March 16, 2025, Sunday
२०८१ चैत्र ३, सोमबार
छत्रेश्वरी गाउँपालिका विरुद्धको रिट निवेदन उच्च अदालत सुर्खेत द्वारा खारेज

छत्रेश्वरी गाउँपालिका विरुद्धको रिट निवेदन उच्च अदालत सुर्खेत द्वारा खारेज

चैत १९, सल्यान । छत्रेश्वरी गाउँपालिका बिरुद्धको मुद्दामा उच्च अदालत सुर्खेतले वुधबार फैसला गरेको छ । दमाचौर खानेपानी योजना बाट स्थानियलाई बाधा पुग्ने भन्दै उच्च अदालत सुर्खेतमा दर्ता गरेको रिट निवेदन खारेज गर्दै अदालतले फैसला गरेको हो ।

चैत १८ गते उच्च अदालतका न्यायधिश द्वय राजेन्द्र सुवेदी र राजेन्द्र खरेलको संयुक्त इजलाशले रिट निवेदन खारेज गरेको गाउँपालिकाका कानुनी सल्लाहकार डम्बर ओलीले बताएका छन ।

वडा नम्बर १ दमाचौरमा खानेपानी आपूर्तिको लागि खानेपानी योजना कार्यान्वयन गर्ने क्रममा स्थानीय दिलमान चन्द लगायत ९ जनाले गाउँपालिका अध्यक्ष सन्तोष केसी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर खड्का, वडा अध्यक्ष नेव बहादुर शाहका विरुद्ध रिट हालेका थिए । यस भन्दा अगाडि उच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो ।

खानेपानी योजनाको टड्कारो समस्या भएको दमाचौरमा खानेपानी आपुर्ती गर्नका लागि १ करोड ६५ लाख रकम विनियोजन गरिएको थियो । अदालतको फैसला आयोजना अघि बढाउने बाटो खुलेको छ । सोही आयोजना सङ्गै बजेट विनियोजन गरिएको लान्ती खानेपानी योजनाको शिलान्यास भैसकेको छ भने दमाचौरको योजना मुद्दाकै कारण रोकिएको थियो ।

स्थानियहरु नै दिलमान चन्द लगायतले हालेको मुद्दाका विरुद्ध थिए । उच्च अदालतको यो फैसलाले योजना कार्यान्वयन गर्न बाटो खोलेको र अब छिट्टै दमाचौरमा खानेपानी समस्या समाधान हुने गाउँपालिका अध्यक्ष सन्तोस केसिले बताएका छन ।