January 17, 2025, Friday
२०८१ माघ ४, शुक्रबार
मजदुरी गर्न भारत पुगेका रुकुम पश्चिमका एकै घरका ३ जनाको पहिरोले पुरिएर मृत्यु

मजदुरी गर्न भारत पुगेका रुकुम पश्चिमका एकै घरका ३ जनाको पहिरोले पुरिएर मृत्यु

असार २६, रुकुम पश्चिम ।

भारतमा पहिरोले पुरीदा एकै घरका तीन जना नेपालीको मृत्यु भएको छ । हिमाञ्चल प्रदेश, सिम्ला जिल्लाको क्यारामा गएको पहिरोमा पुरीएर रुकुम पश्चिमका तीन जनाको मृत्यु भएको हो ।

रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका–९ खहरेका ५० वर्षीय देबहादुर वली, उहाँकी ४८ वर्षीया श्रीमती भिमा वली र १६ वर्षीय कान्छो छोरा मोहन वलीको सोमबार बिहान मृत्यु भएको आफन्त मुकुन्द खड्काले जानकारी दिनुभयो ।

त्रिवेणी गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर खड्काले पनि बिहान साढे १० बजेदेखि ११ बजेको बीचमा अविरल वर्षापछि झरेको पहिरोको कारण उनीहरूको मृत्यु भएको खबर पाएको बताउनुभयो ।

क्यारामा विगत तीन–चार दिनदेखि अविरल वर्षा भइरहेको र उनीहरू कोठाभित्रै रहेको बेलामा पहिरो खसेको वडाध्यक्ष खड्काले बताउनुभयो ।

वडाध्यक्ष खड्काका अनुसार आमा भिमा र छोरा मोहन २२ दिनअघि मात्रै त्यहाँ पुगेका थिए । देवबहादुर भने गत मंसिरतिर सुरूमा उत्तर प्रदेशको पौरी गएका थिए । त्यहाँबाट उनी पछिल्लो समय सिम्ला पुगेका हुन् ।

भिमाका जेठा छोरा पनि उनीहरूसँगै बस्ने गरेका थिए । तर पहिरो आएको बेलामा बाहिर भएकाले उनी जोगिएका थिए ।