April 16, 2026, Thursday
२०८३ बैशाख ३, बिहीबार
स्टिङ अप्रेशन बदर गर्ने फैसलापछि फर्किए, ८ लाख घुस बाटोमा फालेर भागेका गापा अध्यक्ष

स्टिङ अप्रेशन बदर गर्ने फैसलापछि फर्किए, ८ लाख घुस बाटोमा फालेर भागेका गापा अध्यक्ष

जेठ २९, जनकपुरधाम । सर्वोच्च अदालतले अख्तियारले गरेको सबै स्टिङ अप्रेशन बदर गर्ने फैसला गरेपछि घुस लिएको रकम बाटोमै फालेर फरार भएका धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत तीन महिनापछि घर फर्केका छन्।

फागुन १७ गते राति घुस बापतको ८ लाख रुपैयाँ फालेर फरार भएको उनीमाथि आरोप लागेको थियो। राउत फर्केपछि उनको घरमा नेकपा एमालेका नेता तथा कार्यकर्ताको भीड लागेको छ।

उनका समर्थकले उनलाई फूलमालासहित उनको स्वागत गरेका छन्। गाउँपालिकाको गाडीसहित चालक वीरबहादुर मगरलाई भने अख्तियारले त्यतिबेलै नियन्त्रणमा लिएको थियो।

चालकलाई हाजिर हुने सर्तमा छाडिएको थियो। अख्तियार कार्यालयका अनुसार गाउँपालिका अध्यक्षले कार्यालयको भवन निर्माण योजनाको भुक्तानीका लागि ठेकेदारबाट ८ लाख रुपैयाँ घुस लिएका थिए।

सर्वोच्च अदालतले अख्तियारले गरेको सबै स्टिङ अप्रेशन बदर गर्ने फैसला गरेपछि राउतले राहत पाएका छन्। अध्यक्ष राउत एमाले नेता तथा उप्रधान एवं परराष्ट्रमन्त्री रघुवीर महासेठनिकट मानिन्छन्।