छवि किरण अधिकारीका उत्कृष्ट १२ मुक्तक
मुक्तक बिधामा राम्रो ज्ञान भएका र साहित्य क्षेत्रमा निरन्तर कलम चलाइरहेका छवि किरण अधिकारीका उत्कृष्ट १२ मुक्तकहरु
१)
किन फर्किदैन त, बगेको खोला सोचिरहन्छु।
यो श्रृष्टिको नियम नि के होला सोचिरहन्छु।।
यस धर्तीमा, जन्मेपछि एकदिन मर्नैपर्ने अरे।
कसले बनायो, मान्छेको चोला सोचिरहन्छु।।
२)
हो, छ घाउ मुटुभित्र, छ खत मुटुभित्र।
त्यसैले होला पोल्छ भतभत मुटुभित्र।।
तिमी भन्छ्यौ, कति सजिलै भुलिदेऊ,
यहाँ बल्झिराछ सिङ्गै बिगत मुटुभित्र।।
३)
सधैँ, रोईरहने मान्छेलाई, रून सिकाए जस्तो।
र घामले, मलीन अनुहार धुन सिकाए जस्तो।।
म दुःखीलाई, दुःख के हो ? के सिकाउँछौ यार।
छोरीले आमालाई सुत्केरी हुन सिकाए जस्तो।।
४)
उपचारको नाउँमा नुनचुक छर्किएर।
ओखतिको ठाउँमा नुनचुक छर्किएर।।
मान्छेहरू विश्वयुद्ध जितेजस्तै गर्छन्,
दुखिराको घाउमा नुनचुक छर्किएर।।
५)
सपनाहरू सारा सिसाझै टुटेर गएदेखि।
र, समयले जवानी यो लुटेर गएदेखि।।
यो जिन्दगी, जिन्दगी जस्तो लाग्दैन,
हिजोसँगै हिड्ने मान्छे छुटेर गएदेखि।।
६)
आज यस्तो होला त्यतिबेला,सोचेकै थिइनँ।
समयले, यसरी धोका देला, सोचेकै थिइनँ।।
हिजो फूलसरि मन मुटुमा सजाएको मान्छे,
आज काँडा भएर निस्केला, सोचेकै थिइनँ।।
७)
बनाउन पनि, अचम्मको कहानी बनाउँछन।
न त भब्य न त सभ्य जिन्दगानी बनाउँछन।।
विदेशीले डिग्री सकी स्वदेशमै जागिर गर्छन।,
नेपालीहरू खाडी जान राहदानी बनाउँछन।।
८)
छोडेर, आफ्ना साथी,भाइ सहर पसेदेखि।
फेरिएको छ लवाई खवाई सहर पसेदेखि।।
हिजो तिम्रै लागि यो ज्यान दिन्छु भन्थ्यो,
आज बिर्सिएको छ,मलाई सहर पसेदेखि।।
९)
हो,तिमी नै मेरो तन मन जीवन भन्नेले।
म मुटु तिमी चाँहि मेरो धड्कन भन्नेले।।
आज घर न, घाटको बनाएर गएकी छे,
हिजो म मुना, तिमी मेरो मदन भन्नेले।।
१०)
जिन्दगीभर तिमीसँगै नबसुँला त्यो अलग कुरा हो।
र भनेजति माया दिन नसकुँला त्यो अलग कुरा हो।।
तर भुल्न भने म तिमीलाई कदापि सक्दिन प्रिया।
हो कुनैदिन यस धर्तीमै नरहुँला त्यो अलग कुरा हो।।
११)
कहिले वार त कहिले पार बनायो।
भेटै नहुने गरी दुई किनार बनायो।।
हो म दोष त् यसैलाई, दिन चाहन्छु,
जसले,अभागी यो निधार बनायो।।
१२)
जब जिन्दगीमा कोही आए जस्तो भयो।
ढुङ्गा खोज्दा देउता भेटाए जस्तो भयो।।
त्यही मान्छे जब टाढियो नि यो दिलबाट,
तब सारा सर्वस्व नै गुमाए जस्तो भयो।।
-
मुक्तककार उहाँ छवि किरण अधिकारी
बागचौर नगरपालिका
१० पिपलनेटा सल्यान निवासी हुनुहुन्छ ।
लेखकको सम्वन्धमा