May 13, 2025, Tuesday
२०८२ बैशाख ३०, मंगलवार
‘ढिस्कानो पत्रकार फलानो गुटको हो’

‘ढिस्कानो पत्रकार फलानो गुटको हो’

यादव उपाध्याय
सल्यान

चैत ०९, सल्यान । चर्चित लेखक जोसेफ सुम्पेटरले लेखेका छन – ‘यो दुनियाका बुद्धिजिबी भनेका पत्रकार मात्र हुन ।’ समाजलाई चेतना प्रवाह गर्ने, जानकारी दिने, दायाँबायाँ नगर्ने र उत्प्रेरित गर्ने माध्यम भएकाले नै पत्रकारहरुलाई बुद्धिजिबी भनेका होलान सुम्पेटरले । गलतलाई गलत र सत्य लाई सत्य लेख्ने आँट भएको जीव र उस्को धर्म भएकोले नै पत्रकार बुद्धिजिबी भएको ठोकुवा सुम्पेटरले गरेका होलान भन्ने अनुमान गर्न सकिन्छ।

बुद्धिजिबी त्यो बर्ग हो, जस्ले बस्तुपरक सत्य बोल्ने आँट गर्दछ । सत्यलार्इ खोतल्छ र सापेक्षित रुपमा समाजको सन्तुलित उपयोगमा सत्यको प्रयोग गर्दछ । धार्मिक ग्रन्थ महाभारतमा बुद्धिजिबी सम्बन्धि एउटा श्लोक छ – ‘अधर्मरुपो धर्मोही, कश्चिदास्ती नराधिप । धर्मश्चा धर्म रुपोस्ती, तच्चगेय वियाश्चिता। अर्थात समय र परिस्थिती अनुसार धर्म – अधर्म र अधर्म– धर्म बन्न सक्छ। यो कुरा लाई खोतलेर समाज उपयोगी बनाउने जीव नै बुद्धिजिवी हो ।

सत्यता, बस्तुपरकता, बिश्वसनियता, जनहित, तटस्थता, जवाफदेहिता र स्वच्छता पत्रकारिताका आचारसंहिता हुन। आगोको धर्म पोल्नु, पानीको धर्म बग्नु भएजस्तै पत्रकारिताको धर्म माथी उल्लेखित सर्तहरुको रक्षा गर्दै कर्मयोगमा लागिरहनु हो।

वैदिक शास्त्रहरुले नारद रुपि पात्रका रुपमा समाजमा पत्रकारिताको प्रतिनिधित्वको व्याख्या गरेका छन । उनी बर्गिय स्थानका दृश्टिले देवगणका नजिक देखिए पनि वस्तुपरक सत्यलाइ अङ्गाल्ने र पर्गेल्ने कुरामा राक्षस गणहरुको पनि रक्षा गरिरहेको र गर्ने प्रयत्न गरिरहेको भेटिन्छन।

स्वाभाविक रुपमा बहुआयामिक र बहुवर्गिय समाज अनि लोकतान्त्रीक चरित्र बोकेको राज्य व्यवस्था भित्र हाम्रा ( पत्रकारका ) चिन्तनहरु पनि बहुआयामिक हुनु सान्दर्भिक हो । समाजमा बिकसित भैरहेका हरेक बिचार, सिद्धान्त र जिवन दृस्टिकोण बाट हामी कतै न कतै प्रभावित छैनौ भन्नू गलत हुन्छ तर यति भन्दै गर्दा हामिले हाम्रो धर्म बिर्सदा सुम्पेटरले हामिलाइ दिएको पदबिको अपमान हुने सम्भावना शत प्रतिशत छ।

पत्रकारिता राज्यको चौथो अङ्ग हो किनकी उ अरु तिनवटा अङ्ग जस्तो स्वार्थी र सापेक्षित कुटिल छैन। पत्रकारिता सधै सत्ताको बिरुद्ध छ किनकी उ सत्य र सङ्कटापन्न र किनारा लगाउन खोजियका सोच हरुको पक्षमाछ।पत्रकारिता सधै निशानामाछ किनकी उ अन्य सोच हरुभन्दा अग्लो छ ।यी सत्य हरुलाइ अङ्गिकार गर्ने प्रयत्न हामिले कति गरेकाछौ रुपत्रकारिता र हामी पत्रकारको मुल्याङ्कन यहिनेर देखिने हो।

