October 2, 2023, Monday
२०८० आश्विन १६, मंगलवार
हवाई टिकट र होटल बुक गरेर ठमेलमा जनार्दनको गुट भेला, के – के भयो छलफल ?

हवाई टिकट र होटल बुक गरेर ठमेलमा जनार्दनको गुट भेला, के – के भयो छलफल ?

असोज ११, काठ्मान्डौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन ​नजिकिँदै गर्दा अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्माले आफ्नो गुटको भेला गर्दै शक्ति आकलन थालेका छन्।

माओवादी केन्द्रको संगठन विभाग प्रमुखसमेत रहेका शर्माले शनिबार काठमाडौंको ठमेलस्थित बुद्ध होटलमा देशभरबाट आफूनिकट माओवादी सञ्चारकर्मीहरूको भेला गरेर पार्टीभित्र आफ्नो हैसियत आकलन गर्दै आगामी योजनासमेत तय गरेका हुन्।

माओवादी केन्द्रका पत्रकारहरूको प्रेस संगठनमा आबद्ध आफु पक्षीय ३५–४० जना सहभागी भेलामा पार्टीको केन्द्रीय तहका नेता शर्माले मात्रै सम्बोधन गरेका थिए।

भेलामा सहभागी माओवादी सम्वद्ध एक पत्रकारका अनुसार शर्माले पार्टी सम्मेलन नजिकिँदै गरेको भन्दै देशभर आफ्नो पक्षमा माहोल बनाउन निर्देशन दिएका थिए।

‘देशभर मेरो माहोल के छ ब्रिफिङ र सुझाव लिन बोलाएको हुँ’, भेलामा शर्माको भनाइ उधृत गर्दै ती पत्रकारले भने, ‘माओवादी पार्टी तदर्थवादी भयो, तपाईंहरू मलाई साथ दिनुस्– अब नयाँ ढंगले जानुपर्छ।’

माओवादी पार्टीमा हालै भएको कार्य विभाजनबाट संगठन विभाग प्रमुखको जिम्मेवारी लिएका शर्मा पुसमा हुने सम्मेलनबाट संभवतः महासचिव बन्ने तयारीमा छन्। र, माओवादीभित्र महासचिव पदमा केन्द्रीय कार्यालय इन्चार्ज समेत रहेका पूर्वअर्थमन्त्री बर्षमान पुन र शर्माबीच टक्कर हुने चर्चा सुरु भएको छ।

माओवादीका कतिपय नेताहरूले त जनार्दन शर्मा आगामी महाधिवेशनसम्ममा पुष्पकमल दाहाल प्रचण्डसँग अध्यक्षमा नै प्रतिस्पर्धा गर्ने तयारीमा जुटेका दाबी गरेका छन्। शर्माले आफूनिकट केही नेताहरूसँग यस्तो तयारीमा लाग्न छलफल चलाएको जानकारी प्रचण्डले पनि पाइसकेका ती नेताहरूको दाबी छ।

माओवादी केन्द्रको हालैको केन्द्रीय समिति बैठकले वडादेखि केन्द्रीय नेतृत्वसमेत निर्वाचनबाट चयन गर्ने निर्णय गरिसकेको छ।

एक नम्बरदेखि सुदुरपश्चिम प्रदेशसम्मबाट आएका करिब ३५–४० जना सहभागी भेला बिहान ११ बजेदेखि राती ९ बजेसम्म चलेको थियो। शर्मा भने आफ्नो सम्बोधन सकेर बाहिरिएका थिए।

मन्त्री शर्मा बाहिरिएपछि माओवादी केन्द्रका केन्द्रीय सदस्य ओम शर्मा, राष्ट्रिय सभाका सांसद जगप्रसाद शर्मा, ओपेन्द्र शर्मा, मन्त्री शर्माका आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेती, प्रेस संयोजक सचिन रोका लगायतले भेलालाई निरन्तरता दिएका थिए।

भेलाका सहभागीहरूलाई हवाई टिकट र होटलको व्यवस्था मिलाइएको थियो।

भेलामा सहभागी केही पत्रकारहरूले भने ठमेल भेला शर्माको गुट भेला नभएर अर्थमन्त्रालयमा उनले गरेका काम मिडियामार्फत बाहिर लैजाने योजना बनाउन आयोजना गरिएको दाबी गरेका छन्।

‘चर्चा चलेजस्तो जनार्दन शर्माको गुट भेला थिएन त्यो’, अर्का एक सहभागीले भने, ‘अर्थमन्त्रालयमा आफूले गरेका राम्रा काम जनसमक्ष लैजान सञ्चारकर्मीलाई ब्रिफिङ गर्न आयोजना गरिएको भेला मात्रै हो।’

तर देशभरबाट शर्मा निकट सञ्चारकर्मी मात्रै सहभागी गराइनु, प्रेस संगठनका अध्यक्ष महेश्वर दाहाल नै भेलामा सहभागी नहुनु र भेलामा माओवादी नेताहरूमध्ये शर्माले मात्रै सम्बोधन गर्नुले माओवादी नेतृत्व पंक्तिले यसलाई शर्माको गुट भेलाकै रुपमा अर्थ्याएकाे छ।

नेपालखबर बाट साभार ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज