कविता: त्यागौ पार्टी सदस्यता तोडौ नेताका घेरा
✍️तेज विक्रम वली
त्यागौ पार्टी सदस्यता तोडौ नेताका घेरा
अपराधका पहाड बोक्ने अनि
छाती चौडा गर्दै हिँड्ने नेताहरू,
अनि उनीहरूलाई ढाकछोप गर्ने हामी..
नेताको पिँजडामा कैदीमा
हामी कतिन्जेल थुनिने?
किन लोकतन्त्रको झिनो
उज्यालोमा रुमल्लिने?
घर–घर, परिवार–परिवारमा
विभाजनका रेखा कोरिएका छन्।
पार्टीको झन्डा ठड्याउँदै,!
आशाका हरिया बुट्टा चुँडिएका छन्।
न्यायालय र संवैधानिक अंग,
बिक्री भएका छन्।
हाम्रो पार्टी सदस्यता छ
तर, विवेक छैन।
नेताका निजी स्वार्थमा
अपराधलाई हाम्रो आन्दोलन मानेर,
किन आफ्नै भविष्य जलाएका छौं।
उसको अपराधको जिम्मा
किन लिनुपर्ने हामि
सहरमा, अनि गाउँमा,
नेताको काला अध्यायले
हाम्रो टाउको थिचिरहेको छ।
हामी किन प्रतिरक्षामा छौं
किन प्रश्न उठाउँदैनौं ?
किन मान्छौं, पार्टी नै सर्वस्व
नेता नै देवता ।
गाउँका चिया पसल र चौतारीमा
उनका काण्ड भुटानी शरणार्थी,
वाइडबडी,गिरिबन्धुका कुरा उठ्दा
पार्टी सदस्यले शिर किन निहुराउनुपर्ने?
उसको बचाउका लागि
किन आफ्नो स्वाधीनता गुमाउनुपर्ने?
किन बोक्छौ हामी यी कलंकको
डुङ्डुङ्ती गनाउने बोझिलो भारी?
किन झुकाएका छौं हाम्रा आँखा
नेताहरूको अपराधमा?
देश बनाउने हो भने,
त्यागौं दलका सदस्यता,
टेकौं स्वाधीनताका पाइला
चिया पसलका र चौतारीका
कथाहरुलाइ वास्तविकतामा बदल्न!
बदल्नुपर्छ यो खेल,
नेताहरूका कर्तुतलाइ खोलेर
हाम्रो मौनतालाई तोडेर।
कार्यकर्ता भन्दा हामी नागरिक हौं !
कार्यकर्ता बन्ने चक्करमा,
असल नागरिकबाट हामी विमुख किन?
यो नेतातन्त्रको घेरा तोड्न?
जागौं अब सबै
नागरिक भएर
विचार भएर
उठौ अन्धभक्तको भ्रम बाट ।
सक्षम राजनीतिमा आउनै पर्छ,
राष्ट्रिय झन्डा फहराउँदै,
पार्टीको बन्दीलाई तोड्दै,
समाजको पुनर्जागरण गरौं।
स्वतन्त्र बनौं , पार्टीको झोला फालौ,
छलफल गरौं, नयाँ बाटो खोजौं
अब जागऔं।
लेखकको सम्वन्धमा