March 25, 2025, Tuesday
२०८१ चैत्र १२, बुधबार
माओवादीमा प्रचण्ड ३२ वर्षदेखि निरन्तर अध्यक्ष, अमरेशले महाधिवेशन प्रतिनिधिमै हारे

माओवादीमा प्रचण्ड ३२ वर्षदेखि निरन्तर अध्यक्ष, अमरेशले महाधिवेशन प्रतिनिधिमै हारे

मंसिर २२, काठ्मान्डौं । पुष्पकमल दाहालले ३२ वर्षदेखि नेकपा माओवादी(हाल नेकपा माओवादी केन्द्र) लाई एकल नेतृत्वमा हिँडाउँदै आएका छन्। २०४६ सालमा सिपी गजुरेल वरिष्ठ नेता हुँदाहुँदै मोहन वैद्यले दाहाललाई नेतृत्व हस्तान्तरण गरेपछि आजसम्म उनी अध्यक्ष छन्। आगामी पुस ११ देखि १३ सम्म हुने पार्टीको राष्ट्रिय सम्मेलनबाट पनि निर्विकल्परूपमा दाहाल नै अध्यक्ष हुने अवस्था देखिएको छ।

माओवादीबाट वैद्य, गजुरेल, बाबुराम भट्टराई र रामबहादुर थापा बाहिरिएपछि दाहाललाई तत्कालै चुनौती दिने कोही नभएकाले आगामी महाधिवेशनबाट पनि उनी सर्वसम्मत अध्यक्ष हुने माओवादी केन्द्रका नेता कार्यकर्ता बताउँछन्।

२०४६ सालमा नेकपा (मसाल) को महामन्त्री,२०४८ मा नेकपा (एकता–केन्द्र) को महामन्त्री, २०५१ मा नेकपा (माओवादी) को महामन्त्री,२०५७ मा अध्यक्ष र २०६५ मा एकीकृत नेकपा माओवादीको अध्यक्ष बनेका दाहाल अहिले पनि अध्यक्षको निर्विकल्प दाबेदार हुन्। अहिले माओवादी नयाँ विधान ल्याएर पुनः बहुपदीय प्रणालीमा जान खोजिरहेको छ। माओवादीले लोकतान्त्रिक धारमा आएपछि बहुपदीय प्रणाली अपनाए पनि दाहालले सबै अधिकार आफू(अध्यक्ष) मा केन्द्रित गरेका थिए।

त्यस्तै नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सर्लाहीमा मंगलबारदेखि सुरु भएको क्षेत्रीय अधिवेशनमा सर्लाही-४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

जिल्लामा पार्टीका दुई पक्षबीच समझदारी नहुँदा सर्लाहीमा कांग्रेसको अधिवेशन प्रक्रिया अन्यौलमा परेको थियो । तीन जना जिल्ला निर्वाचन अधिकृतले अधिवेशन गराउन नसक्ने भन्दै राजीनामा दिएपछि कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बिहीबार चौथो निर्वाचन अधिकृत खटाएको थियो ।

चारवटा निर्वाचन क्षेत्र भएको सर्लाहीमा मंगलबार दुई वटा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भएको छ भने बाँकी दुईमा बुधबार अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ ।

अधिबेशनमा सर्लाही-४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । सिंहले २४८ मत पाएका हुन् । संस्थापनइतर समूहमा रहेका सिंहको प्यानल पराजित भएको हो । प्रदेश-२ का मन्त्री वीरेन्द्र प्रसाद सिंहको समूह विजयी भएको हो । मन्त्री सिंहको प्यानलले पाँच सय बढी मत पाएको छ ।

सर्लाही-२ मा दुई सिंहबीचको टकरावका कारण अधिवेशन प्रभावित हुँदै आएको हो । प्रदेश-२ का मन्त्री सिंह संस्थापन समूह निकट हुन् ।

निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधि विजयी हुनेमा प्रत्यक्ष खुलातर्फ वीरेन्द्रप्रसाद सिंह, सुरेन्द्रप्रसाद सिंह, कौशलकिशोर सिंह, राजेश्वरप्रसादसिंह, उपेन्द्र कुशवाहा, रघुवीर कार्की, दिनेशकुमार रायमाझी, केशवकुमार खड्का, अजितकुमार सिंह र शिवशंकर रिजाल रहेका छन् ।

त्यस्तै चार प्रत्यक्ष महिलातर्फ रेखा देवी, उषा देवी, किरण शर्मा र देवी सिन्हा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । महिला मधेशीतर्फ महाधिवेशन प्रतिनिधिमा रेखा कुमारी देवी, सुनैना देवी र अमृती कुमारी साह विजयी भएका छन् ।

प्रत्यक्ष मधेशी पुरुषतर्फ श्यामसुन्दर यादव, लक्ष्मी नारायण महतो, लालबाबु यादव र नन्दलाल महतो महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । २५ महाधिवेशन प्रतिनिधिमा दलिततर्फ दुलम दास र मुस्लिमतर्फ दोस्त महम्मद निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज