September 22, 2026, Tuesday
२०८३ आश्विन ६, मंगलवार
बाख्रा चराउन गएका ५ बालक माछा पोखरीमा, सिंगो गाउँ आँशु पोखरीमा

बाख्रा चराउन गएका ५ बालक माछा पोखरीमा, सिंगो गाउँ आँशु पोखरीमा

जेठ २८, जनकपुरधाम । धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका(५ स्थित लक्ष्मीनियाँ गाउँमा बाख्रा चराउन भनेर हिँडेका गाउँका पाँच बालिका घर फर्केनन् । १० देखि १२ वर्ष उमेरका बालिकाहरु खेतमा खनिएको खाल्डोमा भरिएको पानीमा डुबेका थिए ।

दिउसो १२ बजेतिरको उक्त घटना पछि गाउँ शोकमग्न भएको छ । सिंगो गाउँ आँशु पोखरीमा डुवे सरह भएको छ । गाउँमा स्तब्धता छाएको छ । कसैका आँखा ओभाना छैनन् ।

बाख्रा चराउन गएका बालिकाहरु गर्मीले हपहपी भएपछि नजिकै खेतमा रहेको ‘पोखरी’ मा नुहाउन पसेका थिए । वडाध्यक्ष धर्मेन्द्र यादवका अनुसार त्यहाँ माछा पाल्न लागि पोखरी बनाउने उद्देश्यले स्थानीय हुलास यादवले खाल्डो खनेका थिए । तर वर्षा भएपछि पानी भरियो । पोखरीका लागि खनिएको खाल्डोको चारैतिर धान खेत रहेको छ ।

बालिकाहरुले सोचेभन्दा गहिरो थियो पोखरी । करिब ९ फिटको पोखरीमा छिरेका सात बालिकामध्ये दुई जनाले जसोतसो ज्यान जोगाए । पौडिन नसकेका ५ जनालाई पोखरीले निल्यो ।

ज्यान बचाएका बालिकाहरुले गाउँमा आएर खबर गरेका थिए । त्यसपछि गाउँवासीहरु खेतमा जम्मा भए । कोलाहलको वातावरण भयो ।
वडाध्यक्ष यादव भन्छन्, ‘अहिले पनि रुवावासी चलिरहेको छ । परिवारजनहरु बेहोश अवस्थामा नै छन् ।’

मृत्यू हुनेहरुमा स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्राकुमारी भगत, राजगिर पूर्वेकी १३ वर्षीया छोरी मञ्जु पुर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया नातिनी चाँदनी ठाकुर र वकिल साहकी १२ वर्षीया छोरी ललिता साह रहेका छन् । उनीहरुको शव पोष्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याइएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी मुकेन्द्र मिश्रले जानकारी दिए ।

मृतकको शव अस्पताल ल्याइए पनि आज पोष्टमार्टम हुने सम्भावना कम छ । अस्पतालमा दिउँसो ५ बजेअगाडी ल्याएको शवको मात्र पोष्टमार्टम गर्ने गरिएको छ ।

डीएसपी मिश्र भन्छन्, ‘शव भर्खर ल्यायौं । अब पोष्टमार्टम आज हुन्छ कि हुँदैन भन्न सकिन्नँ । तर डाक्टरसँग आजै पोष्टमार्टम गरिदिन आग्रह गर्छु ।’ वडाध्यक्ष यादवले भने, ‘यस्तो ठूलो घटना कहिले भएको थिएन । गाउँ नै शोकमा छ ।’

स्रोत ः नेपाल प्रेस