पत्रकारहरुका बारेमा आज समाजको तल्लो एकाइ सम्म एउटा आशङ्का र प्रश्न छ – फलानो पत्रकार फलानो बिचारको हो । पछिल्लो चरणमा अझ त्यो भन्दा खतरनाक प्रश्न जनमानसमा छ – ‘ढिस्कानो पत्रकार फलानो गुटको हो ।’ समाजको चौथो अङ्ग पत्रकारिता र पत्रकार माथिको यो अबिश्वास स्वच्छ समाजका लागि कोरोना जत्तिकै घातक छ। हामिले ( पत्रकारले ) अङ्गालेको जीवन दृस्टिकोण जो सत्य र तटस्थतामा आधारित छ त्यस्का लागि प्रलयकारि छ। यो आशङ्काको समीक्षा जरुरि छ । हामिले हाम्रो धर्म छोड्दै गर्दाको परिणती भोग्ने सम्भावना दोव्वर बढ्दैछ ।

महान आन्दोलनहरु समाज लाई अग्रगति दिनलाइ निर्माण हुन्छन। समाज बिकाशका क्रममा पत्रकारिताको आन्दोलन पनि त्यसरि नै बिकाश भएको हो। सत्ताधारी बर्ग जो बिभेदकारी हुन्छ, त्यस्लाइ खवरदारी गर्न र सिमान्तकृत बर्ग जो मुखरित हुनसक्दैन त्यस्को बैशाखी बन्ने उदेश्य पत्रकारितामा निहित छ । पत्रकारिताको बाटो दुर्गम र अप्ठ्यारो छ, जो साधना बिना छिचोल्न सजिलो छैन । चिन्तनशिल र कठोर मानबिय दृस्टिकोण बिना त्यस्को टास्क पूरा हुदैन ।

आज हामिले ( पत्रकारले ) जे गरिरहेका छौ, त्यो पत्रकारिता भन्दा पृथक छ । हाम्रो जिजिबिषाको लागि आफ्नै स्वत्वको बिक्री हामी बाटै भैरहेको छ ।समाजलाइ डोर्याउनु पर्ने उर्ध्व चिन्तन बाट खस्कियर हामी अन्तै बाट डोरिइरहेका छौ । पत्रकारिताको मुखुण्डो भिरेर सत्यको लिलामिमा हामी सहभागी छौ र कुनै एकपक्षिय अभिस्ट प्राप्तिको साधन बनेका छौ । आज पत्रकार माथी भैरह्रेका आक्रमण, नमिठा टिप्पनी र दुर्भावनाहरुको आविस्कारक केही मात्रमा हामी आफै हौ।

माथी भनिए झैं महान आन्दोलनको उद्धेस्य प्राप्तिको बाटो कठोर साधना नै हो । हाम्रो साधना भनेको सत्यको उद्घाटन, अन्यायको प्रतिरोध र तटस्थता हो।हामी देख्दा मान्छे नै हौ,तर त्यो मान्छे जो पत्रकार आचारसङ्हिताको हतियारले लैस होस र त्यसैमा गतिशिल होस, त्यो बन्ने प्रयत्न गरौ। साधना भन्दा सजिलो त आराधना नै हो । आराधना गर्ने कि साधना ? बल हाम्रै कोर्टमा छ ।

( लेखक सल्यान जिल्लामा रहेर लामो समय पत्रकारिता गर्नुभएको बरिष्ठ पत्रकार हुनुहुन्छ । नेपाल पत्रकार महासंघको देशभर हुन लागेको आसन्न निर्वाचनका सन्दर्भमा उहाँको यो आलेख हामिले प्रकाशन गरेका हौं । )