आज मध्यरातिदेखि स्थिर समय (मौन अवधी) शुरु हुदै
मंसिर १, काठमाडौं ।
निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय चुनावको स्थिर समय मंसिर १ गते राति १२ बजेदेखि सुरु हुने बताएको छ।
निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार मंसिर १ गते राति १२ बजेबाट स्थिर समय सुरु हुने भएको हो ।
यो समयमा चुनावी प्रचारप्रसार गर्न नपाइने उनले जानकारी दिए । केन्द्रीय आचारसंहिता अनुगमन समिति संयोजकसमेत रहेका भण्डारीले भिडियो सन्देशमार्फत् यो जानकारी दिएका हुन् ।
यसअघिका निर्वाचनमा मतदानअघिको ४८ घण्टाको समयावधिलाई ‘मौन अवधि’ भन्ने गरिएकोमा अहिले स्थिर अवधि भनिएको छ।
भण्डारीका अनुसार बिहीबार मध्यरातदेखि राजनीतिक दलहरूको सम्पूर्ण प्रचारप्रसारमा निषेध गरिएको छ ।
यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ संगठनले निर्वाचन प्रचारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा–सम्मेलन, कार्यशाला, गोष्ठी गर्न पाइने छैन ।
यो अवधिमा राजनीतिक दलका उम्मेदवार वा दलका अन्य प्रतिनिधिलाई मात्र नभई सामाजिक सञ्जाल, अनलाइन, छापा लगायतका माध्यमबाट पनि प्रचारप्रसारका लागि रोक लगाइएको छ ।
त्यस्तै, प्रत्येक मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री पनि हटाउनुपर्ने छ। स्थिर अवधिअगावै उम्मेदवार र उनीहरूका प्रशंसकका फेसबुक, ट्विटर, टिकटकलगायत पेजका स्पोन्सर सामग्री हटाउन आयोगले आग्रह गरेको छ ।
बुधबार राति १२ बजेबाट मुलुकका सबै नाका बन्द भएका छन्। बन्द भएका नाकाहरु मतदान सकिएसँगै खुल्नेछन्। त्यस्तै, स्थिर अवधि सुरु भएसँगै मदिरा बिक्री तथा वितरणमा पनि रोक लगाइने भएको छ ।
उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटुजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने पनि आयोगले जनाएको छ ।
#मौन अवधी #स्थिर समय #प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ #निर्वाचन आयोग
लेखकको सम्वन्धमा