कर्णाली क्षेत्रका लोकगीतमा राष्ट्रवाद
✍️मनोहर लामिछाने
(क) अग्रभाग :–
आर्यावर्तको मानसखण्डमा पर्वतहरूमा श्रेष्ठ मानिएको २२,०२८ फिट अग्लो बहुधार्मिक आस्थाको केन्द्र कैलाश निकट रहेको मानसरोवरबाट दक्षिणतर्फ बग्ने मयूर आसन वा मयूरको मुखबाट निस्केको विश्वास गरिने कर्णाल बाजाको आवाजझैँ आवाज आउने गरी बग्ने नदीको नामबाट कर्णाली प्रदेशको नामाकरण गरिएको छ ।
कर्णाली नदीलाई जडानमा माप्चाचुङ्गो, खसानमा कर्णाली र भारतमा सरजु/सर्ज्यू र धाधरा नदीको नामले चिनिन्छ । कर्णाली वा सिञ्जा सभ्यता निर्माणमा यो नदीको महत्वपूर्ण भूमिका रहेको छ । कर्णालीको प्रसवण क्षेत्रको वरिपरि र यस नदीमा समाहित हुने मुख्य मुख्य १४८ वटा नदी, खोला, गाडका आसपासमा प्रारम्भिक मानव कविलाहरूको प्रारम्भिक वस्ती मात्र बसेन, त्यहीबाट एउटा सभ्यता वा संस्कृति निर्माण भयो । यसरी सिञ्जा सभ्यता वा खसानी सभ्यताको आधार स्तम्भ नै यही नदी हो भन्दा अतिसयोक्ति हुँदैन ।
कर्णाली नदीलाई आधार मानेर वर्दियाको दानुवा ताल (वढैया ताल) देखि कैलाशको मानसरोवरसम्म व्यापारिक गतिविधिमा संलग्न मानव कविलाइहरू तथा चिनियाँ र भारतीय तीर्थयात्री एवम् चिन्तकहरू मात्र होइन, दक्षिणतर्फका शासन सत्तामा परिवर्तन हुँदा भएको ज्यादतिलाई सहन गर्न नसकी आत्मसुरक्षा र कैलाशको पवित्रताको आकर्षणले यो क्षेत्रलाई प्रभाव गर्यो । जुम्लाका जालन्धरी तथा पाल वंशले उन्नत गरेको एउटा संस्कृतिले मानिसलाई प्रभावमा पारेको थियो । सिञ्जा सभ्यता निर्माण पूर्व नै निर्माण भएको कैलाशमण्डलले छोडेका कयौँ पदचापलाई कर्णाली सभ्यताले आफूलाई समाहित गरेको छ । दक्षिणको गङ्गा र सिन्धुबाट यो क्षेत्रमा प्रवेश गरेको गराएको विविध संस्कृति र कर्णाली क्षेत्रकै रैथानेबाट निर्मित संस्कृतिको सङ्गमले यस क्षेत्रमा प्रचलित लोकगीत सङ्गीतमा समेत प्रभाव पार्यो ।
हिमालयलाई देवतुल्य पुज्य मानिने विश्वासका साथ आफ्नो आस्था प्रकट गर्ने कर्णाली परम्परामा त्यही हिमालको तलतिर रहेका सुरम्य पाटनहरूलाई क्रिडाभूमि बनाई आफ्नो बासस्थान बनाउने वाजलाई प्रतीक मानी उभय लिङ्गीय रुपमा प्रयोगमा ल्याउने बाज, बाजै, साई, सुवा, साईबाज, बावरी, हजारी, पानका फूल, गोलाइचीजस्ता शब्द प्रयोग गर्ने भागवत प्रेमको आदर्श, मूल्य मान्यताबाट प्रेरित लोकपरम्पराबाट सिर्जित यस क्षेत्रका लोकगीतहरूले आफ्नो क्षेत्रको मर्मबोध र पहिचान दिने गर्दछन् । यही पवित्र क्षेत्रका विभिन्न स्थानमा रहेका राज्यहरू आफ्नो राज्य निर्माण, आफ्नो प्रभुत्व कायम गर्न वा आफ्नो पहिचानलाई उजागर गर्न विभिन्न कालखण्डमा विगतदेखि वर्तमानसम्मका लोकस्रष्टाहरूले आ–आफ्ना गीतबाट उद्घोष गरेको पाइन्छ । आफ्नो माटोप्रतिको