म हिडिरहेछु
• महेन्द्र बाबु
अस्तव्यस्त जिन्दगी
उथलपुथल मनस्थिति
अनि थोत्रा रहरहरु
संगिन समयका
निर्दयी पाङ्ग्राहरुले कुल्चिएर
च्यात्तिएको झोलाभरी
मृ’त चाहानाका
गह्रौ भारी बोकेर
म हिडिरहेछु
मेरो जिन्दगीको भिरै भिर।
हपहप पोल्ने गर्मीमा
घुमेको पंखा झै
घुमेको छ समयको सुई
थोपा थोपा चुहिएर
रित्तिएको छ जिन्दगीको भाडो ।
आधुनिक रहर
र असफलताका लाईसेन्स बोकेर
झुठा मित्रहरु
जुठा प्रेमीहरु
लुटाहा आफन्तहरुको
आघात सहदै,
पचाउनै नसक्नेगरि
पाएका दुखहरुको
मलामी जान,
म हिडिरहेछु
मेरो जिन्दगीको बगरै बगर ।
सुन्यताले म माथी
केन्द्रबिन्दु बनाएर,
जतिसुकै प्रहा’र गरोस
या सर्कसको जोकरलाई झै
एकतमासले गिज्याईरहोस
म यु द्धमो’र्चाको सिपाही झै
आफ्नै जिन्दगी
दिनरातै पहरा दिएर
स्वर्ग टेक्ने भर्यांग खोजिरहेछु ।
त्यसैले त म हिडिरहेछु
मेरा सपनाका सगरमाथाहरुमा ।
सडक र गल्लीहरुमा
फोहोरका डुङ्गुरहरुमा
जिन्दगी खोजिरहेको
भुसिया कुकुर जस्तै,
म पनि सडेको जिन्दगी भित्र
सुवास खोजिरहेछु
ज’ल्लाद चुनौती भित्र
सन्तुष्टि खोजिरहेछु,
र त म मेरा उतारचढावहरुलाई
भर्यांग बनाएर
हिडिरहेछु,
मेरो जिन्दगीका अग्ला प्रखालहरुमा ।
स्वाभिमानलाई
शासकहरुको पाउजु बनाएर
मलाई टेक्नु छैन
कुनै सफलताका हिमशिखरहरु ।
जहाँ प्र’हार गर्नुछ
म त्यही निशाना लगाउनेछु
जस्लाई प्रेम गर्नु छ
उसैसंग स्नेहले पग्लने छु ।
स्विकार्य होला नहोला
यो समाजलाई
म मेरै रहरहरु संगै रमाउन चहान्छु ।
उधारो जिन्दगी जिएर
किस्ता किस्तामा श्वास फेर्नु भन्दा
एकदिनको सम्राट सहि,
चिराग बालेर, निस्किएको छु
म मेरो
अँध्यारो मनको बस्तिबाट,
जसरी निस्कन्छ
सिंह गुफाबाट
शि’कारको खोजिमा
त्यसरि नै निस्कनु छ मलाई,
मेरो परिधिबाट
मेरो परिस्थितिबाट
र शि’कार खेल्नु छ
केही थान निर्दयी पिडाहरुको,
र झम्टनु छ केही थान
नवीन चाहानाहरु
हो मलाई मेरो परिवेशबाट
केही पर,
मेरा रहरहरुका क्षितिजसम्म
पुगेरै मर्नु छ ।
त्यसैले म हिडिरहेछु
बस ! हिडिरहेछु ।







प्रतिकृया दिनुहोस्