May 23, 2025, Friday
२०८२ जेष्ठ १०, शुक्रबार
को हुन, ओली – प्रचण्डले सम्झीएका कालीबहादुर खाम ?

को हुन, ओली – प्रचण्डले सम्झीएका कालीबहादुर खाम ?

माघ १३, काठमाडौं । प्रतिनिधि सभा विघटनपछि सत्तारुढ नेकपा ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भयो । यद्यपि विभाजनको कानुनी मान्यता भने पाइसकेको छैन । पार्टी विभाजनमात्रै होइन नेकपा नेताहरु एकअर्काविरुद्ध खनिएका छन्, खुइल्याउन उद्दत छन् । उनीहरु आफ्नो समूहका नेता ठिक र अर्काे समूहका नेताहरु राष्ट्रघाती र जनताविरोधी चित्रित गरिरहेका छन् ।

यसैक्रममा गत पुस १५ गते प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले कालीबहादुर खामलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिर्सिएको आरोप लगाए । गत पुस १५ गते काठमाडौंमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलामा ओलीले प्रचण्डलाई प्रश्न गरे, ‘कालीबहादुर खामहरू कता छन् ?’ आफूलाई साथ दिएकाहरुलाई प्रचण्डले बेवास्ता गरेको ओलीको आरोप थियो ।

तर, यसको जवाफ प्रचण्डले पनि सडकबाटै दिए । कालीबहादुर खामबारे आफूले चिन्ता लिइरहेको भन्दै गत शुक्रबार (माघ ९) काठमाडौंमा आयोजित शक्ति प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीलाई जवाफ स्वरुप प्रचण्डले भने, ‘कालीबहादुर खाम खोई अरे ? त्यो कालीबहादुर खाम बिचरा आफैँ ले केही गरेको त होइन । उसलाई परेको साह्रो गाह्रो हेर्न मैले लगातार बल गरेको छु । जसलाई मैले १० वर्ष स्कुलिङ गरेर, हुर्काएर, माया गरेर, विकास गरेर एउटा ठाउँमा पु¥याएको । ति मान्छेको चाहिँ अब केपी ओलीले संरक्षण गर्ने रे ।’

ओली र प्रचण्डले पार्टी विभाजनपछि कालीबहादुर खामलाई सम्झिएका हुन् । अर्थात खामको स्मरण गराएर ओलीले प्रचण्डलाई झस्का दिएको पनि टिप्पणी भइरहेको छ ।

आखिर को हुन् कालीबहादुर खाम ?

कालीबहादुर खाम प्रहरीको फरार अभिव्यक्ति हुन् । माओवादी युद्धका कमाण्डरसमेत रहेका खाम व्यापारी रामेश्वर श्रेष्ठको हत्या आरोपी हुन् । यो आरोपमा प्रहरीले उनको खोजी गरिरहेको छ ।

तत्कालीन नेकपा माओवादी र सात राजनीतिक दलबीचको १२ बुँदे सहमतिअनुसार २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतापछि शान्ति प्रक्रियाले औपचारिकता पायो । सो सम्झौता पत्रमा सरकारको पक्षबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही पक्षबाट तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका थिए ।

अर्थात मुलुक शान्ति प्रक्रियामा आइसकेपछि वैसाख २८ गते २०६५ मा भएको कोटेश्वरका व्यापारी रामेश्वर श्रेष्ठको हत्यामा माओवादी लडाकुका कमाण्डर समेत रहेका खामको नाम मुछियो ।

शान्ति प्रक्रियामा आइसकेपछि सात मुख्य शिविर र २१ सहायक शिविरमा करिब ३१ हजार माओवादी लडाकुलाई राखिएको थियो । पछि अनमिनले प्रमाणीकरणमा लडाकुको संख्या १९ हजार ६ सय २ कायम गरेको थियो ।

त्यसमध्ये चितवनको शक्तिखोरमा रहेको तेस्रो डिभिजनले काठमाडौंमा सम्पर्क कार्यालय खोलेको थियो । कोटेश्वरस्थित व्यापारी रामहरि श्रेष्ठको घरमा सम्पर्क कार्यालय खोलिएको थियो । तर, सम्पर्क कार्यालयबाट २०६४ चैत १४ गते १७ लाख रुपैयाँ र एउटा पेस्तोल चोरी भएको घटना छानबिनका लागि भन्दै गोविन्दबहादुर बटालासहितको टोलीले घरबेटी श्रेष्ठसहित केशव अधिकारी, गंगाराम थापा र श्रेष्ठलाई नियन्त्रणमा दिएर चितवनस्थित तेस्रो डिभिजनमा लगियो ।

पछि शारीरिक यातनाका क्रममा थला परेका भनिएका श्रेष्ठको उपचारका लागि अस्पताल लैजान खोज्दा बाटोमा मृत्यु भएको थियो । श्रेष्ठको शव बटालाले नारायणी नदीमा फालेको भन्ने बेहोराको विवरण जनमुक्ति सेना नेपाल तेस्रो डिभिजनले २०६५ जेठ ३ गते प्रहरीमा पठायो ।

यता श्रेष्ठकी पत्नी रमिलाले बानेश्वर प्रहरीमा खाम र बटालाविरुद्ध किटानी जाहेरी दिइन् । उजुरीपछि प्रहरीको नजरमा खामसहित रघु भनिने केशव अधिकारी, एटम भनिने गंगाराम थापा र संकल्प भनिने अर्जुन कार्की फरार भए । यता बटालाले कुटपिटको दोष अधिकारी र थापामाथि लगाएर आफू निर्दोष रहेको बयान दिए । सवारी चालक कार्कीले पछि अदालतमा उपस्थित भएर गाडी चलाउनेबाहेक केही नगरेको बयान दिए । फरार रहेका सबैको फाइल मुल्तबीमा राखेर २०६८ जेठ १७ गते जिल्ला अदालत चितवनको भोलानाथ चौलागाईंको इजलासले बटालालाई ३ वर्ष कैद फैसला गर्‍यो । छ महिनापछि मंसिर २० गते भोजराज अधिकारीको इजलासले कार्कीलाई घटनामा संलग्न नभएको तर घटना भएको देख्दादेख्दै मौन बसेको नगद जरिवानाको फैसला सुनायो ।

पछि यो विषयमा पुनरावेदन हुँदै सर्वाेच्च अदालतसम्म पुग्यो । तत्कालीन पुनरावेदन अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र विनोदप्रसाद शर्माको इजलासले बटालासहितले व्यापारी श्रेष्ठको कुटपिटबाट हत्या भएको ठहर गर्‍यो । सर्वोच्च अदालतले कार्कीका हकमा जिल्लाकै फैसला सदर ग¥यो भने बटालाको हकमा पुनरावेदन अदालतको फैसला उल्ट्याएर सफाइ दियो ।

तर, श्रेष्ठको अपहरण र कुटपिटमा निर्देशन दिएको आरोपमा खामलाई पनि जिल्ला अदालत चितवनमा मुद्दा चलाइएको थियो । व्यापारी श्रेष्ठको हत्या घटनामा मुछिएका खाम चितवन जिल्ला अदालतमा रहेको मुद्दाका प्रतिवादीको सूचीमा छन् । उनी ‘फरार अभियुक्त’ सूचीमा छन् ।

मुद्दा दर्ता भएदेखि नै खाम अदालतमा उपस्थित भएका छैनन् । उनी नभेटिएका कारण देखाई जिल्ला अदालतले उनीसहित हत्यामा जोडिएका केशव अधिकारी र गंगाराम थापाको मुद्दालाई मुल्तबीमा राखेको छ ।

खामसहित फरार रहेको उनको ‘टोली’ लाई पक्राउ गर्ने र जिल्ला अदालतमा उभ्याउन प्रहरीले सकिरहेको छैन । उनै खामलाई अहिले प्रधानमन्त्री ओली र प्रचण्डले सम्झिएका हुन् ।

खामको बालुवाटार प्रवेशको चर्चा र बादलको सक्रियता

प्रहरीको फरार सूचीमा रहेका कालीबहादुर खाम गत पुसको अन्तिम हप्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार प्रवेश गरेको चर्चा चल्यो । फरार रहेका खाम किन बालुवाटार छिरे ? यस विषयले राजनीतिक बजार ततायो ।

पूर्वमाओवादी लडाकु कमाण्डर कालीबहादुर खाम बालुवाटार छिरेको समाचार बाहिरिएपछि कोहलपुरमा फेरि देखापरेको अर्काे खबर आयो ।

तत्कालीन माओवादीका कमाण्डरसमेत रहेका गृहमन्त्री रामबहादुर थापा बादलको सहयोगमा खामको बालुवाटार प्रवेश भएको बताइयो । तर, यसको स्वतन्त्ररुपमा पुष्टि भइनसके पनि बालुवाटर पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका भनिएका खामले धनगढीमा आयोजित प्रधानमन्त्री ओली सहभागी कार्यक्रमको तयारी पनि गरिएको चर्चा चलेको थियो ।

बालुवाटारमा खामको प्रवेशको चर्चासँगै गृहमन्त्री बादल पूर्वमाओवादीका लडाकुहरुलाई आफ्नो पक्षमा ल्याउने कसरतमा लागेको भन्ने विषयले पनि राजनीति क्षेत्रलाई तताइरहेको छ । ओली समूहका नेता बादलले विघटित जनमुक्ति सेनाका कमान्डरसँग भेटघाट तीव्र पारेको बताइन्छ ।

माओवादी लडाकुमा काम गरेकाहरुको खोजीको क्रममा प्रधानमन्त्री ओलीले तत्कालीन डिभिजन कमान्डर तथा सरकारी फरार सूचीमा रहेका कालीबहादुर खामको नाम उच्चारण गरेका हुन् । र खामको विषयले ओली र प्रचण्डबीच टिकाटिप्पणी भएको हो ।

क्यानडा नेपाल डटकम बाट साभार

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज