कर्णालीमा सत्ता साझेदार दलमै असन्तुष्टि: यसकारण रोकियो, नवनियुक्त ३ मन्त्रीहरूको सपथ
वैशाख ३०, सुर्खेत । कर्णालीमा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले एकलौटी मन्त्री परिषद बिस्तार गरेको भन्दै विस्वासको मत दिएको नेपाली कांग्रेस असन्तुष्ट भएको छ ।
कांग्रेसको असन्तुष्टि पछि कर्णाली प्रदेशमा बुधबार थपिएका ३ मन्त्रीहरूको सपथ ग्रहण समारोह रोकिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई समर्थन गरेको नेपाली कांग्रेसले असहमति जनाएपछि सपथ रोकिएको हो ।
आज ११ बजे सपथ गराउने तय भएपनि कांग्रेस नेताहरुले एकलौटी ढंगले अगाडि नबढ्न मुख्यमन्त्री शाहीलाई सचेत गराएको हुन ।
मुख्यमन्त्री शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा, आन्तरिक मामिला तथा कानून मन्त्रीमा विन्दमान विष्ट र सीता नेपालीलाई ऊर्जा तथा जलस्रोत मन्त्रीको जिम्मेवारी दिने तयारी गरेका थिए ।
मन्त्रालय विभाजन गरिएकोमा कांग्रेसले असहमति जनाएको हो । कांग्रेसका लागि राखिएको सामाजिक विकास मन्त्रालय समेत मुख्यमन्त्री शाहीले विभाजन गरेर युवा तथा खेलकुद मन्त्रालय बनाएपछि कांग्रेसको असन्तुष्टि बढेको हो । मुख्यमन्त्री शाहीले सरकारलाई समर्थन गर्ने दल र समूहसंग छलफल गरेर अगाडि बढ्ने बताएका छन् ।
सहमति खोज्न मुख्यमन्त्री शाही, फ्लोर क्रस गरेर सरकार जोगाएका एमाले नेता प्रकाश ज्वाला र कांग्रेस नेता जीवनबहादुर शाहीबीच अहिले छलफल भइरहेको बताइएको छ ।
बुधबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वैशाख ३ मा सदनबाट विश्वासको मत पाएसँगै दोस्रो पटक मन्त्रिपरिषद् हेरफेर गरेका थिए ।
वैशाख ५ मा फ्लोर क्रस गरेर सरकार जोगाइदिएका तीन एमाले सांसदलाई मन्त्री बनाएका मुख्यमन्त्री शाहीले आज माओवादी केन्द्रका थप ३ मन्त्री नियुक्ति गरेका हुन् ।
नवनियुक्त मन्त्रीमा गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालय र सांसद विन्दमान विष्टलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मा दिइएको छ । पूर्वाधार विकास मन्त्रालय फुटाएर जलस्रोत मन्त्रालयको जिम्मा सीता नेपालीलाई दिइएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले भने बुधबार बिहानको मन्त्रिपरिषद् बैठकमा राजीनामा दिएका थिए ।
प्रतिकृया दिनुहोस्