April 17, 2026, Friday
२०८३ बैशाख ४, शुक्रबार
प्रदेश नं. २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री र एक राज्यमन्त्रीले दिए राजिनामा

प्रदेश नं. २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री र एक राज्यमन्त्रीले दिए राजिनामा

साउन ०२, जनकपुरधाम – प्रदेश २ का एक मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएका छन् । प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले राजीनामा दिएका हुन् ।

नेकपा माओवादी केन्द्रलाई प्रदेश सरकारमा सहभागी गराउने सहमति भएपछि मार्गप्रशस्त गर्दै जनता समाजवादी पार्टी नेपालको निर्देशनानुसार दुवैजनाले राजीनामा दिएका हुन् ।

मन्त्री र राज्यमन्त्री दुवैजनाले मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा पत्र समेत बुझाइसकेका छन् भने मुख्यमन्त्री राउतले तिनीहरुको विदाई समेत गरिसकेका छन् ।

मन्त्री र राज्यमन्त्रीको राजीनामा आइसकेपछि शनिबार दिउँसो ३ बजे माओवादीलाई सो मन्त्रालयको जिम्मेवारी दिने भएको छ ।

मुख्यमन्त्री राउतले आज माओवादी केन्द्रलाई एक मन्त्रालय र एक राज्यमन्त्री दिएर मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । माओवादी केन्द्रबाट मन्त्रीको रुपमा भरत प्रसाद साह र राज्यमन्त्रीको रुपमा रुवी कुमारी कर्ण सामिल हुन लागेकी छन् ।

माओवादी केन्द्रले महत्वपूर्ण मन्त्रालय दिए मात्रै सरकारमा सहभागी हुने जनाउँदै आएको थियो ।

प्रदेश सरकारमा माओवादी केन्द्रबाट संसदीय दलका नेता भरतप्रसाद साहलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिने पक्कापक्की भएपछि सरकारमा जान लागेका छन् । त्यस्तै रुवी कर्ण राज्यमन्त्री बन्न भएकी छन् ।

मन्त्रीमा नियुक्त हुन लागेका दुवैजनालाई आज दिउँसो ३ बजे प्रदेश प्रमुख राजेश झा अहिराजले पद तथा गोपनीयताको शपथ लिनेछन् ।

यसअघि, माओवादीलाई सरकारमा सहभागी गराउनका लागि उद्योग, वन, वातावरण, पर्यटन मन्त्रालय फुटाएर उद्योग, पर्यटन तथा वन मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयलाई फुटाएर वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय थपेको थियो ।

तर, माओवादीले भने अर्थ मन्त्रालय, आन्तरिक मामिला तथा संचार मन्त्रालय र कृषि मन्त्रालय मध्ये कुनै एक मन्त्रालय दिन ताक्दै आएका थिए ।