May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
एमाले स्थायी कमिटी बैठकमा के के बिषयमा भयो छलफल ?

एमाले स्थायी कमिटी बैठकमा के के बिषयमा भयो छलफल ?

वैशाख २३, काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको आकस्मिक बैठकमा राष्ट्रियसभा उपनिर्वाचन र प्रतिनिधि सभा हुने विश्वासको मतको विषयमा छलफल भएको छ। बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकमा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले बागमती प्रदेशको एक सिटका लागि जेठ ६ गते हुने उपचुनावमा एमालेको उम्मेद्वार जिताउने विषयमा छलफल भएको जानकारी दिए।

‘बैठकमा नेताहरुले उपचुनावको विषयमा सुझाव दिनुभएको छ। एमालेको उम्मेद्वारको जीत सुनिश्चित हुने गरी छलफल अगाडि बढाउने निर्णय गरेका छौं’ उनले भने,‘उम्मेद्वारको विषयमा पछि छलफल गर्छौं।’

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा वैशाख २७ गते लिने विश्वासको मतको विषयमा पनि छलफल भएको जानकारी दिए। उनले संसदको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्ने गरी विभिन्न पक्षसँग छलफल चलिरहेकाले सघनरुपमा सबै दलहरुसँगको छलफललाई निरन्तरता दिएर अगाडि बढ्ने निर्णय गरेको बताए।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान भएको छ।

प्रधानमन्त्री ओलीले विश्‍वासको मत लिने निर्णय गरेलगत्तै नेकपा ​माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक भेटवार्ता तीव्र पारेका छन्। कांग्रेस र माओवादीले जसपा र एमालेभित्रको विद्रोही समूहको समेत लिएर अविश्‍वास प्रस्ताव ल्याउने तयारीमा जुटिरहेका बेला ओलीले चालेको यो कदमपछि उनीहरू नयाँ रणनीतिमा लागेका छन्।

#

राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका माधव-झलनाथ समूहले कांग्रेस माओवादी सहितका अन्य दलसँग गठबन्धन गरेर राष्ट्रियसभाको रिक्त पदका लागि डा. खिमलाल देवकोटालाई अघि सार्ने सहमति भइसकेको छ। बागमती प्रदेश नीति तथा योजना आयोगको पूर्वउपाध्यक्ष डा. देवकोटा राष्ट्रियसभाको उपनिर्वाचनमा बागमती प्रदेशबाट गठबन्धनको साझा उम्मेदवार बन्न लागेका हुन्। यता एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई नै उम्मेदवार बनाउने तयारी गरेका छन्। माओवादीबाट निर्वाचित बादलले दल त्याग गरेपछि रिक्त राष्ट्रियसभा सदस्य पदमा उपचुनाव हुन लागेको हो। बागमती प्रदेशको एक सिटका लागि जेठ ६ गते उपचुनाव हुँदैछ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज