भारतबाट अबैध आयात नरोकिदा ५ वर्षमा नेपालका २१ बिस्कुट उद्योग बन्द, १५ हजारको रोजगारी गुम्यो
फागुन ०२, विराटनगर : भारतबाट हुने अवैध आयातका कारण नेपाली बिस्कुट उद्योगहरु पछिल्लो समय धरासायी बन्दै गइरहेको पाइएको छ। उद्योगी व्यवसायीले तस्करीमार्फत भारतबाट दैनिक रुपमा भित्रिने ठूलो परिणामको बिस्कुटका कारण नेपाली उद्योग संकटमा परिरहेको गुनासो गरेका छन्।
नेपाली उद्योगलाई संरक्षण गर्ने नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन नगर्दा र अवैध एवं अनाधिकृत आयातलाई निरुत्साहित गर्ने कुनै पनि कदम नचालिँदा त्यसको मारमा नेपाली बिस्कुट उद्योग परिरहेको उनीहरुको भनाइ छ। जसका कारण प्रतिस्पर्धामा आउन नसक्दा धमाधम नेपाली उद्योगहरु बन्द हुन थालेका छन्।
उद्योगको संरक्षणमा सरकारले बेलैमा चासो नदिँदा राष्ट्रिय उत्पादनमा योगदान र हजारौँलाई रोजगारी दिँदै आएका उद्योगहरु बन्द भइरहेको गुनासो उद्योगी व्यवसायीको छ। चलेका सीमित उद्योगहरु पनि पछिल्लो समय प्रतिस्पर्धा गर्नसक्ने अवस्थामा नभएको उनीहरुको भनाइ छ।
नेपाल बिस्कुट संघ केन्द्रीय कार्यालयका सचिव अजय पराजुलीका अनुसार पाँच वर्षअघिसम्म नेपालमा ३५ वटा बिस्कुट उद्योग सञ्चालनमा थिए। राम्ररी बजार जमाइसकेपछि स्थापित हुँदै गएका ती उद्योगमध्ये पछिल्लो समय कतिपय बन्द भइसकेका छन् भने कतिपय धरासायी बनिरहेका छन्। बिस्कुट उत्पादन र आपूर्तिमा लगभग आत्मनिर्भरको अवस्थामा नेपाली उद्योग पुगे पनि पछिल्लो समय त्यस्तो अवस्था नरहेको पराजुलीको भनाइ छ।
उनका अनुसार पाँच वर्षको अवधिमा मात्रै नेपालमा रहेका २१ वटा बिस्कुट उद्योगहरु बन्द भइसकेका छन्। सञ्चालनमा रहेका अरु पनि धरासायी र रुग्ण बनेर बन्द हुने अवस्थामा पुगेको पराजुलीले बताए।
उनका अनुसार नेपाली उद्योगबाट उत्पादन भएकै गुणस्तरका बिस्कुटहरु सहजरुपमा भारतबाट आयात हुने गरेका छन्। त्यसलाई नियन्त्रण गर्न कसैले चासो नदिएको पराजुलीले बताए। भारतबाट पार्लेजी, गुडडे, ह्याप्पी ह्याप्पी, टफ लाइफ जस्ता ब्राण्डका दर्जनौं बिस्कुतहरु अवैध बाटो हुँदै भारतबाट आयात भइरहे पनि नियन्त्रणका लागि कुनै प्रयास नभएको उनको भनाइ छ। नेपाली बजारमा भेटिने ति ब्राण्डका बिस्कुट भन्सारको औपचारिक मार्ग भएर न्यूनमात्र आयात हुने गरेको पाइएको उद्योगी व्यवसायीले बताए। ठूलो परिणाममा ति ब्राण्डका बिस्कुटहरु तस्करी भएर आउँदा नेपाली उद्योग संकटग्रस्त अवस्थामा पुगेको जानकारी पराजुलीले दिए।
नेपाली बजारमा चर्चित ब्राण्ड बनिसकेका धेरै बिस्कुट उद्योगहरु अहिले बन्द भएका छन्। मयुर, चौतारी, ववि, सनसाइन लगायतका बिस्कुट अहिले बजारमा भेटिँदैनन्। ति उद्योगहरु भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेकै कारण पाँच वर्षको अवधिमा बन्द भएको बिस्कुट बजारीकरणको क्षेत्रमा काम गर्दै आएका छत्र विष्टले बताए।
नेपाली बिस्कुट उद्योगहरु बन्द हुँदा धेरै मजदुरको रोजगारी गुमेको विष्टको भनाइ छ। एउटा सामान्य उद्योगमा न्यूनतम दुई सयदेखि चार सय जनासम्मले बिस्कुट उत्पादनमा जोडिएर रोजगारी पाएका थिए। उनका अनुसार बजारीकरणमा पनि त्यत्तिकै संख्यामा प्रत्यक्ष रोजगारी पाउनेहरु थिए। पाँच वर्षको अवधिमा बन्द भएका बिस्कुट उद्योगबाट मात्रै १५ हजार मजदुरले रोजगारी गुमाउनु परेको विष्टको भनाइ छ। तस्करी भएर भारतबाट आउने र सस्तो मूल्यमा बजार ओगट्ने गरेका कारण प्राय नेपाली बिस्कुट उद्योग संकटग्रस्त अवस्थामा गुज्रनु परेको गुडलाइफ बिस्कुटका बजार व्यवस्थापकसमेत रहेका विष्टको भनाइ छ।
भारतबाट हुने अवैध पैठारी, कच्चा पदार्थ आयातमा भोग्नु परिरहेका कठिनाई र नेपाली उद्योगलाई संरक्षण गर्न नसक्दा बिस्कुट उद्योगहरुले सहज प्रतिस्पर्धा गर्न नसक्ने अवस्था बनेको उद्योगी तथा नेपाल बिस्कुट संघका केन्द्रीय उपाध्यक्ष महेश जाजूको भनाइ छ। नेपाली बिस्कुट उत्पादकहरुले सरकारसँग कच्चा पदार्थ आयातमा सहजीकरण गरिदिन माग गर्दै आएको भए पनि सरकारले त्यसको सुनुवाई नगर्दा उद्योगहरु बन्द गर्नुपर्ने अवस्थामा पुगेको उनको भनाइ छ। जसका कारण बिस्कुटमा गरिएको अबौँ लगानी डुबेर उद्योगी व्यवसायी नै पलायन हुनु परेको जाजूले बताए।
उनका अनुसार बिस्कुट उद्योगका लागि पिठो र चिनी मुख्य कच्चा पदार्थहरु हुन्। बिस्कुटलाई मसिनो चिनीको आवश्यकता पर्छ। उद्योगीहरुले उद्योगको उत्पादन र विगतको खपत अनुपातका आधारमा सहुलियत मूल्यमा चिनी आयात गर्न पाउनुपर्ने माग गर्दै आएका छन्। चिनी आयात गर्दा ४० प्रतिशत भन्सार महशुल तिर्नुपर्ने भएकोले उत्पादन लागत बढ्न गई भारतीय बिस्कुटसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था गुम्दै गएको जाजूको भनाइ छ।
भारतबाट भइरहेको अनाधिकृत आयात र त्यहाँको उत्पादनले नेपाली बिस्कुटको बजार खुम्चिएर करिब ३५ प्रतिशतमा सीमित हुन पुगेको जाजूले बताए। बिस्कुटको झण्डै ६० प्रतिशत नेपाली बजारको हिस्सा भारतीय उत्पादनले ओगटेको उनको भनाइ छ।
उद्योगहरु धमाधम बन्द हुँदै जाने र तस्करी भएर आउने विदेशी उत्पादनले बजार ओगट्ने अवस्था रहेका कारण नेपाली आर्थिक क्षेत्रमा पनि नकारात्मक असर परेकोभन्दै उद्योगी व्यवसवायीले चिन्ता व्यक्त गरेका छन्। उनीहरुले अनधिकृत आयात रोक्न माग गर्दै विभिन्न समयमा ध्यानकर्षण गराइसकेका छन्। तर यस विषयमा सरकारले चासो नदिएको गुनासो उद्योगी व्यवसायीको छ। – अन्नपूर्ण पोस्ट
प्रतिकृया दिनुहोस्