अघात स्नेह र सम्मान मात्र व्यक्त गरेका छैनन् । विभिन्न प्रकारका दमन, उत्पीडनको विरोध गरेको पाइन्छ । लोकसाहित्य श्रृति परम्पराबाट दर पिँढीमा हस्तान्तरण हुने भएको हुँदा लेख्यसाहित्य जस्तो जानकारी पाउन कठिन हुन्छ । त्यसैले आफ्ना अग्रजहरूबाट हस्तान्तरित भएका कुराहरू उजागर गर्न त्यति सजिलो भने छैन । कर्णालीवासीहरूले इतिहासका कालखण्डमा राष्ट्रवादी भावनाले ओतप्रोत भएका गीतहरूबाट त्यस क्षेत्रका बासिन्दालाई मात्र होइन, सिङ्गो देशलाई जागरुक बनाउन गीतहरूबाट प्रयास गरेको पाइन्छ । आफ्ना कर्णप्रिय स्वरबाट गाउँ घरका वन, जङ्गल, मेलापात, अर्वपर्व, राम रमाइलो, मेलाजात्रामा लोकगीतमार्फत् राष्ट्रको माटोप्रति आस्थावान बनाउन आफ्ना सिर्जनामार्फत जागरुप बनाउने प्रयास गरेको पाइन्छ ।
रवि नपुग्ने ठाउँमा कवि पुग्छन् भन्ने मान्यताजस्तै गाउँ समाजमा खेती किसानी गर्ने साधारण मानिसले पनि लोकगीतका ठेलो र टुप्पो जोड्दै राष्ट्रवादका आवाज घन्काएको पाइन्छ । यस्ता लोकगीतहरूले जनतालाई जागरुप बनाउँदै निकम्मा र च्यूत हुनबाट बचाई जिम्मेवार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् । चाहे राज्यका उत्पीडन हुन् या विदेशी उत्पीडन हुन् तीतो भए पनि सत्य बोल्नुपर्छ भन्ने मूल मन्यतानुसार सर्जकहरूले आफ्ना सिर्जनाहरूलाई आफ्नो बुद्धि, ज्ञान र प्रज्ञा प्रदान गरिरहेका हुन्छन् । देख्दा, सुन्दा सामान्य लागे पनि त्यस्ता गीतहरूले देश, क्षेत्र, भूगोलको माटोप्रतिको अघात ममता, स्नेह, आदर्शको भाव व्यक्त गर्दै भावी पिँढीलाई लोककल्याणमा लाग्न साधकको तेस्रो नेत्रले मूल्यबोधसहितको नवीन सन्देश प्रदान गरिरहेको हुन्छ । देशभक्ति र राष्ट्रभक्तिले ओतप्रोत गीतका सन्देश जनताकै शैलीमा जनतालाई सशक्त र जागरुप बनाउन प्रेरित गर्दछ । कर्णाली क्षेत्रमा जडान, खसान, मगराँत आदि क्षेत्र र यी बिच केही असमान र समानता हुँदाहुँदै पनि लोकवाङ्मयमा राष्ट्रभावमय लोकगीतको यस आलेखमा चर्चा गरिनेछ ।
(ख) कर्णाली क्षेत्र अर्थात खस राज्य :–
कुनै समयको बहुचर्चित, शक्तिशाली, विशाल खस राज्यको राजधानी हाल पनि कर्णालीको जुम्ला सिञ्जा भएको हुँदा त्यो समयको खस राज्यले निर्माण गरेका लोकवार्ताका विविध क्षेत्रको प्रयोगभूमि हालको कर्णाली क्षेत्रलाई मान्न सकिन्छ । तत्कालीन खस राज्यको विशाल क्षेत्र बारेमा – अशोक चल्लको समयमा बोधगयाको अभिलेखमा ‘सवालाख पर्वत खस देशका राजा’ (उपाध्याय : २०७४ : १३०) यस्तै प्रा.डा. सूर्यमणि अधिकारी लेख्छन्, ‘गयामा प्राप्त एक अभिलेखमा नागराजका छ्रैटौँ उत्तराधिकारी सम्राट अशोक चल्ललाई” सपादलक्ष शिखरीक्षमापाल चूडामणि’ (सवालाख पर्वत देशका राजाहरूका मुकुटमणि) भनिएको छ । (अधिकारी : २०६१ : १७)(२) खस राज्यको सीमा बारेमा ‘कर्णाली प्रदेशलाई’ स्वर्णप्रस्थ मानिन्थ्यो । (पृ. २१२) खस साम्राज्यको सीमाना पूर्वमा बेत्रावति र त्रिशुली गङ्गा पश्चिममा स्पिति लदहौल, लवणिका, दक्षिणमा गङ्गा नदी र उत्तरमा तिब्बतसम्म थियौँ ।’ (देवकोटा : २०६४ : २१३)(३) सन् १२५१ मा राजा भएका अशोक चल्ल वा खस राज्यको प्रभाव बारेमा ………–‘प्रभाव मानसरोवरदेखि बोधगयासम्म र कुमाऊँ गढवालदेखि जावेश्वरसम्म देखिन्छ ।’ (पोखरेल : २०५४ : ५७२।५७३) (४) यस्तो विशाल भूमि खस राज्यमा समाहित गरेको कर्णाली क्षेत्रले निर्माण गरेका सांस्कृतिक विरासतलाई राष्ट्रले नै गौरव गर्ने विषयहरू रहेका छन् । हालको जुम्लाको लामाथाडा यसको राजधानी भए पनि विशाल खस राज्यले माथि उल्लेखित आफ्नो भूमिलाई शासकीय स्वरुपले लामो समय शासन गर्न असमर्थ भए पनि यसले निर्माण गरेका सांस्कृतिक पद्धतिलाई शासकीय स्वरुपको खासै फरक पारेन । त्यसैले राजनीतिक परिवर्तन जति सजिलै हुन्छ, सांस्कृतिक परिवर्तन हुन लामो समय लाग्छ । यसरी कर्णालीको प्राचिन समयदेखि प्रयोगमा ल्याइएका लोकगीतहरूलाई आफै लोकलयमा अझैसम्म जीवित रहेका छन् । त्यसैले त जुम्लीहरू अझैसम्म यस्ता गीत गाउँदै आफ्नो अतीतको स्मरण गर्दैछन् :–
भातु खाया शोमान साईले, ताउली हाल्या कुम्ला ।
जीति आयो गोरख्याय, जनिमार जुम्ला ॥
गोर्खा वडी आयो भनि, साइ वाइगया भोट ।
नौला धजा हाल्न लाग्या, चन्दननाथका कोट ॥
(लामिछाने : २०७२ : ३३)(५)
जुम्ला राज्यलाई बहादुर शाहका समयमा आक्रमण गरेर जुम्ला राज्य गुमाउनु पर्दाको पीडा अझै व्यक्त गरिँदै गरिन्छ । विशाल खसराज्य खण्डिकरण हुन गई २२ राज्य बने पनि यो सङ्ख्या विभिन्न समयमा घटवड हुँदा ३९ वटा साना ठूला राज्यको नाम पाइन्छ । यही खस राज्यको वास्तविक उत्तराधिकारी जस्तै वर्तमानको कर्णाली क्षेत्र त्यसक्षेत्रका प्रचलित विभिन्न लोकगीतमार्फत् राष्ट्रवादको आदर्शअनुरुप त्यहाँका कुना कन्दरामा मानिसलाई विचारप्रवाह गरेको पाइन्छ ।
(ग) राष्ट्रवादको प्रयासमा कर्णालीका लोकगीत :–
सरल अर्थमा राष्ट्रवाद भनेको आफ्नो राज्य, भूगोल, सीमा, माटो, भूभागप्रतिको सम्मानपूर्वक अग्रस्थानमा राखी अघात माया ममता देखाउनु हो । यसलाई यसरी पनि भन्न सकिन्छ, आफ्नो इतिहासप्रतिको गर्वबोध गर्नु नै राष्ट्रवाद भन्न सकिन्छ । आफ्नो अतीतमा गौरव गर्ने राष्ट्रवादीहरू परिवर्तनलाई समेत स्वीकार्ने ल्याकत राख्दछन् ।
