May 13, 2025, Tuesday
२०८२ बैशाख ३०, मंगलवार
सवारी ज्यान मुद्दामा झाँक्री प्रकाश भुजेल पुर्पक्षका लागि कारागार चलान

सवारी ज्यान मुद्दामा झाँक्री प्रकाश भुजेल पुर्पक्षका लागि कारागार चलान

सवारी ज्यान मुद्दामा झाँक्री प्रकाश भुजेल पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत काठमाडौँका न्यायाधीश खेमराज भट्टको इजलासले आइतबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

गएको २८ कात्तिकमा काठमाडौंको शंकरापुरमा झाक्री प्रकाश भुजेलले चलाएको बा १९ प २६०५ नम्बरको कारले बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटी र उनकी पत्नी किसानुमाया नगरकोटी गम्भीर घाइते भएका थिए । उनीहरूलाई तत्काल शंखरापुरस्थित अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि ग्रान्डी अस्पताल लगिएको थियो। दुवै जनाको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

दुर्घटनापछि कार त्यहीँ छाडेर भागेका झाँक्रीपछि बौद्ध प्रहरी वृत्तमा उपस्थित भएका थिए। उनलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरेको थियो। तर दुवै जनाको ज्यान गएपछि पीडित परिवारले आर्थिक सहायताको माग गर्दै शव समेत बुझ्न मानेका थिएनन्। झाँक्रीले मृतकका परिवारलाई आर्थिक सहायता दिएपछि शव पोस्टमार्टम गरेर परिवारलाई बुझाइएको थियो।

मृतक परिवारको तर्फबाट अनिल नगरकोटीले सवारी ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएका थिए। अनुसन्धान सुरु भएको २५ औँ दिनमा झाँक्री भुजेललाई थुनामा पठाउने आदेश भएको हो।