September 21, 2026, Monday
२०८३ आश्विन ५, सोमबार
देउवा निवास बाट ‘ठाकुर- महतो’ सिधै प्रधानमन्त्री निवास बालुवाटार किन गए ?

देउवा निवास बाट ‘ठाकुर- महतो’ सिधै प्रधानमन्त्री निवास बालुवाटार किन गए ?

वैशाख २६, काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर फर्केपछि जसपाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो बालुवाटार छिरेका छन्।

उच्च स्रोतका अनुसार करिव १० मिनेट अघि उनीहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार छिरेका हुन्। देउवासँग उनीहरुको के कुरा भयो त्यसबारे एकिन हुन सकेको छैन।

यद्यपि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोज्न विपक्षी दलहरु तम्सिरहेका बेला ठाकुर र महतो देउवासँग सल्लाह गरेका हुन् । उनीहरुबिच देउवा निवासमा वार्ता भएकाे हाे ।

सोमबार प्रतिनिधिसभामा ओलीले विश्वासको मत लिन गइरहेको अवस्थाका कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्ष विपक्षमा उभिने निर्णय गरिसकेका छन्।

ओलीलाई विश्वासको मत दिनुपर्छ भन्ने अडानमा रहेका ठाकुर र महतो पनि पार्टीभित्र चर्को दबाब बढिरहेका बेला देउवासँग परामर्श गर्न पुगेका हुन्।

३२ सांसद रहेको जसपामा बहुमत सांसद उपेन्द्र यादवको पक्षमा छन्। देउवा, माओवादी अध्यक्ष प्रचण्ड र यादवले वैकल्पिक सरकारको तयारी भित्रभित्रै तीव्र बनाइ रहेका बेला ठाकुर र महतो पनि उक्त समूहमा सहभागी हुने संभावना बढेको अनुमान गरिएको छ ।

एमालेको माधव नेपाल पक्षले आलीलाई सत्ताबाट निकाल्न सांसद पदबाटै राजीनामा दिएर विपक्ष गठबन्धनलाई सहयोग गर्ने निर्णय गरिसकेको छन्।

ठाकुर र महतो देउवासँग परामर्श गर्न पुग्नुले ओली विरोधी गठबन्धन थप बलियो हुने संभावना बढेको छ। तर उनिहरू त्यहाँ बाट सिधै बालुवाटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।