March 16, 2025, Sunday
२०८१ चैत्र ३, सोमबार
राजेन्द्र महतो बने उपप्रधानमन्त्री, अरु कस्ले कुन मन्त्रालय पाए ?

राजेन्द्र महतो बने उपप्रधानमन्त्री, अरु कस्ले कुन मन्त्रालय पाए ?

जेठ २१, काठ्मान्डौ । जनता समाजवादी पार्टी (जसपा)को महन्त ठाकुर पक्ष सरकारमा सहभागी हुने भएको छ । उक्त समुहले ८ मन्त्रालय र २ राज्य मन्त्री पाउने भएको छ ।

राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी भएको उक्त पक्षका १० नेताले आज साँझ ८ बजे मन्त्री पदको शपथ लिने भएका छन् । जसपाका अध्यक्ष महन्थ ठाकुरले ८ मन्त्री र दुई राज्यमन्त्रीको नामसहितको सूची प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका छन् ।

जनता समाजवादी पार्टी (जसपा)ले पाउने ८ मन्त्रालय टुंगिएसँगै एमालेका ४ जना बाहेक सबै मन्त्री पदमुक्त हुने भएका छन । अर्थ मन्त्री बिष्णु पौडेल, शिक्षा मन्त्री गोपालकृष्ण श्रेष्ठ, कानुन मन्त्री लिलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ बाहेक सबै मन्त्री पदमुक्त हुने भएका हुन ।

महिला बालबालिकामन्त्री जुलीकुमारी महतो, वनमन्त्री प्रेम आले र भूमिव्यवस्थामन्त्री डा. शिवमाया तुम्बाहाम्फे लगाएतको मन्त्रालय खोसिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेताहरुबीच शुक्रबार भएको छलफलमा ८ मन्त्रालय टुंगिएको थियो। जसअनुसार जसपाले शहरी विकास, उर्जा, खानेपानी, भूमि व्यवस्था, श्रम, युवा तथा खेलकुद, महिला बालबालिका र वन मन्त्रालय पाएको छ ।

जसपा स्रोतका अनुसार वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागिएको हो । शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकबाल मिया मन्त्री बन्नेछन् ।

महतो उपप्रधान तथा शहरी विकास मन्त्री हुनेछन् भने भण्डारीले उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् । झाले खानेपानी र कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्दा श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र अरगरियालाई वन तथा वातावरण मन्त्रालय परेको छ ।

यस्तै चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइने जसपाका एक नेताले बताए । जसपाले दुई राज्यमन्त्री पनि टुंगो लगाएको छ । चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री हुनेछन् ।