May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
एमालेले ह्वीप उल्लंघन गर्ने सांसदहरुलाई तत्कालै कारवाही नगर्ने, यस्तो छ कारण

एमालेले ह्वीप उल्लंघन गर्ने सांसदहरुलाई तत्कालै कारवाही नगर्ने, यस्तो छ कारण

वैशाख २७, काठमाडौं । नेकपा एमालेले विश्वासको मत दिन अनुपस्थित भएर ह्वीप उल्लंघन गर्ने सांसदहरुलाई तत्कालै कारवाही नगर्ने भएको छ । यद्यपी समानुपातिक सांसदलाई भने कानुन बमोजिम ह्वीप उल्लंघन गरेका कारण पदमुक्त गरेर, बन्दसूचीमा रहेका उम्मेदवारलाई जिताउने बारे नेतृत्व तहमा छलफल भएको छ ।

एमाले स्रोतका अनुसार ८ जना समानुपातिक सांसदहरु रामकुमारी झाँक्री, कल्याणी खड्का, मुकुन्द न्यौपाने, सरला यादव, पुष्पा कर्ण, कलिला खान, लक्ष्मीकुमारी चौधरी र निरादेवी जैरीलाई ह्वीप उल्लंघनमा पदमुक्त गर्नेबारे छलफल भएको छ ।

प्रत्यक्ष निर्वाचित २० जनाको हकमा अहिले केही नगर्ने र पार्टी एकताको लागि अझै पनि उनीहरुलाई मौका दिइने केपी ओली निकट नेताहरुले बताएका छन् । तर नेपाल पक्षले एकताका लागि आफ्नो पक्षमा रहेका समानुपातिक सांसदलाई पदमुक्त गर्न नपाइने अडान राख्ने निश्चित छ ।

विश्वासको मत दिन अनुपस्थित हुनु ह्वीप उल्लंघन भए पनि के कारवाही गर्ने भन्ने बारे अहिले केही भन्न नसकिने संसदीय दलका उपनेता सुवास नेम्वाङ बताउछन । एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराई ह्वीप उल्लंघन गम्भीर घटना भएकाले राजनीतिक दल सम्बन्धी ऐन र एमालेको विधान बमोजिम कारवाही हुनसक्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको पक्षमा मतदानमा नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका २८ सांसदले पार्टी ह्वीप उल्लंघन गरेका हुन्।

उनीहरु आइतबार पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको विश्वासको मतदानमा तटस्थ बसेका हुन्। यसअघि बिहानको आफ्नो बैठकको निर्णयका आधारमा उनीहरु अनुपस्थित भएका हुन्।

सांसद कलिला खातुन संसद पुगेर फर्किएकी थिइन्। पार्टी प्रमुख सचेतक डा. विशाल भट्टराईले सोमबारको संसदमा अनिर्वाय उपस्थित हुन ह्वीप जारी गरेका थिए।

यी हुन्, एमालेको ह्वीप उल्लंघन गर्ने २८ सांसदः 

१) माधवकुमार नेपाल, २) झलनाथ खनाल, ३) भीम रावल, ४) सुरेन्द्र पाण्डे, ५) घनश्याम भुसाल, ६) योगेश भट्टराई, ७) गोकर्ण विष्ट, ८) गणेश पहाडी, ९) कल्याणी खड्का, १०) सरला यादव, ११) पुष्पा कर्ण, १२) बिना बुढाथोकी, १३) पवित्रा निरौला, १४) निरा जैरु, १५) पार्वती बिङ्ख्य, १६) कलिला खातुन, १७) रामकुमारी झाँक्री, १८) कुमार राई, १९) नारायण खतिवडा, २०) यज्ञ सुनुवार, २१) मुकुन्द न्यौपाने, २२) लक्ष्मी चौधरी, २३) मेटमणी चौधरी, २४) जीवनराम श्रेष्ठ, २५) विरोध खतिवडा, २६) भवानी खातुन, २७) दिपक प्रकाश भट्ट, २८) हिराचन्द्र केसी ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज