उदयपुर आमा-छोरा हत्या प्रकरण : यौनसम्बन्धको प्रस्ताव अस्वीकार गर्दा खुकुरीले आक्रमण
उदयपुर कटारी– उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा-छोराको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार एक जनालाई सार्वजनिक गरेको छ।
वडा कार्यालय नजिकै किराना पसल गरी बस्ने ३८ वर्षीया आमा निर्मला थापा र उनका ६ वर्षीया छोरा आरुस थापाको हत्या गरेको अभियोगमा सोरुङ्गछविसेकै ३२ वर्षीय ताराबहादुर थापा मगरलाई प्रहरीले सार्वजनिक गरेको हो।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक हरीहर नाथ योगीले ‘घटनाको सुक्ष्म अध्ययनपछि प्रहरीले आमा–छोरा हत्या प्रकरणका आरोपितलाई पक्राउ गर्न सफल भएको बताए ।
मृत अवस्थामा फेला परेका आमा छोराको हत्या स्थानीय ३२ वर्षका ताराबहादुर मगरबाटै भएको उनले बताए । अभियुक्त ताराबहादुर मगरले धारिलो हतियार प्रयोग गरी घाँटी तथा शरीरको अन्य भागमा समेत प्रहार गरी विभत्स तरिकाले हत्या गरेको प्रहरीले जनाएको छ ।यौनसम्बन्धको प्रस्ताव अस्वीकार गर्दा महिलाको हत्या भएको खुलेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन चापागाईंको टोली सोरुङ्गछविसेमै रहेर अनुसन्धान गरेको थियो। ‘अनुसन्धानपछि बिहीबार मात्रै उहाँहरु फर्किनुभएको हो,’ जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरिहरनाथ योगीले भने।
उपरीक्षक योगीका अनुसार घटना भएको राति अभियुक्त मगर महिला सुतेको स्थानमा पुगेका थिए। अभियुक्तले घरबाट नै खुकुरी बोकेर गएको प्रहरीले जनाएको छ। उनले मृतक महिला लाई पटकपटक खुकुरी प्रहार गरेको र सोही क्रममा सँगै सुतिरहेका छोरा आरुस उठेर कराउन थालेपछि छोरालाई पनि खुकुरी प्रहार गरी हत्या गरेका अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ।
‘प्रारम्भिक अनुसन्धान मात्रै हो आज हामीले ७ दिनको म्याद थपेर थप अनुसन्धान थालेका छौँ,’ उपरीक्षक योगीले भने, ‘घटनापश्चात अभियुक्तले प्रयोग गरेको खुकुरी, मृतक महिलाको मोबाइल, अभियुक्तले घटनापश्चात नजिकैको खोलामा धोएर सुकाएको हाफपाइन्ट बरामद गरिएको छ।’
लेखकको सम्वन्धमा