May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
यस्तो निष्कर्ष निकाल्दै सकियो एमाले स्थायी कमिटी बैठक

यस्तो निष्कर्ष निकाल्दै सकियो एमाले स्थायी कमिटी बैठक

साउन ०३, काठमाडौं । नेकपा एमालेले पुनःस्थापित संसदको पहिलो बैठकमै विश्वासको मत लिने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावले धेरै प्रश्नहरू जन्माएको ठहर गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले एमाले विभाजनलाई औपचारिकता दिन हतार(हतार विश्वासको मत लिन खोजिएको ठहर गरेको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले यसअघि नै पार्टीले प्रतिपक्षमा रहने र सरकारलाई समर्थन नगर्ने भनिसकेकाले विश्वासको मत नदिन सांसदलाई निर्देशन दिइएको बताए । सम्भव भएसम्म अरु दलसँग पनि सोही आग्रह गरिने उनले बताए ।

ज्ञवालीले १० बुँदे सहमति कार्यन्वयन गरी पार्टी एकताको रक्षाका लागि निरन्तर प्रयास गरे पनि आज कार्यदलसँगको भेटमा माधव नेपालले त्यसलाई अश्वीकार गरेको जानकारी दिए । उनले माधव नेपालले देउवा सरकारलाई विश्वासको मत दिने जानकारी आफूहरूलाई गराएको बताए ।

ज्ञवालीले भने, ‘उहाँले एक्लै भए पनि प्रस्तावको पक्षमा मत दिने कुरा गर्नुभयो । उहाँको तर्फबाट कार्यदलमा रहनु भएका साथीहरुले त्यसो गर्नु उचित नहुने बताउनुभए पनि उहाँले आफू एउटा बिन्दूमा पुगिसकेकाले आफ्नो बहुमत नभएको कमिटीको निर्णय मान्दिन भन्नुभयो ।’

एमाले बैठकममा कार्यदलका सदस्यहरूले माधव नेपालसँगको छलफलको जानकारी गराएका थिए । नेपाल अब एमालेमा नफर्किने निष्कर्ष बैठकले निकालेको छ । तर, १० बुँदे सहमतिका आधारमा पार्टीलाई एकताबद्ध बनाउने निर्णय बैठकले गरेको छ ।


त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले आज विस्वासको मत लिने भएपछि राम कुमारी झाक्रीले आफ्नो धारणा सार्वजनिक गरेकी छन । नेकपा एमालेका माधव पक्षकी सासंद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने बताएकी छन् । सासंद झाँक्रीले संसदको पुरा कार्यकाल संचालन गर्न विवेक प्रयोग गरी पक्षमा भोट हाल्ने बताएकी हुन् ।

प्रधानमन्त्री देउवाले आज ४ बजे प्रतिनिधिसभामा विश्वासको मत लिनुअघि सांसद झाँकीले देउवालाई विश्वासको मत दिनु आफनो कर्तव्य भएको बताएकी हुन् ।

एमालेको माधव पक्षको २३ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै अदालतमा मुद्दा हालेकाले पनि देउवाको पक्षमा मत दिनुपर्ने उनको दाबी छ ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्,‘हामीले ७६-५ को प्रमको लागि संघिय संसदका माननीय सदस्य शेरबहादुर देउवालाई समर्थन गरेका थियौँ। १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका हौँ। अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो। सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ। त्यसो गर्न सकिदैन भने सांसदहरूलाई संसदको पुरा कार्यकाल संचालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौं। यदि त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं।’

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिदैँछन् ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज