समर्थन फिर्ता लिदै प्रचण्डले लगाए, ओलीलाई यस्ता आरोप ( पत्र सहित )
वैशाख २२, काठ्मान्डौ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विभिन्न आरोप लगाउँदै समर्थन फिर्ता लिएको छ ।
माओवादी केन्द्रले बुधबार संसद सचिवालयमा बुझाएको समर्थन फिर्ता पत्रमा प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने असंवैधानिक कदम चालेको, मुलुकका राष्ट्रिय मुद्दालाई सौदावाजीको विषय बनाएको तथा कोरोना महामारी नियन्त्रणमा असफल भएको’ आरोप लगाएको छ ।

त्यस्तै संविधानको ठाडो उलंघन गरेको, लोकतान्त्रिक मूल्यमान्यता एवं राजनीतिक नैतिकताको धज्जी उडाएर राजनीतिलाई सत्ताको फोहोरी खेलका रुपमा निकृष्ट ढंगबाट सञ्चलन गरेको पनि माओवादीको आरोप छ ।
माओवादी केन्द्रले ओलीले राष्ट्रिय मुद्दालाई सौदाबाजीको विषय बनाइ देशलाई बाह्य शक्तिको क्रिडास्थल बनाउँदै लगेको समेत बताएको छ । साथै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक र संसदीय मान्यता विपरित आदेशबाट शासन चलाउने निरंकुश अभ्यासतिर उद्दत् हुँदै गएकाले सरकारलाई दिएको समर्थन फिर्ता गरेको उल्लेख छ ।

‘सर्वोच्च अदालतको फागुन २३ को निर्णय पश्चात ३० दिनभित्र विश्वासको मत लिनुपर्ने ठाउँमा नलिएको र नियमित अधिवेशन बोलाउनुपर्ने समयमा संविधान र परम्परा मिच्दै वैशाख २७ गते विश्वासको मतका लागि सदन बोलाउने काम गरिएकाले माओवादी केन्द्रको निर्णय र नेकपा माओवादी संघीय संसदीय दलको निर्णयअनुसार प्रम केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन आजैका मितिदेखि लागु हुनेगरी फिर्ता लिएको जानकारी गराउँछु’, अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेको समर्थन फिर्ता पत्रमा भनिएको छ ।
हेर्नुहोस समर्थन फिर्ता गरेको पत्र :


बुधबार माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई समर्थन फिर्ताको पत्र बुझाएका हुन् ।
मंगलबार काठमाडौंमा उपलब्ध स्थायी समिति सदस्यहरूको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र त्यसबारेको पत्र आज दर्ता गर्ने निर्णय गरेको थियो ।
माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका ५० सांसद छन् ।
सरकारले भने माओवादीले सर्मथन फिर्ता लिनुअघि नै विश्वासको मत लिने निर्णय गरिसकेको छ । २७ बैखामा विश्वासको मत लिने सरकारको तयारी छ।







प्रतिकृया दिनुहोस्