September 25, 2026, Friday
२०८३ आश्विन ९, शुक्रबार
सल्यानमा कोभिड १९ विरुद्धको खोप अभियान सुरु, डा. दिक्षान्त मेहता द्वारा खोप लगाएर उद्घाटन

सल्यानमा कोभिड १९ विरुद्धको खोप अभियान सुरु, डा. दिक्षान्त मेहता द्वारा खोप लगाएर उद्घाटन

माघ १४, सल्यान । सल्यानमा काेभिड १९ काे विरुद्धको ११ सय डाेज खाेप आएकाे छ । बुधबारबाट देशभर कोभिड १९ खोप अभियान अन्तरगत सल्यानमा १ सय १० भाइल अर्थात ११ सय डाेज खाेप भित्रिएकाे हाे ।

एउटा भाइलमा १० डाेज हुन्छन् । एउटा भाइल खाेलिसकेपछि त्यसभित्रकाे डाेज ६ घण्टा भित्र लगाइसक्नु पर्ने हुन्छ। सल्यानमा पहिलाे खाेप जिल्ला अस्पतालमा कार्यरत डा. दिक्षान्त मेहताले लगाएर उद्घाटन गरेका हुन् ।

खोप अभियानका पहिलो दिन ३० जना स्वास्थ्यकर्मीले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले बताए । उनकाअनुसार पहिलाेदिन बुधबार सल्यान जिल्ला अस्पतालमा कार्यरत १७ महिला र १३ पुरुष गरी ३० जना स्वास्थ्यकर्मीले खोप लगाएका छन ।

पहिलो चरणमा अस्पतालमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, शव वहान चालक, एम्बुलेन्स चालक, सरसफाईकर्मी र ७५ वर्ष उमेर नाघेका जेष्ठ नागरिकलाई खोप लगाउने नेपाल सरकारको निर्देशन अनुसार आज पहिलो दिन चिकित्सक र स्वास्थ्यकर्मीले कोरोना विरुद्धको खोप लगाएको उनको भनाई छ ।

बिहिबारदेखि खोप लगाउनेको संख्यामा वृद्धि आउने कार्यालयले जनाएको छ । बिहिबार महिला स्वास्थ्य स्वयमसेविका, प्राथमिक स्वास्थ्य चौकी, स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुले खोप लगाउने डिसीले बताए ।