November 15, 2024, Friday
२०८१ कार्तिक ३०, शुक्रबार
सल्यानमा समानुपातिक भन्दा प्रत्यक्ष तर्फ बदर मत धेरै

सल्यानमा समानुपातिक भन्दा प्रत्यक्ष तर्फ बदर मत धेरै

मंसिर १२, सल्यान  ।

मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन सकिएसँगै मतगन्दा सल्यानमा समानुपातीक तर्फ भन्दा प्रत्यक्ष तर्फ धेरै बदर मत भेटिएको छ।

मत गणनाका क्रममा बिगत जस्तै यस वर्षपनि बदर मत बढी देखिएको हो ।

सल्यानमा कुल १ लाख ५७ हजार ७ सय १ मतदाता मध्ये ८३ हजार ७ सय ४ मत खसेको थियो ।

निर्वाचनको नमुना मतपत्र सार्वजनिक भएपछि धेरै मत बदर हुने आकलन थियो । मतदाता शिक्षाको कमि र दलहरु बिच भएको चुनावी तालमेल वा गठबन्धनलाई मत बदर हुने प्रमुख कारणको रुपमा हेरिएको छ ।

प्रतिनिधि सभा प्रत्यक्ष तर्फ कुल ८३ हजार ७ सय ४ मत खसेको सल्यानमा ७ हजार ३ सय ७६ मत बदर भएको छ । जुन कुल खसेको मतको ८.८१% हो ।

प्रतिनिधि सभा समानुपातिकमा भने ८४ हजार ७ सय ८९ खसेको मत मध्ये ६ हजार २ सय १५ मत बदर भएको छ । जुन कुल खसेको मतको  ७.३३% हो ।

तुलनात्मक रुपमा प्रत्यक्ष तर्फ भन्दा समानुपातिक तर्फको बदर मत संख्या कम छ ।

प्रदेश सभामा पनि प्रत्यक्ष तर्फकै बदर मत बढी :

प्रदेश सभा तर्फ पनि समानुपातिक भन्दा प्रत्यक्षमा बदर मत संख्या बढी देखिएको छ । २ वटा प्रदेश सभा रहेको सल्यानमा दुबै  प्रदेशमा (प्रत्यक्ष तर्फ) ८३ हजार १ सय ९५ मत खसेको थियो । जसमा ४ हजार ३ सय ४० मत बदर भएको छ । जुन कुल खसेको मतको ५.२२% हो ।

त्यस्तै प्रदेश सभा समानुपातिक तर्फ ८२ हजार ९ सय ९८ जम्मा मत मध्ये ६ हजार २ सय ३१ (कुल खसेको मतको ७.५१) मत बदर भएको जिल्ला निर्वाचन कार्यालय सल्यानले जानकारी दिएको छ ।

एउटै मतपत्रमा एक भन्दा बढी ठाउँमा मतदान गरेको, मसि लत्पतिएको मतपत्रमा औंला छाप प्रयोग भेटिएको मत पत्र समेत फेला परेकाले प्रभावकारी मतदाता शिक्षाको अभावमा बदर मत बढी देखिएको प्रमुख निर्वाचन अधिकृत निमराज भट्टराईले बताउनुभयो ।