कविता:- जन्मदिन
हरेक जन्मदिन पछि
आयु घट्छ कि बढछ ?
बिबेचानात्मक प्रश्न चिन्हले
निरन्तर पच्छ्याउछ मलाई
अनि म ..
असमन्जस्यताको कुहिरोलाई पन्छ्याएर
जीवनरुपी जालो संग
जेलिन पुग्छु ..
उही जन्मदिन प्रतिक्षामा
उमेर कहाँ घट्छ र ?
आशाको जन्म हो जन्मदिन
अभिलाषाहरु संग संगै
भोगाई पनि हो जन्मदिन
म त भन्छु
सधै बढ्नुको नाम हो जिन्दगी
हरेक जन्मदिन पछि
फेरी अर्को भोगाई जिउँनुछ यहाँ
जन्मनुको अर्थ सुख दुख हो
एकटन्कार
निस्पट अन्धकारको अन्त पछि
दिन र रात हो जिन्दगी
एक प्रज्जोलित आशा हो जन्म
अभिलाषाहरु संग संगै
भोगाई पनि हो जन्मदिन
सुख र दु:खको जन्म हो जन्मदिन
जन्म पछिका हरेक पल
अनेकौ घटनाक्रमहरु क्रमबद्ध रुपमा
याद बनि थपिदै जान्छन्
जसरी चट्टानी पहाडहरुमा,
थोपा थोपा हिँउका भोगाईहरु
थपिदै जान्छ, अस्तित्वमा
सुस्तरी सुस्तरी ..जन्मदिन..
साश्वत यात्राको सुरुवाती दिन
क्रन्दन पछिको मुस्कानी यात्रा,
साना साना पैतालाको छाप संगै
आरोह अबरोहको शुभारम्भ
समस्या,समीकरण अनि समाधान खोज्न
दु;ख र सुखका संवेगहरु बोकी
हर्ष र पीडा बीच पग्लिदै,
छचल्किदै बहन्छ जीवन
सुस्तरी सुस्तरी ..
जन्मदिन…
जिन्दगीको क्षितिजको सुरुवात हो
जसरी क्षितिज देखिदैमा
यात्राको पुर्णबिराम हुन्न
त्यसरी नै
जन्मदिनको सुरुवात
जीवन यात्राको लागि सुर्योदय
जन्मदिनको पाईला
मृत्यु दिबसको लागि
सुस्तरी सुस्तरी …उज्यालोमा आएर मानिस किन ,
अन्धकारमा हराउदैछ पल पल यहाँ
जन्म स्वगतमय हुन्छन्,
जब बिषाद अनि अन्यौलहरुको जन्म हुन्छ
तब मानिस अन्धकारमा हराउछन्
यही अँध्यारो र उज्ज्यालोको
क्रमबद्ध भोगाईको प्रतिक्षा हो
जन्मदिन….
खुसी लिएर आउछ जन्मदिन
आँशु पिएर आउछ जन्मदिन
भोगाई जिएर आउछ जन्मदिन
भबिष्य कोरेर आउछ जन्मदिन
कथा हो जन्मदिन,
तृष्णा हो जन्मदिन ..!!!
लेखकको सम्वन्धमा