एउटा कुनै वर्ग, जातजाति वा व्यक्तिभन्दा राष्ट्रवादीहरूले आमजनतालाई नै महŒव दिएको पाइन्छ । त्यसैले त कर्णालीका कतिपय राज्यहरूको संरक्षण गर्ने महानायकको रुपमा त्यहाँका पैकेलाहरू अझैसम्म त्यस क्षेत्रको लोकले अझैसम्म सम्मान गरेको पाइन्छ । राज्यका स्रोत साधनहरूमा व्यक्तिगत कुदृष्टि नपरी सामूहिक प्रतिवद्धताका साथ आफ्नो योगदानका लागि अगाडि सर्न पछि पर्दैनन् । राष्ट्रहितलाई सधैँ सर्वोपरि मान्ने मानिस नै एउटा राष्ट्रवादी व्यक्ति बन्न सक्दछ । सामाजिक न्यायलाई प्रखर आवाज उठाउने र आफ्नो सीप क्षमता प्रदर्शन गर्दै अरुलाई पनि क्षमता, सीप, जागर पैदा गर्न हरतवरले प्रोत्साहन गरिरहने व्यक्ति असल राष्ट्रवादी हो ।
देशको अस्मिता रक्षाको लागि आफूलाई उभ्याउने अर्जुनदृष्टि एउटा राष्ट्रवादी व्यक्तिमा हुनै पर्दछ । निश्चित घेरामा मात्र सीमित नभएर वृहत्तर रुपमा राष्ट्र, राष्ट्रियताको पहरेदार बन्न पछि नपर्ने र राष्ट्रको बहुआयामिक विकासका लागि सत्य तथ्य व्यक्त गर्ने व्यक्ति नै एउटा राष्ट्रवादी व्यक्ति हो । कर्णाली क्षेत्रमा प्रचलित लोकगीतहरूमा यिनै मूल्य, मान्यता, आदर्शले ओतप्रोत भएर चेतन अवचेतन मन मस्तिष्कले गाउन्याराहरूले आफ्ना गीतबाटै एउटा सन्देश दिइरहेका हुन्छन् ।
जस्तो :–
(१) बाटो छ यो वण्डालको, न मात्ति थोराय ।
वर पर हेरी हिड्यै, ठुलाका छोराय ॥ (योगी : २०१३ : ५३९)(६)
(२) तेल त्याइछ, काँगियो त्याइ छ, कोर नन्द केश ।
दाज्यूको सम्पत्ति खानु, वैना पर देश ॥ (लामिछाने : २०७४ : २३)(७)
(३) छोरालाई स्कुलमा, छोरीलाई मेलामा ।
म छोरीको आँसु खस्यो, दैलो ठेलामा ॥ (गिरी : २०६६ : १७९)
यी माथिका कर्णाली क्षेत्रमा गाइने लोकगीतहरू हुन् । यी गीतहरूले त्यसक्षेत्रका केही सामाजिक प्रचलनको बारेमा जानकारी गराउँद छन् । यहाँ कथित ठूला वडाको रवाफ, लिङ्गीय असमानता र विभेदको बारेमा रखवारी र चित्रण गरिएको छ । एउटा राष्ट्रवादी व्यक्तिले विभिन्न कुरीति, विभेदको विरुद्ध आफ्ना आवाजलाई बुलन्द पार्नुपर्दछ । यहाँका वन, जङ्गल, मेलापात, अर्वपर्वमा यस्ता राष्ट्रियताले ओतप्रोत भएका गीतहरू गुञ्जने गर्दछन् ।
राष्ट्रवादीहरूको भूमिका आफ्नो देशप्रतिको प्रेम, भक्ति र श्रद्धाका साथ देश रक्षाको लागि हिक्मत, त्याग र बलिदानी भाव समेत प्रकट हुने गर्दछ । यस्ता भावनाले जनतालाई जागरुक बनाउन र सामाजिक न्यायका लागि उत्प्रेरणा गर्ने कार्य गर्दछ । राष्ट्रवादीहरू आफ्नो भूगोलमा मात्र होइन असमानता अन्यायका विरुद्ध विदेशी प्रभूत्ववाद र हैकमवादका विरुद्ध गीतहरूबाटै विरोध जनाउन पछि पर्दैन । जस्तै –
(१) खोला खोला नहिँड्नु होला,
अम्रिकाले खसाउँछ बम गोला ।
(लामिछाने : २०७४ : २१)
(२) कानैमा बन्दुक बोकी, काँ जान्छौँ मर्माली ।
सीमा मिच्ने भारतले, खाँदैछ कर्णाली ॥
(लामिछाने : २०७२ : १९४)
