January 18, 2026, Sunday
२०८२ माघ ५, आईतवार
कविता: प्रिय कमरेड

कविता: प्रिय कमरेड

✍️  तेज बिक्रम वलि

प्रिय कमरेड!

घरभित्रका बेमेलले

चुलो छुट्टिए, बाटो अलग्गिए,

तर मूल घर त एउटै हो नि!

जात फरक परे पनि

रगत एउटै शिराबाट बग्दैन र?

 

लेटरहेड बदलिन सक्छ,

नाम फरक पर्न सक्छ,

तर विचारको मूल जरो त

अझै उही छ नि, कमरेड!

त्याग, बलिदान र बर्गीय धरातल

हाम्रो साझा कथा हो,

यो माटोमा बगाएको पसिनाको गन्ध

अझै उस्तै छ।

 

तिम्रो मनले

उठाएको झण्डा पनि

क्रान्तिको रंगमै रङ्गिएको छ।

हाम्रो मनको सङ्घर्ष

अझै पनि एउटै लयमा गुञ्जिरहेको छ।

बिर्सिएका थियौँ होला,

तर सम्झनु,

हाम्रो सपना एउटै हो नि, कमरेड!

 

आउनुहोस्,

भेटिदा छुटिएका ती भावना

पुनः गाँसौं,

तर्क-वितर्कका धारमा

पुनः विचारलाई माझौं।

शब्दका बीचबाट उमारिएको

एउटै आवाज बनाऔं,

भोगेका ती कथा,

साँचेका ती व्यथा

साटेर फेरि जोडौं।

 

यो क्रान्तिको यात्रामा,

जहाँ बाटो अलमलिन सक्छ,

तर गन्तव्य एउटै छ।

हामी फेरि भेट्नेछौँ,

अझै बलियो, अझै शसक्त,अझै एकताबद्ध।

उठौं, कमरेड,

हाम्रो सपनालाई पुनः जिउँदो बनाऔं,

सहिद बेपत्ता घाइतेको मर्म बुझौं,

जनयुद्धलाई संस्थागत गरौं,

हाम्रो आवाजलाई एकताको स्वर दिऔं

समाजबादी मोर्चा सफल पारौं।

एकतामा नै बल छ,

अनि बलमा नै क्रान्ति!