May 16, 2025, Friday
२०८२ जेष्ठ ४, शनिबार
संसद विघटन विरुद्ध सल्यानमा नेपाली कांग्रेसको बृहत बिरोध प्रदर्शन

संसद विघटन विरुद्ध सल्यानमा नेपाली कांग्रेसको बृहत बिरोध प्रदर्शन

पुस १३, सल्यान । केपी ओली नेतृत्वको सरकारले पौष ०५ गते गरेको संसद विघटनको विरुद्धमा नेपाली कांग्रेस सल्यानले सल्यान सदरमुकाम खलंगामा प्रदर्शन गरेको छ ।

प्रतिगमनका विरुद्ध पुस १३ गते देश व्यापी विरोध सभा गर्ने नेपाली काँग्रेस केन्दीय समितिे निर्णय बमोजिम आज सोमबार सल्यान काँग्रेसले जिल्लामा विरोध प्रदर्शन गरेको हो । सर्वसत्तावादी ओली सरकार मुर्दावाद, प्रतिगमन मुर्दावाद, लगायतका नाराहरु सहित सल्यानमा कांग्रेसले विरोध र्‍याली गरेको हो । खलंगा टुडिखेल बाट सुरु भएको र्‍याली ठन्डी सडक, नेपाल बैंक, जिल्ला हुलाक हुँदै खलंगा पुरानो बसपार्कमा आएर कोणसभामा परिणत भएको थियो ।

नेपाली काँग्रेस सल्यानका पार्टी सभापति गणेश चन्दको सभापतित्वमा भएको कोणसभालाई सम्वोधन गर्दै वक्ताहरुले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै ओलीले देशलाई प्रतिगमन तर्फ धकेल्न खोजेको बताएका छन् । काग्रेसका नेता सुशील कोइरालाले अथक मेहनतका साथ जारी गरेको र नेता शेर बहादुर देउवाले कार्यान्वयन गरेको संविधान माथ कुल्चिने अधिकार केपी ओलीलाइ नभएको भन्दै उनीहरुले खबरदारी गरेका हुन ।

पार्टी सचिव प्रकाश भण्डारीले सन्चालन गरेको कोणसभामा सल्यान काँग्रेसका सहसचिव सन्तोष सेन वली, पुर्व पार्टी सचिव तथा महासमिति सदस्य एकराज डांगी, पूर्व जिविस सभापति धु्रवराज पुरी र पूर्व केन्द्रीय सदस्य डिल्लीराज रेग्मीले सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरे पछि सम्पूर्ण देश नै तरंगित भएको छ । देशको पहिलो शक्ति नेकपा विभाजन भए सँगै देशभर संसद विघटनको समर्थन र विरोधमा विभिन्न कार्यक्रम घोषणा सँगै प्रशिक्षण, सभा तथा जुलुसहरु भइरहेका छन् ।