गण्डकीका नयांँ मुख्यमन्त्रीको शपथ ग्रहण आजै, मनाङे सहित ४ मन्त्रीले पनि सपथ लिने
जेठ २९ , पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज शपथ ग्रहण लगत्तै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् ।
मुख्यमन्त्री पोखरेलले आज प्रदेश प्रमुखको कार्यालयमा साढे ७ बजे शपथ लिदैंछन् । आजै नेपाली कांग्रेसका १, माओवादी १ , जसपाका १ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले मन्त्रीको रुपमा शपथ लिनेछन् ।
कांग्रेसबाट कुमार खड्काले मन्त्रीको शपथ लिनेछन् । पोखरेललाई समर्थन गरेको राष्ट्रिय जनमोर्चा भने सरकारमा सहभागि नभई समर्थन जनाउनेछ ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल आज नियुक्त भएका हुन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । अब उनले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।
को हुन पोखरेल ?
नेपाली कांग्रेस संसदीय दलका ७१ वर्षीय नेता पोखरेल नवलपरासी पूर्व १ (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । पोखरेल राजनीतिक पृष्ठभूमिकै परिवारमा जन्मे/हुर्के । उनका बुबा प्रजातन्त्र सेनानी गोवर्द्धन शर्मा हुन् । गोवर्द्धन शर्मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य पनि थिए । उनकी आमा द्रौपदा शर्मा हुन् । पोखरेल २००६ साल मंसिर १३ गते तनहुँको तनहुँसुरमा जन्मेका हुन् ।
२०२८ सालमा नेपाली कांग्रेसको जिल्ला सदस्य बनेका कृष्णचन्द्र नेपाली पोखरेल आन्दोलनकै क्रममा ६ पटकभन्दा बढी जेल परेका छन् । त्यसअघि पनि उनी विद्यार्थी राजनीतिमा थिए । २०२८ सालमा नेपाली कांग्रेस तनहुँ जिल्ला सदस्य बनेका पोखरेल २ विषयका स्नातक हुन् । उनले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका छन् ।
प्रारम्भिक शिक्षा तनहुँको धरमपानीको स्थानीय विद्यालयबाट पूरा गरेका उनी माध्यमिक शिक्षा पढ्न भारत पुगे । उनले माध्यमिक शिक्षा विहारको नरकटियागन्जबाट पूरा गरेका थिए । दरभंगाबाट मानविकीमा स्नातक गरेर नेपाल फर्किए । पछि कानुनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका हुन् ।
२०३५ सालको विद्यार्थी आन्दोलनमा उनी कास्की कारागारमा दुईपटक गरेर पाँच महिना बस्नुपर्यो । । त्यसअघि २०३७ सालको जनमतसंग्रहका क्रममा ८ महिना कास्की कारागारमै बसे । २०३८ सालको निर्वाचनको क्रममा प्रहरीबाट यातनासँगै दुई महिना जेल चलान भए ।
देशमा बहुदलीय व्यवस्था माग्दै २०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह घोषणा गर्यो । नवलपुरबाट सत्याग्रहमा सक्रिय भएका पोखरेल परासी–कपिलवस्तुमा गरेर एक वर्ष जेल चलान भए ।
२०४६ सालको जनआन्दोलनमा परासी कमान्डर रहेका पोखरेल नजरबन्दमा पनि परे । नौ महिना पाल्पा जेल बसे । २०४८ को अधिवेशनपछि उनी लगातार चार कार्यकाल कांग्रेस नवलपरासीको सभापति भए ।
२०४८ सालको आमनिर्वाचनमा उनी नवलपरासी क्षेत्र नम्बर ३ बाट उम्मेदवार थिए । २०६२/६३ सालको जनआन्दोलनमा उनले नवलपुरको नेतृत्व गरे । त्यो बेला पनि परासी कारागार चलान भए । कांग्रेसको १२औँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बने ।
२०७० सालको प्रतिनिधिसभा चुनावमा ३ सय २५ मतले पराजित भए । उनले त्यतिबेला नवलपरासी क्षेत्र नम्बर ३ बाट चुनाव लडेका थिए । २०७४ सालको प्रदेशसभा निर्वाचनमा एमाले माओवादी गठबन्धनबाट उम्मेद्वार रहेका सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गरी पोखरेल गण्डकी प्रदेश सभा सदस्य बन्न सफल भएका हुन् ।
#गण्डकी #मुख्यमन्त्री
प्रतिकृया दिनुहोस्