December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार
कर्णालीमा मुख्यमन्त्री शाही विरुद्ध अविस्वासको प्रस्ताव बहुमतले अस्वीकृत

कर्णालीमा मुख्यमन्त्री शाही विरुद्ध अविस्वासको प्रस्ताव बहुमतले अस्वीकृत

कात्तिक ०७, सुर्खेत । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै पार्टीका संसदहरुले पेस गरेको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभाको संसदीय दलको बैठकले शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत गरेको हो ।

अविश्वासको प्रस्तावको पक्षमा शून्य मत परेको र प्रस्ताव दर्ता गराउने कुनै पनि सांसदहरु बैठकमा उपस्थित नभएको मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले बताए ।

शाही विरुद्ध , २५ असोजमा नेकपाकै नेता यामलाल कँडेलसहित १८ जना प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछी पार्टी एकता मै खलल पुग्ने आकालन गरिएको थियो । तर पछि नौ जना सांसदले अविश्वासको प्रस्ताव फिर्ता लिएका थिए ।

आफू विरुद्ध अबिस्वासको प्रस्ताव दर्ता गराउन लागीपरे पछि मुख्यमन्त्री शाहिले प्रमुख सचेतक गुलाबजंग शाहलाई सचेतक बाट हटाएर सो पदमा सीता नेपालीलाई नियुक्त गरेका थिए ।

आज प्रमुख सचेतक सीता नेपालीको अध्यक्षतामा बसेको दलको बैठकमा पूर्वमाओवादी पक्षका १० जना र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ८ जना उपस्थित थिए । पूर्वमाओवादीका एक जना सांसद ठम्मर विष्ट काठमाडौंमा छन् । उनले मुख्यमन्त्री शाहीप्रति लिखित समर्थनको पत्र पठाएका थिए ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका पूर्वमाओवादी पक्षका सांसदहरु धर्मराज रेग्मी र पुष्पा घर्ती भने आजको बैठकमा सहभागी थिएनन् ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका ३३ सांसद छन् ।