July 16, 2024, Tuesday
२०८१ श्रावण १, मंगलवार
लैंगिक हिंशा विरुद्ध छत्रेश्वरीमा सामूहिक प्रतिबद्धतामा हस्ताक्षर

लैंगिक हिंशा विरुद्ध छत्रेश्वरीमा सामूहिक प्रतिबद्धतामा हस्ताक्षर

मंसिर १२, सल्यान ।

सल्यानको छत्रेश्वरी गाउँपालिकामा जनप्रतिनिधी, कर्मचारी तथा स्थानीय नागरिकहरुले लैंगिक हिंशा विरुद्ध सामूहिक प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् ।

लैंगिक हिंशा विरुद्धको १६ दिने अभियान अन्तर्गत मंगलबार हिंशा नगर्ने, नसहने र भएको देखेमा आवाज उठाउने प्रतिवद्धता गरेका हुन् । गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम बुढा लगाएत कर्मचारी तथा सर्वसाधारण नागरिकहरुले महिला हिंशा विरुद्ध सामूहिक प्रतिबद्धता जनाएका हुन् ।

छत्रेश्वरी गाउँपालिका अन्तर्गत वास ईकाईको आयोजनामा सामूहिक हस्ताक्षर कार्यक्रम सम्पन्न गरिएको वास संयोजक निमराज केसीले जानकारी दिए । कार्यक्रममा सहभागिहरुले समाजमा छोरा र छोरी दुवै बराबरी भन्ने सोचलाई आत्मसात गर्दै लैंगिक हिंसाविरुद्ध व्यापक जनचेतना जगाउ आवश्यक रहेको बताएका थिए ।

महिलाहरुले प्याड बनाउने सीप सिके
यसैविच छत्रेश्वरी गाउँपालिकामा घरेलु स्यानीटरी प्याड निर्माण सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । महिला स्वास्थ्य स्वयमसेविका, विद्यालयका छात्रा, महिला शिक्षक लगाएत सहभागि महिलाहरुले प्याड बनाउने सीप सिकेका हुन् ।

तालिममा सहभागि छत्रेश्वरी गाउँपालिका ५ की सिता केसीले आफूले पहिलोपटक कपडाको प्याड बनाउने सिप सिकेको र अब बजारमा पाइने प्याडभन्दा घरमै निर्माण गरेर प्रयोग गर्ने बताइन् । महिनावारी स्वच्छता व्यवस्थापनका लागि आवश्यक ज्ञान संगै प्याड बनाउने तरिका सिकेको अर्का सहभागि छत्रेश्वरी ३ बस्ने मंगली सार्कीले बताईन् । मर्यादित महिनावारीबारे सचेतना फैलाउनका लागि तालिममा धामी तथा पुजारीहरुलाई पनि सहभागि गराइएको थियो ।

घरेलु प्याड निर्माण तालिम संगै मर्यादिन महिनावारी र प्याडको बजारीकरणका विषयमा पनि अभिमुखिकरण गरिएको गाउँपालिकाका वास संयोजक निमराज केसीले जानकारी दिए । तालिम समापन अवसरमा सहभागिहरुले तयार गरेको स्यानीटरी प्याड प्रदर्शन गरिएको थियो भने गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम बुढाले सहभागिहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । घरेलु स्यानीटरी प्याड निर्माण गरी यसको प्रयोगलाई प्रर्बद्धन गर्नका लागि तालिमको आयोजना गरिएको वास सहजकर्ता सुरज वलीले जानकारी दिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज