका सहयोगी दिनेशचन्द्र थपलीयाले जानकारी दिए। थपलीयाका अनुसार राष्ट्रिय राजनीति, सरकारलाई विश्वासको मत दिलाउने र पार्टीको १४ औं महाधिवेशनका विषयमा कुराकानी भएको हो।
तीन नेताको छलफलमा पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई कसरी विश्वासको मत दिलाउने भन्ने विषयमा केन्द्रित भएको छ। सरकारलाई विश्वासको मत दिलाउन विभिन्न अप्सनमा छलफल भएको छ। त्यसका लागि सक्रिय भएर लाग्ने निर्णय नेताहरुले लिएका छन्।
राष्ट्रिय राजनीतिलाई कांग्रेसको नेतृत्वमा अगाडि बढाउँदै महाधिवेशनलाई सफल बनाउने विषयमा नेताहरुबीच छलफल भएको हो। १४ औं महाधिवेशनमा पार्टी नेतृत्वका लागि उम्मेदवार चयन र अहिले देखिएको क्रियाशिल सदस्यता विवादको विषयमा समेत छलफल भएको छ।
आसन्न महाधिवेशनमा कोइराला परिवारबाट सर्वसम्मत उम्मेदवार चयनको विषयमा नेताहरुले छलफल गरे। कोइराला परिवारबाट शशांक र शेखर कोइरालाले नेतृत्व दाबी गर्दै आएका छन्। दुवै नेताले तयारी तीव्र बनाइरहेका बेला सुजाता कोइरालाले सहमति गरेर अगाडि बढ्ने प्रस्ताव गरेकी छन्। सुजाताले सहमति गरेर अगाडि बढ्नुपर्ने र नभए आफूले पनि दाबी गर्ने बताएकी हुन्।
कांग्रेसको संस्थापन पक्षका दर्जन बढी नेताले सभापतिका लागि आकांक्षा देखाउँदा कोइराला परिवारबाट शशांक र शेखरले दाबी प्रस्तुत गर्दै आएका छन्। शशांक र शेखरले सभापतिको दाबीबाट पछाडि नहट्ने अडान लिएका छन्। पार्टी सभापति देउवाले पुनः पार्टी सभापतिमा उम्मेदवारी दिने तयारी गरेपछि विपक्षी गठबन्धन एक भएर अगाडि बढ्नुपर्ने नेताहरुको मत रहेको छ। यसमा सहमति भने हुन सकेको छैन।
सभापति देउवाले दोहोरिने घोषणा गरेपछि संस्थापन पक्षकै उपसभापति विमलेन्द्र निधिलेसमेत दाबी प्रस्तुत गरेका छन्। निधिले सभापतिमा दाबी गरेपछि केही दिनअगाडि निधिसँगै शशांक कोइराला र प्रकाशमान सिंहबीच पटकपटक छलफल भएको थियो। तीन नेताको छलफलसमेत बिना निष्कर्ष टुंगिएको थियो । अन्नपूर्ण बाट साभार ।
प्रतिकृया दिनुहोस्