सल्यानका प्रहरी हवल्दार आरसीमाथी इन्स्पेक्टरको कुटपिट : आँखामा गम्भीर चोट
बैशाख १७, सल्यान ।
सल्यानको शिद्धकुमाख गाउँपालिका वडा नम्बर – ३ स्थायी घर भएका ३७ वर्षीय प्रहरी हवल्दार हरि आरसी प्रहरी निरीक्षकबाट कुटिएका छन ।
जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी निरीक्षक नविन चापागाईंले प्रहरी हवल्दार आरसीमाथि शनिबार कुटपिट गरेका हुन ।
कुटपिटबाट आरसीको बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको छ ।हवल्दार आरसी जिल्ला कारागार डोल्पामा कार्यरत छन् ।
हवल्दार आरसीका अनुसार ‘मलाई जिल्ला प्रहरी कार्यालय भित्रै बोलाएर प्रहरी निरीक्षक चापागाईंले कुटपिट गर्नु भयो,’ उनले भने, ‘मलाई बायाँ आँखा हेर्न गाह्रो भइरहेको छ, नाक पनि दुखिरहेको छ ।’
हवल्दार आरसीको जिल्ला अस्पताल डोल्पामा सामान्य उपचार गरिएको छ । थप उपचारका लागि आइतबार उनी बाँकेको नेपालगञ्ज जाने तयारीमा छन् । ‘आँखाको उपचारका लागि म नेपालगञ्ज जानुपर्ने भयो,’ उनले भने ।
शनिबार हवल्दार आरसी बिदामा थिए । उनले बिदाको दिन आफूले साथीहरूसँग मिलेर मादक पदार्थ सेवन गरेको पनि बताए ।
‘म साथीहरूसँग बसिरहेका बेला इन्स्पेक्टर साबले बोलाउनु भएको छ भनेर असईले भन्नुभयो । म प्रहरी कार्यालय गएँ । एकाएक इन्स्पेक्टर साबले कुट्नुभयो । मैले माफी मागे पनि उहाँले कुट्नुभयो,’ उनले भने ।
बिदाको दिनमा मापसे गरेको र हो-हल्ला समेत नगरेको उनको भनाइ छ । ‘यदि मैले गल्ती नै गरेको थिएँ भने पनि मलाई संगठनिक कारबाही गरिनुपर्थ्यो,’ उनले भने ।
यो घटनाबारे बुझ्न खोज्दा प्रहरी निरीक्षक चापागाईंको मोबाइल स्वीच अफ छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक शिव बहादुर बुढाथोकीले भने आफू कार्यालयभन्दा बाहिर रहेको बेला घटना घटेकोले यसबारे अनुसन्धान भइरहेको बताए ।
‘कुटपिट र हातपात गर्न पाइँदैन । हामी घटनाबारे विस्तृतमा अनुसन्धान गरिरहेका छौं । दोषीलाई विभागीय कारबाही हुन्छ,’ उनले भने, ‘कानून हातमा लिने जो-कोहीलाई पनि कारबाही हुन्छ ।’
लेखकको सम्वन्धमा