यसरी गाउन्याहरूको अर्जुनदृष्टि आफ्नो क्षेत्रमा मात्र सीमित नभएर राष्ट्र र जनताको पक्षमा गाउने गर्दछन् । यस्तै राष्ट्रवादीको मात्र होइन, विदेशी, स्वेदशी अभावका विरुद्ध दूरदृष्टि कस्तो हुन्छ भने देश बाहिरका थिचोमिचो, ज्यादतिलाई आफ्ना गीतबाट विरोध जनाउन पुग्दछन् । माथिका २ वटा गीतहरूमा थियतनाममा भएको अमेरिकी आक्रमण र भारतीयहरूले नेपालका विभिन्न स्थानमा सीमा मिचेको र विश्वकै ठूलो र सस्तो रुपमा विद्युत उत्पादन हुने कर्णाली जलविद्युत परियोजनालाई भारतले हडपेको विरोधमा यस्ता गीतबाट नेपाललाई सचेत बनाउँदै गरेको पाइन्छ । स्मरणरहोस्, पञ्चायती शासनकालमा भारतले जति प्रयत्न गरेपनि नेपाल आफैले निर्माण गर्ने भनि भारतीय प्रस्तावलाई अस्वीकृत गरेको थियो । तलका लोकगीतले विगतदेखि वर्तमानसम्मको कर्मचारीतन्त्र र न्याय प्रणालीको यथार्थ तस्विर दिन्छ :–
हाकिम भया, चोर चहारी, झकडिया मार्न्या
न्या छैन, निसापै छैन, को जिन्न्या को हार्न्या ॥
(गिरी : २०६८ : १०९)(९)
लछीका घरभरि सुन्छ, मइती पितलै नाई ।
अदालतका पल्तिरौनो, हुनी शीतलै नाई ॥
(ऐ.ऐ. १११)
एल्सी, लाउडा, चेज एयर सुत्केरी ट्यावलेट ।
ठेक्का पट्टा, कमिशन, पार्टी फोरा फोर ॥
कस्ता तिमी ठूला नेता, दुर्दशा देशले ।
विगार्यौँ कि ? सपार्यौँ देश ? नक्कली भेषले ॥
(लामिछाने : २०६७ : ४३)(१०)
जुम्ला बजार सहर भैगो, अरु गाउँ उस्तै छन् ।
जिम्मुवाल ठेकेदार गाउँका, जन्तालाई चुस्तई छन् ॥
(दाहाल : २०७३ : ५८)(११)
काँग्रेसदेइ कम्निष्टै बढि, तर फुट्याका छन् ।
ज्या ज्या विचार बोक्या पनि, जनता लुट्याका छन् ॥
(ऐ. पृ. ५६)
ललापाटन, ल्हासा घोडा, चैत्या कटुवाल्या ।
मैरी भन्न्या भोट्या जाड्या, भेडा रखवाल्या ॥
(जोशी : २०७८ : ९७)(१२)
गोठालाले घाँसु काट्यो, औलेका मालुको ।
ह्ृदयका ढुङ्गो छ कि यी गाउँका ठालुको ॥
सुर्खेत मसुरी खायो, लालु मेरी गाईले ।
छोरा नाति विदेशैका, रक्षा गर्या माइले ॥
कोइ नहुन्या दरा खोला, मन किन डुल्दो हो ।
फूल लाउने विदेश बाइगो, फूल किन फुल्दो हो ॥
बरेली रेलमा बसी, गुड चना खाँदैछु ।
साई भन्दी हौँ घर आइज, म बम्बै जाँदैछु ॥
कर्णाली गाउँ घरमा घन्कने माथिका लोकगीतहरू ठाडीभाका, तेर्छीभाका, बर्ख्या गीत, हिउँद्या गीत, दरी, न्याउल्या भाकामा जसरी पनि गाउन सकिन्छ । यी प्रतिनिधि गीतहरूले वर्तमान नेपालको न्याय, प्रशासन, भ्रष्टचारका विभिन्न प्रसङ्ग, जनताहरूमा भएको उत्पीडन र अन्याय, विदेशी भूमिमा श्रम बेच्नुपर्ने बाध्यताका बारेमा उल्लेख गरेको पाइन्छ । एउटा राष्ट्रवादी सर्जकले जनतालाई सजक बनाउन यसरी पनि गीतबाटै रोष प्रकट गर्दछन्, जस्तै –
देश विग्रिगो लथालिङ्ग, पेशा छ मन्दीमा ।
नेपाल देश ठगी खायो, सुगौली सन्धीमा ॥
कान हुन् कि कानधारा हुन् कि कइको मैना गाउने ।
लक्ष्मणपुर बाँधले गर्दा, जनता सास्ती पाउने ॥
लेखका सिमसिमे खोली, काल्च्चा कराउँछ कि ?
सीमा मिच्तै भारतले, सिक्किम बनाउँछ कि ?
अम्रैका हाँगाका दाउरा, दियालो झर्कैको ।
सुस्ता हाम्रै, लिपु हाम्रै, चकचकी अर्कैको ॥
बाज तेरा माइतैका पेवा, कैले पोल्टा पार्यो ।
तराईका मैदानी सीमा, त्यै भारतले खायो ॥
विदेशी दानका पैसा, नेताका गोजीमा ।
गरीब शोषित, सोझा साधा, मुक्तिमा खोजीमा ॥
मर्म जिउली खेती लाउने, कैन्गाडा उकालो ।
जन्ता मार्ने छलछाम गर्ने, त्यै हो कि सुकालो ॥
यी माथिका लोकगीतहरूले मूल्य चेतनासँग गाँसिएका जनता र राष्ट्रले भोगेका तीतो यथार्थ हुन् । यस्ता अनगन्ती गीतहरू समाजमा कसरी सिर्जना हुन्छन् ? किन सिर्जना गरिन्छन् ? यसले समाजलाई बुझ्न सजिलो हुन्छ । मानिसले अग्रगमनको अपेक्षा गरेको हुन्छ । शासन सत्तामा रहेकाबाट जनताले आफ्नो अपेक्षाअनुसार व्यवहारमा त्यस्तो नपाएपछि एउटा सुदूर गाउँको भुक्तभोगी वा सवार्ल्टन वा पैकेलोबाट यस्ता गीतहरू कथिन्छन् र लेखिन्छन् । यस्ता गीतहरू यथार्थवादी जीवन भोगाइका पर्याय हुन् ।
(घ) उपसंहार :–
राज्यका विभिन्न क्षेत्रमा रहने मानिसहरूको आ–आफ्नो लोक संस्कार, जीवनशैली रहेजस्तै कर्णाली क्षेत्रको लोकजीवन शैलीको आफ्नै महत्व रहेको छ । सृष्टिको प्रारम्भमा प्राकृत, शाक्त, शैव, वैष्णव दर्शनबाट प्रभावित भएर पनि खसानले निर्माण गरेको आफ्नै संस्कृतिले वर्तमानसम्म नेपाललाई छुट्टै पहिचान दिइरहेको छ । तत्कालीन विशाल खसराज्यले सिर्जना गरेका संस्कृति विरासतलाई आजसम्म पनि बचाइराखेको छ । कविलाश वा कैलाश मण्डलको मानसखण्डमा प्राकृतिक सम्पदा हिमशैल, नद, नदी संस्कृति निर्माणका आधारभूमि बन्न पुगे । यही विशाल क्षेत्रको खुम्चिएको कर्णाली क्षेत्रले वर्तमानका कयौँ अवशेष आजसम्म बचाइराखेको छ । यही सानो खुम्चिएको १० जिल्ला अटाएको कर्णालीमा जडान, खसान र मगराँत क्षेत्र भएपनि यसभित्र पनि कैलाश र सिन्धुले न्यौछ्यावर गरेको यस क्षेत्रमा अन्य विभिन्न संस्कृतिहरूले प्रभाव पारेको पाइन्छ । यो भूगोलका रैथाने र आगन्तुक मिश्रित यो भूमिका सवैको आ–आफ्नै महत्व र विशेषता रहेको छ । अति प्राचिन समयदेखि वर्तमानसम्मका देश र जनताका लागि लड्ने कयौँ योद्धा या पैकेलाहरूको राष्ट्रवादी धार, चिन्तन, कृत्यबाट निर्माण भएका लोकगीतका बारेमा चर्चा गर्दा ठूलै आलेख बन्न सक्छ । यसलाई समेट्न ठूलै ल्याकत रहनुपर्छ । भविष्यमा त्यस्तो प्रयास वा दुस्साहस पनि गर्नुपर्ने हुन्छ ।
यस आलेखमा कर्णाली क्षेत्रभित्र रहेका जातीय, क्षेत्रीय विभेदलगायत विदेशी प्रभूत्ववादीका विरुद्ध लोकगाउन्याराहरूले आफ्ना लोकगीतमार्फत् जनतालाई सचेत गराउने कार्य गरेका छन् । विगतदेखि वर्तमानसम्म त्यहाँका लोकले आफ्ना भोगाइका अनुभूति ठाडीभाका, तेर्छीभाका वा न्याउला र दरी, घाँचा वा देउडाको लयमा गाउन सकिने राष्ट्रवादी भावनाका गीतलाई यहाँ समीक्षा चर्चा गरियो । राजनीतिक रुपमा धेरै पटक परिवर्तन भए पनि जनताको जीवनस्तर जस्ताको तेस्तै भएको सन्दर्भमा राष्ट्रवादी लोकसर्जकले आफ्ना सिर्जनाबाट सत्य–तथ्य प्रकट गर्ने गर्दछन् । जसबाट त्यहाँका नागरिकहरूलाई राष्ट्रप्रति माया, जिम्मेवारीबोध र समाज हाँक्छौ भन्नेलाई सचेतना प्रदान गर्नु पनि यो लेखको उद्देश्य रहेको छ ।
चुक्या कोल चुक बन्दछ, खयरभट्टी कथ्था ।
मध्यमवर्ग राष्ट्रवादी, बन्छन् लड्ने जत्था ॥
असौज्या सगर राम्रो, तारा हुन् कि जुन हुन् ।
विदेशी प्रभुका सामु, झुक्ने नेता कुन हुन् ॥
सन्दर्भसामग्री
(१) अधिकारी, प्रा.डा. सूर्यमणि (२०६१) खस साम्राज्यको इतिहास, काठमाडौँ : भुँडीपुराण प्रकाशन
(२) उपाध्याय, प्रा.डा. श्रीरामप्रसाद (२०७४) नेपालको प्राचीन र मध्यकालीन इतिहास, काठमाडौँ : रत्न पुस्तक भण्डार
(३) गिरी, डा. जीवेन्द्रदेव (२०६६) परम्परा र परिवर्तन, भृकुटी, पूर्णाङ्क ६ (राष्ट्रिय संस्कृतिक अङ्क), काठमाडौँ : भृकुटी पब्लिकेशन
(४) गिरी, मधुसुदन (२०६८) खसानी, वर्ष १३ अङ्क १, काठमाडौँ : मध्यपश्चिम साहित्य परिषद्
(५) जोशी, सत्यमोहन (२०७८, दोश्रो संस्करण), कर्णाली लोकसंस्कृति–१, काठमाडौँ : हिमाल किताब प्रा.लि.
(६) दाहाल खत्री, लालबहादुर (२०७३) सौराई लागि राइसुवाकी, काठमाडौँ, मध्यपश्चिम साहित्य परिषद्
(७) देवकोटा, रत्नाकर (२०६४) वृहत जुम्ला राज्यको ऐतिहासिक विवेचना, काठमाडौँ : कुमार खड्ग प्राइभेट स्टडिज
(८) पोखरेल, प्रा. बालकृष्ण (२०५४) खस जातिको इतिहास, विराटनगर : उदात्त अनुसन्धान अड्डी
(९) योगी, नरहरिनाथ (२०१३) इतिहास प्रकाशन, अङ्क २ भाग १ काठमाडौँ : इतिहास प्रकाशन सङ्घ
(१०) लामिछाने, मनोहर (२०७२) लोकसाहित्य सामाजिक प्रतिबिम्व, काठमाडौँ : अक्सफोर्ड इन्टरनेसनल पब्लिकेशन
(११) लामिछाने, मनोहर (२०६७) लोकसाहित्य र संस्कृतिका केही पाटाहरू, ललितपुर : साझा प्रकाशन
(१२) लामिछाने, मनोहर (२०७४) लोकवार्ताका केही पक्ष, काठमाडौँ : व्रदर बुक्स, प्रकाशन प्रा.लि.
लेखकको सम्वन्धमा