December 16, 2025, Tuesday
२०८२ पुष १, मंगलवार
जलवायु परिवर्तनको प्रभाव: पुषमै पाक्यो चैते काफल

जलवायु परिवर्तनको प्रभाव: पुषमै पाक्यो चैते काफल

दाङ, माघ ३ ।

दाङको तुलसीपुर उप–महानगरपालिकाको छिल्लीकोटमा पुसमै काफल पाक्न थालेको छ । विगत वर्षदेखि यस क्षेत्रमा कुनै वर्ष कि चैतभन्दा पछि, कि त त्यसअघि नै काफल पाक्न थालेपछि धेरैलाई अचम्म लाग्न थालेको छ ।

गएको वर्ष जेठसम्म पनि चैते काफल नपाकेको छिल्लीकोटमा यस वर्ष भने पुसमै पाकेको स्थानीय प्रवीर पुनले बताउनुभयो । केही वर्षअघिसम्म चैते काफल चैतमै पाक्ने गरेको भए पनि पछिल्लो समय कहिले अघि र कहिले पछि पाक्दा आफूहरू अचम्ममा परेको उहाँको भनाइ छ ।

यहाँ पुसको तेस्रो हप्तादेखि काफल पाक्न थालेको हो । जलवायु परिवर्तनका कारण यस्तो समस्या देखिने गरेको तुलसीपुर उप–महानगरपालिकाका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताउनुभयो ।

उहाँका अनुसार चिसो मौसममा १० डिग्रीभन्दा कम तापक्रम नहुँदा यसरी अगाडि नै काफल पाकेको उहाँको भनाइ छ । “यस वर्ष १० डिग्रीभन्दा कम तपक्रम नै भएन”, उहाँले भन्नुभयो, “यसको प्रभावले पनि छिट्टै काफल पाकेका हुन् ।”

बिरुवामा हर्मोनल प्रभावले यसरी समयभन्दा ढिलो र छिटो हुने गौतमको भनाइ छ । बिरुवामा पातको मुना आउने र फूलको मुना आउने आ–आफ्नै समय हुने गरेको भए पनि यसपटक सँगसँगै पातको मुना र फूलको मुना आउँदा पनि त्यस्तो प्रभाव परेको हुनसक्ने उहाँको भनाइ छ ।