April 16, 2024, Tuesday
२०८१ बैशाख ५, बुधबार
प्रजातन्त्र दिवसको महत्व र आवश्यकता

प्रजातन्त्र दिवसको महत्व र आवश्यकता

७ फागुन, सल्यान। आज फागुन ७ गते हो । प्रत्येक वर्षको फागुन ७ गतेले २००७ सालको फागुन ७ गतेलाई सम्झाउँछ । वि.सं.२००७ सालको फागुन ७ गतेको दिन देशमा विद्यमान एकतन्त्रीय राणा शासनको अन्त भएर प्रजातन्त्रको प्रादुर्भाव भएको थियो । त्यसैले प्रजातन्त्र दिवसलाई राष्ट्रिय प्रजातन्त्र दिवस भन्ने गरिएको छ । यो दिवसलाई देशमा संभावनाका सबै ढोका खोलिएको दिनको रुपमा पनि लिने गरिएको छ ।

देशमा प्रजातन्त्र ल्याउन धेरै वर्ष पहिलेदेखि प्रयास भइरहेको थियो । त्यसवेलाका जुझारु व्यक्तिहरुले पर्चा पम्प्लेट र भूमिगत संगठन गरेर राणा शासनको विरुद्धमा आवाज चर्काउँदै थिए । १९९७ सालमा निरङ्कुश सरकारले चार जनालाई शहीद बनाएपछि स्थिति अरु विस्फोटक भएको थियो ।

त्यस्तैमा नेपाल भित्र र बाहिर राजनीतिक पार्टी गठन हुन थाल्यो । नेपाली कांग्रेसको नेतृत्वमा देशव्यापी आन्दोलन भयो । राजा त्रिभुवन सपरिवार भारतमा शरण लिन पुगे । राजाको त्यस कदमले राणाशासकहरुलाई ज्यादै अप्ठ्यारोमा पार्यो आखिर निरङकुश सरकारले जनताका सामु घँुडा टेक्नु पर्यो ,हार स्वीकार्नु पर्यो।

राजा त्रिभुवनबाट देश फर्केपछि फागुन ७ गते प्रजातन्त्रको घोषणा भयो । त्यो घोषणा नेपालको इतिहासमा सर्वाधिक महत्वपूर्ण घोषणा हो । त्यही घोषणाबाट नेपालीहरुले लेख्ने, बोल्ने र राजनीतिक संगठन गर्ने लगायतका सबै स्वतन्त्रताहरु प्राप्त गरेका हुन।

त्यसरी प्रजातन्त्र आएता पनि प्रजातन्त्रलाई पटक पटक प्रहार गर्ने काम भयो । बाहिर प्रजातन्त्रको माला जप्ने तर भित्रभित्रै प्रजातन्त्रको हक अधिकारमा बन्देज लगाउने प्रवृत्ति भएका राजनीतिक व्यक्तिहरुको कार्यगत एकता भयो । जसले गर्दा फस्टाउन लागेको प्रजातन्त्रमा पटक पटक ग्रहण लाग्यो ।

राजा महेन्द्रले २०१७ साल पुस १ गते पञ्चायती व्यवस्थाको प्रादुर्भाव गराएपछि प्रजातन्त्र फेरि नराम्रोसँग खुम्चिदै गयो । निर्वाचित प्रधानमन्त्री वी.पी कोईरालालाई जेलमा राखियो । संसदीय व्यवस्था खारेज गरियो । पञ्चायती व्यवस्थाको ३० वर्षको आभ्यासले प्रजातन्त्र भन्नै नहुने, उच्चारण गर्नै नहुने शब्द जस्तो भयो ।

२०४६ सालको ऐतिहासिक जनआन्दोलनले देशमा प्रजातन्त्रको पुनर्वहाली गरेको छ । प्रजातन्त्र ,लोकतन्त्र भन्ने अवस्था सिर्जना भएको छ । तर जति यसले महत्व पाउनु पर्ने हो त्यो पाउन सकिएको छैन । यो दिवसमा विदा गरियोस् भनेर आग्रह गर्ने जनताहरुको स्वरको कदर गरिएको छैन । सरकारले प्रजातन्त्र दिवसको महत्व अरु बढाउनु पर्नेमा हामी जोड दिन चाहन्छौं ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज