जनकल्याण माविमा भ्रष्टाचार, पौष १५ भित्र अभिभावक भेलामा आयव्यय सार्वजनिक गर्न निर्देशन
मंसिर २०, सल्यान । रुकुम पश्चिमको एक बिद्यालयका व्यबस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र कार्यालय सहायकलाई लाखौं रकम हिनामिना गरेको आरोप लागेको छ । स्थानीयहरूले उनिहरूलाई बिद्यालयमा लाखौं रकम हिनामिना गरेको आरोप लगाएका हुन ।
जिल्लाको बाँफिकोट गाउँपालिका ९ मा रहेको जनकल्याण माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम देवकोटा, प्रधानाध्यापक बलबहादुर खत्री र कार्यालय सहायक सदु बिकले बिद्यालयको लाखौ रकम हिनामिना गरेको भन्दै स्थानीयले आन्दोलन समेत गरेका थिए । सदु बिले बिद्यालयको लेखापालको समेत काम गर्दै आएको बताईएको छ ।
पटक पटक विद्यालयको आयव्यय रकम माग्दा पनि वास्ता नगरेको, विद्यालयको अडिट लुकाउने गरेको, निर्माण भएका र निर्माणाधिन भौतिक संरचनाको रकम पारदर्शि नगराएको लगायतका आरोप सहित स्थानीयले बिद्यालयमा नारा जुलुस गरेपछि तीनै जना आरोपितलाई प्रहरीले सुरक्षा दिएको थियो । आफूहरु माथी असुरक्षाको महशुस भएपछि उनीहरुले बिद्यालयमै प्रहरी बोलाएर भागेको स्थानीयले बताएका छन् ।
प्राप्त जानकारी अनुसार, बिद्यालयको करिब ३ बर्षको आम्दानी खर्च लुकाउने गरिएको छ ।
स्थानीयले २०७४ साल देखि बिद्यालयको एक एक हिसाब खोजेतापनि उनीहरुले आनाकानी गर्दै आएको नाम प्रकाशन नगर्ने शर्तमा एक स्थानीयले बताए । उनका अनुसार, बिगत देखि नै शिक्षकहरुले पाउँने तलबबाट समेत रकम कट्टि गरिएको छ भने बिद्यार्थीबाट लिईएको मार्कसिट, सर्टिफिकेट र रजिष्ट्रेशन शुल्क सार्वजनिक लुकाउने गरिएको छ । कार्यरत शिक्षकहरुको चाडपर्व खर्च, अनुदान रकम समेत मिलोमतोमा कुम्ल्याईएको गुनासो रहेको छ ।
त्यसैगरी गत बर्ष एससिईईमा बिद्यालय उत्कृष्ट हुदाँ पाएको पुरस्कार रकम, बिद्यालयका प्रशासनिक खर्चको लागि गाउँपालिकाबाट पाएको रकम, कक्षा १ देखि ३ सम्मको बिद्यार्थीको ड्रेस शुल्क, बाल शिक्षाको फाराम शुल्क समेत अनियमितता गरेको आरोप छ । ‘बिद्यालयको सोलार समेत बेचिएको छ,’ अर्का स्थानीयले भने ‘बिद्यालयको पुरानो भवन भत्काउँदा निकालेका ८४ थान टिनका पाता समेत गायब गरिएको छ ।’
बिद्यालयमा अभिभावक शुल्क भनेर १५ सय रकम लिने गरिएको, ट्युशन र रजिष्ट्रेशन शुल्कको पैसाले केहि शिक्षकलाई तलब व्यवस्था गर्ने गरिएको बताईएतापनि उक्त कुराको पारदर्शिता नभएकोमा स्थानीयको आपत्ति रहेको छ ।
बिद्यालयको भवन निर्माणमा समेत रकम अनियमितता भएको उनीहरुको दाबी छ । जिल्ला शिक्षा कार्यालयबाट १६ लाख रकम प्राप्त भएको तर भवन निर्माणको लागि १२ लाख ९० हजारमा ठेक्का परेर काम सम्पन्न भएको थियो । त्यसबापत बिद्यालयमा बचेको ३ लाख दश हजार रकम समेत तीन जनाले मिलेर खाएको स्थानीयको आरोप छ ।
यस बिषयमा बिद्यालय व्यवसथापन समितिका अध्यक्ष प्रेम देवकोटाले निराधार र कपोलकल्पित आरोप भएको बताए । उनले अराजक समुहले गाउँमा भयभित वातावरण सिर्जना गरेर बिद्यालयमा हस्तक्षेप गर्न खाजेको बताए ।
हिसाब किताब माने र देखाउने पनि कानुन र बिधिसम्मत तरिका हुन्छ, यहाँ त होहल्ला गरेर, पढाई नै प्रभावित पार्ने काम भयो’ उनले भने, ‘हिसाबकिताब जान्न पाउनुपर्ने, देखाउनु पर्ने नाममा अर्काको चरित्र हत्या गर्ने काम भयो । बिद्यालय भवन निर्माणको बिषय आफु अध्यक्ष हुुनुभन्दा पहिले नै भएको प्रतिक्रिया दिदै उनले आफू माथी लागेको आरोपको कानूनी बाटो समात्ने जनाए ।
विवादले चर्को रुप लिएपछि प्रहरीले अध्यक्ष, प्रधानाध्यापक र कार्यालय सहायकलाई जिल्ला झिकाएको थियो । जिल्ला प्रशासन कार्यालयमा भएको एक छलफलमा दुबै पक्षका व्यक्तिहरु बसेर पौष १५ गते भित्र अभिभावक भेला बोलाई सामाजिक परीक्षण मार्फत बिद्यालयको आयव्यय र प्रगति सार्वजनिक गर्ने निर्णय गरेको बताईएको छ । प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
शिक्षा नियमावली अनुसार अभिभावक भेला बोलाई आय ब्यय सार्वजनिक गर्ने र कोहि कसैलाई धम्काउने कार्य कसैले नगर्ने गरी पठाईएको छ, प्रजिअ बद्रिनाथ गैह्रेले भने ‘हिसाबकिताब देखाउँदा पनि अभिभावकहरुलाई शंका लागेमा थप छानबिन गरी कारबाहिको प्रक्रिया सुरु गरिनेछ ।’ असलशासन डटकम बाट साभार ।
प्रतिकृया दिनुहोस्