February 9, 2025, Sunday
२०८१ माघ २७, आईतवार
सल्यानमा पूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको सालिक बनाउन समिति गठन

सल्यानमा पूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको सालिक बनाउन समिति गठन

कार्तिक ०८, सल्यान । सल्यानमा स्वं. पूर्वप्रधानमन्त्री मरिचमान सिहं श्रेष्ठको सालिक बनाईने भएको छ । राष्ट्रवादी र देशभक्त पूर्व प्रधानमन्त्री श्रेष्ठको पुख्र्याैली घर नजिकै रहेको गणेश मन्दीर नजिकैको जग्गालाई मिलाएर सालिक निर्माण गरिने भएको हो ।

सालिक निर्माणको लागी सन्तोष कुमार श्रेष्ठ संयोजक, नविन कुमार श्रेष्ठ सदस्य सचिव, अम्मर सिंह कोषाध्यक्ष रहेको ९ सदस्य आयोजक समिति गठन भएको छ । समितिको सदस्यहरुमा अरविन्द्र कुमार राई, बिरेन्द्र कुमार श्रेष्ठ, फौद बहादुर बस्नेत, टेकराज शाही, नेत्र बुढाथोकी र मेहर सिंह बोहरा रहेका छन । स्वं. पूर्वप्रधानमन्त्री मरिचमान सिहं श्रेष्ठको सालिक बनाउन तिहार लगतै भेलाको आयोजना गरि सवै कुराको टुङ्गो लगाउने आयोजकले बताएको छ ।

सल्यान जिल्लाको निम्न स्तरबाट देशको प्रधानमन्त्री बनेर राष्ट्रय – अन्तराष्ट्रिय रुपमा परिचित तथा राष्ट्रियताको सवालमा सवैले अग्रपंतिमा नाम लिने प्रेरणाका स्रोत स्वं. पूर्व प्रधानमन्त्री श्रेष्ठको सम्मान र संझनामा उहाँको जिल्लावासीको हैसियतले कर्तव्य ठानेर सालिक निर्माण अभियान थालनि गरिएको मुख्य अभियान्ता मनोज प्रधानले बताउनु भयो । सल्यान आउने कयौं मान्छेहरु मरिचमानको घर हेरेर फर्किने गरेको हामि सवैले देखेको भएपनि त्यस्तो पूर्व प्रधानमन्त्रीलाई अहिलेसम्म कुनै रुपमा पनि सम्झन नसक्नु हामी सबैको कमजोरी भएकोले उहाँको सम्मानमा सालिक बनाउन लागीएको उहाँको भनाई छ ।

मरिचमान सिंह श्रेष्ठको जन्म सल्यान जिल्लाको खलङ्गा बजारमा १९९७ कार्तिक १७ मा भएको थियो। २०१७ सालदेखि राजनीतिमा सक्रिय श्रेष्ठ २०३० सालमा राष्ट्रिय पञ्चायतको सदस्य बन्नु भएको थियो । श्रेष्ठ दरवारको विश्वासपात्र श्रेष्ठ २०३८ सालमा पञ्चायती व्यवस्थाको सङ्गठन हेर्ने पञ्चायत नीति तथा जाँचबुझ समितिको अध्यक्ष तथा राष्ट्रिय पञ्चायतको अध्यक्ष बन्नुभयो भने पञ्चायतको अन्त्यतिर २०४३ साल जेठदेखि २०४६ साल चैतसम्म नेपालको प्रधानमन्त्री हुनुभएको थियो ।

श्रेष्ठ प्रधानमन्त्री भएकै बेला नेपाल भारत पारवाहन सन्धिको विषयलाई लिएर ०४६ मा भारतले नेपाललाई नाकावन्दी लगाएपछि श्रेष्ठले भारत सँग नझुक्ने अडान लिएर नाकाबन्दीको डटेर सामना गर्नुभएको थियो । भारतले नुन तेल लगायतका अत्यावश्यक बस्तुको आयात माथि प्रतिबन्ध लगाएर पारबाहन सन्धी सम्झौता विवादमा परेको वेला श्रेष्ठले अडान लिनु भएको थियो । त्यसैबेला सुरू भएको शान्तिपुर्ण जनआन्दोलन २०४६ मा प्रजातन्त्र प्राप्त गर्न आन्दोलमा लागेका समूह माथि अत्याधिक शक्ति प्रयोग गरेर दमन गरेको भन्दै उहाँको आलोचना पनि हुने गरेको छ । २०४३ साल जेठ ३१ गते राष्ट्रिय पञ्चायतबाट प्रधानमन्त्रीमा निर्विरोध निर्वाचित हुनु भएका श्रेष्ठले जनआन्दोलन उत्कर्षमा पुगेपछि २०४६ साल चैत २३ गते प्रधानमन्त्री पदबाट राजीनामा दिनु भएको थियो ।

सक्रिय राजनितिमा आउनु पूर्व श्रेष्ठ सल्यानको खलंगास्थित त्रिभुवन जनता माविका प्रधानाध्यापक पनि हुनुहुन्थ्यो । ०४६ सालपछि गुमनाम रहदै आएका श्रेष्ठले ०५६ को निर्वाचनमा स्वतन्त्र उमेदवार बन्नु भएको थियो । सो निर्वाचनबाट पराजित भएपछि गाई र कुखुरा पालन गरी बसेका श्रेष्ठ सक्रिय राजनीतिमा नरहे पनि चासो भने राख्दै आउनु भएको थियो। राप्रपा नेपालसहित बिभिन्न राजनीतिक दलले आफनो पार्टीमा प्रवेश गराउन निकै मेहनत गर्दा पनि पछिल्लो चरणमा श्रेष्ठले आफूलाई दलीय राजनीतिबाट बाहिरै राख्नु भएको थियो।

सत्तामा हुदा राष्ट्रको स्वाभिमान उच्च बनाउनु भएका र सत्ता बाहिर हुदा सादा जिवन विताएर सवैको प्रिय र प्रेरणा बन्नु भएका उनै मरिचमान सिंह श्रेष्ठको निधन २०७० साउन ३० गते काठमाडौँमा भएको थियो। लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित श्रेष्ठको ७१ वर्षको उमेरमा बिहान तीन बजे काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो। क्यान्सरले ग्रस्त श्रेष्ठलाई भारतको मेदान्ता अस्पतालमा उपचार गराइएको थियो। तर आफ्नै देशमा प्राण त्याग गर्ने इच्छा व्यक्त गरेपछि उहाँलाई भारतबाट एयर एम्बुलेन्समा २९ गते मङ्गलबार नेपाल ल्याइएको थियो।

नयाँ दिल्लीबाट स्वदेश फर्काइएको ४८ घण्टा भित्रै उहाँको निधन भएको थियो । निमोनियाको संक्रमण देखिएपछि श्रेष्ठलाई हिमाल अस्प्तालमा उपचारका क्रममा क्यान्सर भएको पुष्टी भएको थियो । त्यसपछि उनलाई २०६९ जेठ ४ गते मेदान्त सिटी अस्पताल लगिएको थियो । सरकारले सोही २०७० साउन ७ गते श्रेष्ठको उपचारका लागि पाँच लाख रुपैया उपलब्ध गराउने निर्णय गरेपनि त्यो रकम निधन हुने वेलासम्म प्राप्त भएको थिएन ।

श्रेष्ठको उपचारका लागि जनस्तरबाट संकलन गरिएको थियो । राष्ट्रवादी शक्ति एक हुनु पर्छ । मुलुकलाई सिक्किमीकरण हुनबाट बचाउनु पर्छ त्यसका लागि सबैले आ आफनो ठाउँबाट योगदान गर्नु पर्छ’ जीवनका अन्तिम क्षणमा यस्ता अभिव्यक्ति दिदै आएका ७१ बर्षीय श्रेष्ठ मरण पूर्व चार दिन यता बोल्न र खान नसकी अचेत अवस्थामा हुनुहुन्थ्यो।

अन्त्येष्टिअघि दिनभरजसो श्रेष्ठको पार्थिव शरीर निजी निवास धापासीमा राखिएको थियो । श्रेष्ठप्रति श्रद्धाञ्जली दिन तत्कालिन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, गृहमन्त्री माधव घिमिरे, एकीकृत माओवादी अध्यक्ष प्रचण्ड, नेता बाबुराम भट्टराई, काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री प्रकाशमान सिंह, एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव ईश्वर पोखरेल, नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य, उपाध्यक्ष सिपी गजुरेल, सचिव देव गुरुङ, राप्रपा अध्यक्ष सूर्यबहादुर थापा, नेताहरू पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनी, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेता श्रेष्ठ निवास पुगेका थिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज