May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
माधव पक्षिय नेताहरूको कारबाही फुकाउने बारे एमालेमा छलफल, दुवै पक्ष सहमतिनजिक

माधव पक्षिय नेताहरूको कारबाही फुकाउने बारे एमालेमा छलफल, दुवै पक्ष सहमतिनजिक

वैशाख २४, काठ्मान्डौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षीय स्थायी कमिटी सदस्यहरुको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जनालाई गरिएको कारबाही फिर्ता लिनेबारे छलफल भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले बिहीबार विहान बोलाएको आकस्मिक स्थायी कमिटी बैठकमा कारबाही फिर्ता लिनेबारे छलफल भएको हो । ‘थप छलफल गरेर मात्रै निर्णय लिने भन्ने भएको छ’, एक नेताले बताएका थिए ।

अध्यक्ष ओलीले पार्टीमा समानान्तर गतिविधि गरेको भन्दै वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई ६ महिना पार्टीबाट निष्काशन गरिएको पत्र पठाएका थिए ।

तर विश्वासको मत लिने मिति नजिकिँदै जाँदा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले नेता माधव नेपाल र झलनाथ खनाल पक्षका नेताहरूसँग संवाद बढाएका छन् ।

ओलीले बिहीबार राति माधव नेपालसँग टेलिफोनमा कुरा गर्दै तिक्तता घटाउने उपायहरूबारे परामर्श गरेका थिए । माधव नेपाल निकट एक नेताका अनुसार खनाल नेपाल पक्षका नेताहरूमाथि चलाएको अनुशासनको कारबाही फुकुवा गर्न ओली तयार देखिएका छन् । उनले एकलाैटी थपेका पार्टी पदाधिकारी र सदस्य फिर्ता लिन माधव पक्षले राखेकाे माग सम्बाेधन गर्न भने उनी अहिलेसम्म तयार देखिएका छैनन् ।

ओलीले फोन गर्नुअघि राष्ट्रपति विद्या भण्डारीले शीतलनिवासमा नेपालसँग १ घन्टा लामो कुराकानी गरेकी थिइन् । विगतदेखि नै आफू सम्बद्ध रहेको पार्टीको आन्तरिक राजनीतिमा कुनै न कुनै भूमिकामा देखिँदै आएकी भण्डारीले नेपाललाई वैशाख २७ गते संसदमा विश्वासको मत दिन आग्रह गरेको नेपालनिकट ती नेताले बताए । नेपालले त्यसका लागि ओली २०७५ जेठ २ को अवस्थामा फर्कन तयार हुनुपर्ने सर्त राखेका थिए ।

त्यसपछि शीतलनिवासले ओलीसँग परामर्श गरेको, त्यसपछि ओलीले माधव नेपाललाई फोन गरेको उच्च स्रोत बताउँछ । माधव पक्षले लुम्बिनी, कर्णालीमा झैँ फ्लाेर क्रस गर्ने संस्थापन पक्षकाे डर छ ।

ओलीले आजै बालुवाटारमा आफू निकटस्थको अनौपचारिक बैठक डाकेका छन् । ओलीनिकट एक नेताले नेपाल पक्षमाथिको कारबाही फुकाउने एजेन्डाका लागि त्यो बैठक डाकिएको खुलाए ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङसँग यसबारे जिज्ञासा राख्दा उनले सहमतिका लागि विभिन्न विकल्पहरूमाथि छलफल भइरहेको खुलाए । उनले यीमध्ये एउटा सम्भावना कारबाही फुकुवाकाे पनि हुन सक्ने संकेत गरे । ‘त्यसका लागि दुवै पक्षले आफ्ना कुराहरू खुला ढंगले राख्न तयार हुनुपर्छ, त्यसपछि एउटा परिस्थिति पक्कै बन्छ,’ उनले भने ।

विश्वासको मत लिन ओली संसद जानुअगाडि यो काम भइसक्ने उनीनिकट नेताहरूको दाबी छ ।

विगतकाे नेकपाकालीन विवादहरूलाई अब इस्यु नबनाउन ओलीलाई निकटस्थहरूले सुझाएका छन् । ओलीले कारबाही फुकुवा गरे माधव पक्ष सहमतिमा बाधक नबन्ने ती नेताले ठाेकुवा गरे । ‘अहिलेसम्मकाे कुराकानी त्यसैतर्फ उन्मुख छ, सायद भरेसम्ममा देखिने गरी प्रगति हुन्छ,’ ती नेताले भने ।

नेम्बाङले भने कदाचित् विश्वासको मत पाउने अवस्था नआए प्रधानमन्त्री संविधानबमोजिम नै जाने दाबी गरे । ‘त्यसमा अन्यथा शंका गर्नुपर्ने, सोच्नुपर्ने कुनै कारण छैन,’ उनले भने ।

माधव नेपाल पक्षका नेताहरूले पार्टी विभाजन रोक्न सक्रियता बढाएका छन् । बुधबार, बिहीबार र अहिले शुक्रबार बिहान विभिन्न नेताहरूबीच कुराकानी चलिरहेको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज