चैत्र चौबीस
चार दशक अघि
आजकै दिन
पञ्चहरू बिरूद्ध
ज्यानको बाजी लगाएको दिन
लुटको साम्राज्य चलाइरहेका
तालुदारहरूले घुडा टेकेको दिन
मेरो समाजका
निसन्देह मनहरूले
मानव जिन्दगी जीएको आभास गर्दै
स्वतन्त्रताको स्वास फेर्न पाएको दिन
चैत्र चौबीस !
नेपाली माटो
पराइहरूले लुटिरहदा
आफ्नै आँगन पनि
पल्लाघरे आएर
मेरो भन्दै खनिरहदा
आफ्नो अस्मिता लुटिदा पनि
बोल्न त के
स्वास फेर्न समेत
बन्देज गरिएको त्यो शासन
सहेन नेपाली मनले
अति होइन अत्याचार विरुद्ध
आँधी चल्यो नेपाली माटोमा
हुरीको झोक्का बन्यो
चैत्र चौबीस !
एकाध जिमुवालहरू
लुटको डण्डा बर्षाइरहेथे रैतीहरूलाई
मेची र काली अनि हिमाल देखि तराईसम्म
हरेक मनहरू दासी थिए पञ्चहरूका
शिक्षित थिएनन युवाहरू
अधिकर विहिन थिए गाउँ र सहरहरू
समानताको जग बसाल्न
मुट्ठीभरको तख्ता पल्टाउन
न्यायको एउटा योद्धा
चैत्र चौबीस बन्यो
सडक र सहर भरी
मानव साङ्लोले घेरीयो
सिंहदरबार र नारायणहिटी
भत्काइदिने त्यो साहस
नेपाली माटोमै उम्रियो
कत्लेआम गरी नरोकिएको दिन
चैत्र चौबीस बन्यो !
बडा साहेबहरू गले
अत्याचार ढलेको हल्ला चल्यो
रगतको मसीले
नयाँ किताब लेखियो
देश नयाँ बनेको झ्याली पिटियो
यो त केवल हल्ला थियो
भित्र उनै रजौटाहरु
पराइसँग घाटी जोडेर
टाक्सी लगाए नेपाली घाउमा
छयालीसको त्यो हुरी
बशमा पारे उनैहरूले
जसले जानेका थिए पञ्च बचाउन
बाहिर अधिकार दिएर
भित्र भित्रै लुट मच्चाएको दिन हो
चैत्र चौबीस !
आजको युगसम्म आउदा
त्यो दिन सम्मानको दिन
षड्यन्त्र र राष्ट्रघात बिरूद्ध
ज्वारभाटा उठाएको दिन
झुक्याएर खान पल्केका र
अल्मल्याएर लुटको राज गर्न पल्केका विरूद्ध
आगो झोस्न जानेको दिन
यो वर्तमान जन्माउन
समानता र स्वतन्त्रताको विज रोपेको दिन
अमर सपनाहरूको जन्म भएको दिन
चैत्र चौबीस !!
२४ चैत्र २०७६
खलंगा सल्यान

















प्रतिकृया दिनुहोस्