May 17, 2025, Saturday
२०८२ जेष्ठ ४, शनिबार
छत्रेश्वरीमा २८० जनालाई उत्तर प्रसुति स्याहार घरभेट

छत्रेश्वरीमा २८० जनालाई उत्तर प्रसुति स्याहार घरभेट

चैत ०६, सल्यान ।

सल्यानको छत्रेश्वरी गाउँपालिकामा २८० जना आमालाई घरभेट मार्फत सुत्केरी पछिको स्याहार पाएका छन् ।

स्वास्थ्य संस्थाबाट दक्ष स्वास्थ्यकर्मीहरु घर घरमा गएर सुत्केरी अवस्थामा आमा तथा नवजात शिशुलाई स्वास्थ्य सम्बन्धी जाँच तथा परामर्श सेवा दिने महत्वपुर्ण कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाले जनाएको छ । गत आर्थिक वर्ष २०७९।०८० मा गाउँपालिकाभरी १६४ जना र चालु आर्थिक वर्षको ६ महिनामा ११६ जना गरेर जम्मा २८० जना आमाहरुलाई उत्तर प्रसुति स्याहार कार्यक्रम मार्फत ४ पटक चेकजाँच गरिएको छत्रेश्वरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केशरीदेवी भट्टराईले जानकारी दिइन् ।

यस्तै गत आर्थिक वर्ष २०७९।०८० मा १७३ जना र यस आर्थिक वर्षको ६ महिनामा ११७ जना नवजात शिशुको घरभेट मार्फत चेकजाँच गरिएको पनि उनले जनाइन् ।

मंगलबार गाउँपालिकामा उत्तर प्रसुति स्याहार कार्यक्रमको समिक्षा गर्दै यो कार्यक्रमलाई अझै प्रभावकारी रुपमा सञ्चालन गर्ने सन्दर्भमा छलफल भएको छ । शतप्रतिशत लक्ष्य प्राप्तीका लागि सबैको अग्रसरता आवश्यक रहेको भन्दै कार्यक्रममा सहभागिहरुले आमा र बच्चाको स्वास्थ्य अवस्थामा थप टेवा पुर्याउन प्रसुति पछिको स्याहारको भेट कार्यक्रमलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, वडा नम्बर १ का वडा अध्यक्ष प्रकाश हमाल, २ का वडा अध्यक्ष प्रेम नेपाली, ६ का वडा अध्यक्ष टिकाराम बुढा, ७ का वडा अध्यक्ष टेक बहादुर विष्ट लगाएत स्वास्थ्य संस्थाका नर्सिङ स्टाफ, सरोकारवालाको सहभागिता रहेको थियो । स्वास्थ्य संयोजक केशरिदेवी भट्टराईले कार्यक्रमको उद्देश्यबारे प्रष्ट पारेकी थिइन् भने उत्तर प्रसुति स्याहार कार्यक्रमको प्रगतिका बारे पब्लिक हेल्थ नर्स विमला डाँगीले प्रस्तुतीकरण गरेकी थिइन् ।

पहिलो जाँच बच्चा जन्मेको २४ घन्टा भित्र, दोस्रो जाँच बच्चा जन्मेको ३ दिनमा, तेस्रो जाँच बच्चा जन्मेको ७ दिनमा र चौथो जाँच बच्चा जन्मेको ४५ दिनमा अनिवार्य गर्नुपर्ने र उत्तर प्रसुति स्याहारको महत्वबारे सबैले बुझ्न आवश्यक रहेकोमा जोड दिइएको थियो । सुत्केरी अवस्थामा आमा तथा नवजात शिशुको स्वास्थ्य जाँच गरी जटिलताका अवस्थाहरु समयमै पहिचान, व्यवस्थापन तथा प्रेषण गरी मातृ तथा नवजात शिशु मृत्यु कम गर्ने उद्देश्य अनुसार गाउँपालिकामा उत्तर प्रसुति स्याहार घरभेट कार्यक्रम सञ्चालन गरिएको हो ।