September 21, 2026, Monday
२०८३ आश्विन ५, सोमबार
कम्युनिस्टहरूलाई देश बाँदरको हातमा नरिवल जस्तै भयो : डाँगी

कम्युनिस्टहरूलाई देश बाँदरको हातमा नरिवल जस्तै भयो : डाँगी

पौष २६, सल्यान । नेपाली काँग्रेसका नेता, महासमिती सदस्य तथा गत निर्वाचनमा सल्यान प्रदेश सभा (क) का नेपाली कांग्रेसका उम्मेदवार एकराज डाँगीले कम्युनिस्टहरूको लागि यो देश बाँदरको हातमा नरिवल जस्तै भएको बताएका छन ।

संसद विघटन र केपि ओलीको सर्वसत्तावादका विरुद्ध प्रत्येक निर्वाचन क्षेत्रमा बिरोध प्रदर्शन गर्ने नेपाली काङ्ग्रेसको केन्द्रिय कार्यक्रम अनुसार शनिबार सल्यान प्रदेश सभा निर्वाचन क्षेत्र नं (क) को सल्यानको थारमारेमा भएको बिरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

देशमा कम्युनिस्ट पार्टीका ४ वटा प्रधानमन्त्री हुदा जारी गर्न नसकेको संबिधान नेपाली कांग्रेसका नेता सुशील कोइरालाको नेतृत्वमा जारी भएको र वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वमा कार्यन्वयनमा गएको बताउदै उनले भने – ” आफुले हार्ने अवस्थामा पनि नेपाली कांग्रेसले देशले जितोस भनेर निर्वाचन गराएर कम्युनिस्टलाई जिम्मा लगाए तर बाँदरको हातमा नरिवल भने जस्तै उनिहरूले देशको निति, प्रशासन चलाउन सक्दैनन् भन्ने कुरा पुष्टि भएको अवगत बनाउन चाहन्छु ।”

आफ्नो दुइतिहाई भएको संसद भंग गरेर केपि ओलीले देशलाई अनिर्णयको बन्दी बनाएकोले नेपाली कांग्रेस आन्दोलनमा उत्रिनु परेको उनको भनाइ थियो ।