June 17, 2026, Wednesday
२०८३ असार ३, बुधबार
नागरिकले चाहेजस्तो विकासका लागि इमान्दारीताका साथ खटिरहेका छौं : अध्यक्ष बुढाथोकी

नागरिकले चाहेजस्तो विकासका लागि इमान्दारीताका साथ खटिरहेका छौं : अध्यक्ष बुढाथोकी

असोज ०३, सल्यान ।

ल्यानको छत्रेश्वरी गाउँपालिकाले सहकार्यबाट नै विकास गर्न सकिने भन्दै स्थानिय सरकारलाई बलियो बनाउनुपर्नेमा जोड दिएको छ । संविधान दिवस २०८० को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले नागरिकको प्रत्येक्ष सम्पर्क, समन्वय र सहभागिता रहने स्थानीय सरकारलाइ बलियो बनाउन आवश्यक रहेको बताएका हुन् ।

“जनताका प्रतिनिधिहरुले संविधानसभा मार्फत संविधान निर्माण गरि जारी गरेको आठ बर्ष पूरा भएको सुखद अवसरमा छत्रेश्वरी गाउँपालिकावासी एवम स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदिबहिनी, दाजुभाइहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं,” अध्यक्ष बुढाथोकीले जारी गरेको सन्देशमा भनिएको छ । उनले “म बनाउछु मेरो छत्रेश्वरी” भन्ने नारालाइ आत्मसात गर्दै समग्र पालिकाको विकासको लागि निरन्तर रुपमा लागि परिरहेको पनि उल्लेख गरेका छन् ।

“चाहे त्यो विकासात्मक कार्य होस् चाहे सेवा प्रवाह नै किन नहोस् , प्रत्येक्ष र नजिक रहेर सेवा, अवसर तथा पहुचको व्यवस्था मिलाउने स्थानीय सरकार नै भएकाले यसलाइ अझ बलियो बनाउन सबैको साथको अपेक्षा गरेका छौँ,”- शुभकामना सन्देशमा उल्लेख गरिएको छ । अध्यक्ष बुढाथोकीले संविधानको कार्यान्वयन गर्दै छत्रेश्वरीको समृद्धिको लागि महत्वपूर्ण कार्य गर्ने निवर्तमान जनप्रतिनिधि, आम नागरिक र सरोकारवाला पक्षलाइ धन्यवाद दिएका छन् भने वर्तमान जनप्रतिनिधिहरु नागरिकले चाहेजस्तो र खोजेजस्तो विकास, सेवा प्रवाह र सुशासन प्रवर्द्धनमा इमान्दार रुपमा खटिरहेको अवगत गराएका छन् ।

सभ्य, शान्त, स्वच्छ र समृद्ध गाउँ समाज निर्माणमा सकारात्मक भुमिका खेल्न संविधान दिवसले नयाँ उत्साह प्रदान गरोस् भन्ने कामना पनि शुभकामना सन्देशमा गरिएको छ ।

गाउँपालिका अध्यक्ष बुढाथोकीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरुप्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा लोकतान्त्रिक प्रणालीको जग बसाल्न पथप्रदर्शन गर्नुहुने सम्पुर्ण अग्रजहरुप्रती सम्मान प्रकट गरेका छन् ।