इश्वर, बादल र नेम्वाङ सहित प्रधानमन्त्री ओली अचानक देउवा निवासमा किन गए ?
वैशाख २२, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस सभापति तथा विपक्षी दलका नेता शेरबहादुर देउवासँग छलफलका लागि देउवा निवास बूढानीलकण्ठ पुगेका छन् ।
बुधबार अचानक उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई लिएर देउवा निवास पुगेका हुन् । देउवा सँग ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्ने बताइएको छ ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिसकेका छन् । कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्न माओवादी, जसपाको उपेन्द्र यादव पक्ष र एमालेकै माधव नेपाल पक्षसँग छलफल गरिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने भएपछि सबैको ध्यान यति बेला संसद्को अंकगणितमा केन्द्रित भएको छ। प्रधानमन्त्री ओलीले विश्वासको मत लिन सांसदको कुल संख्याको बहुमत अर्थात् १ सय ३६ मत प्राप्त गर्नुपर्छ। माओवादी केन्द्रका चार सांसदको पद खारेज भएपछि २ सय ७५ सदस्यीय संसद्मा हाल २ सय ७१ सदस्य छन्।
संसद्मा एमालेको १२१ मत छ। ती सबै मत प्रधानमन्त्री ओलीले पाए पनि विश्वासको मत पुर्याउन थप १५ जनाको समर्थन चाहिन्छ। यसका लागि उनले अन्य दलबाट सहयोग पाउनुपर्छ। कुनै बेला झन्डै दुईतिहाइ बहुमतनजिक रहेका ओलीलाई अहिले विश्वासको मत जुटाउन चुनौतीपूर्ण देखिएको छ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिन आफ्नै दलका सबै सांसदलाई एकताबद्ध गरी जनता समाजवादी पार्टी जसपा को केही मत तान्नुपर्ने हुन्छ। तर आफ्नै दलको माधव पक्षले सहयोग नगर्ने भएपछी प्रधानमन्त्री ओली सकसमा परेका छन् । यस्तो बेला उनको देउवा संगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रतिकृया दिनुहोस्