May 16, 2025, Friday
२०८२ जेष्ठ ४, शनिबार
विवेकशीलका उपाध्यक्ष सहित १३ जना केन्द्रिय नेता साझासँगको एकतामा सहभागी नहुने

विवेकशीलका उपाध्यक्ष सहित १३ जना केन्द्रिय नेता साझासँगको एकतामा सहभागी नहुने

मंसिर १९, काठमाडौं । विवेकशील नेपाल दलका दुईजना पदाधिकारीसहित १३ जना संघीय समिति सदस्य साझा पार्टी सँगको एकतामा सहभागी नहुने भएका छन् ।

पार्टी एकताका लागि साझा र विवेकशीलका वार्तासमितिबीच एकता गर्ने सहमति गरेपछि विवेकशीलकी उपाध्यक्ष अजीता राई र सचिव (कार्यालय व्यवस्थापन) संगीता बटाजुलगायत १३ संघीय समिति सदस्यले अब बन्ने विवेकशील साझा पार्टीमा सहभागी नहुने निर्णय गरेका हुन् ।

१३ जनाले बिहीबार संयुक्तरुपमा विज्ञप्ति निकाली अब बन्ने विवेकशील साझालाई शुभकामना व्यक्त गर्दै दुई दलबीचको मतभिन्नताका विषयलाई नटुङ्ग्याइ गरिएको एकतामा सहभागी हुन नसक्ने बताएका हुन् ।

उनीहरुले अब फेरि पार्टी दर्ताका लागि आफुहरुको विचारसँग सहमत हुनेहरु बीच छलफल गरी छिट्टै अगाडि बढ्ने बताएका छन् । विवेकशीलको संघीय समितिमा जम्मा ३५ जना रहेका छन् । जसमा १३ जनाले एकतामा सहभागी नहुने भएपछि अब २२ जनामात्रै विवेकशील साझामा रहनेछन् ।

२ दलको एकता पछि बन्ने पार्टीमा साझाका रबिन्द्र मिश्र अध्यक्ष र मिलन पाण्डे संयोजक हुने गरी साझा र विवेकशीलबीच एकता गर्ने सहमति भइसकेको छ ।

एकता प्रक्रियामा सहभागी नहुनेहरु १. अजीता राई – उपाध्यक्ष, २. संगीता बाटाजु – सचिव (कार्यालय व्यवस्थापन), ३. कर्मा लामा तामाङ – संघीय समिति सदस्य, ४. छिरिंग तामाङ – संघीय समिति सदस्य, ५. विजय बाबु, शिवाकोटी – संघीय समिति सदस्य, ६. जेसन बैद्य – संघीय समिति सदस्य, ७. शिशिर राई – संघीय समिति सदस्य, ८. जमाल अली – संघीय समिति सदस्य, ९. आशीष राई – संघीय समिति सदस्य, १०. ज्ञानेन्द्र निरौला – संघीय समिति सदस्य, ११. साधना थुलुङ्ग राई – संघीय समिति सदस्य, १२. शशिविक्रम कार्की – संघीय समिति सदस्य र १३. आलोक सुवेदी – संघीय समिति सदस्य रहेका छन् ।

बिगतमा पनि साझा र विवेकशील ११ साउन २०७४ मा एकिकरण भएर २०७५ पुस २७ गते विभाजन भएका थियो। पार्टीमा रविन्द्र मिश्रले पार्टी एकलौटी ढंगले अगाडि बढाएको, आफू निकटका व्यक्तिहरुलाई नियुक्ती गरेकोप्रति असन्तुष्ट जनाउदै तत्कालिक अर्का संयोजक उज्जल थापा समूह पुरानै विवेकशील निर्वाचन आयोगमा दर्ता गराएका थिए ।

तर फुटको ३ वर्षपछि साझा पार्टी र विवेकशील नेपाली दल फेरि एकता गर्ने प्रयासमा जुटेका छन् ।

साझा पार्टीको २०७७ असार २८ गते बसेको केन्द्रीय कमिटीको बैठकले पार्टी एकताका लागि सम्वाद समिति गठन गरेको थियो । नेताहरुका अनुसार पार्टी एकता वार्ताका लागि विवेकशील नेपाली दलले पनि कार्यदल गठन गरेको थियो ।

२०७४ को चुनावमा एक्ला एक्लै प्रतिस्पर्धामा उत्रिएका दुई दलले प्रदेश ३ को प्रदेशसभामा (हालको बागमती प्रदेशसभा) मा समानुपातिकतर्फ तीन सिट पाउन सफल भएका थिए । प्रतिनिधिसभा निर्वाचनमा पार्टीको नेतृत्व तहकै व्यक्तिहरु नेतृत्व नै पराजित भएका थिए ।

२७ पुस २०७५ मा यो पार्टी फुट्यो । उज्ज्वल थापा नेतृत्वको समूहले फेरि विवेकशील नेपाली दल ब्यूँतायो भने रवीन्द्र मिश्र समूह साझा पार्टीमा नै रहे । १४ मंसिर २०७६ मा कास्की २ मा भएको उपचुनावमा दुबै दलले नराम्रो हार व्यहोरे । अन्यत्र पनि अपेक्षाअनुसार मत नआएपछि फेरि एकताको बहस सुरु भयो ।

साझा पार्टीको फागुन १५ देखि १७ गतेसम्म लुम्बिनी भेलाले मन र विचार मिल्ने पार्टीसँग एकता गर्ने निर्णय गरेको थियो । त्यही निर्णयलाई टेकेर साझाले विवेकशील नेपाली दलसँग पार्टी एकताका लागि अनौपचारिक सम्वाद थालेको थियो ।

त्यसअनुसार विवेकशीलले राजनीतिक सम्वाद समितिलाई वार्ताको जिम्मा दिएको थियो । महासचिव निर्देश सिलवालको संयोजक रहेको समितिमा रञ्जु दर्शना र प्रदेशसभा सदस्य रमेश पौडेल सदस्य थिए ।

त्यसपछि साझा पार्टीले पनि राजनीतिक सम्वाद समिति बनाएको थियो । तर लुम्बिनी भेलामा केन्द्रिय सदस्य मुमाराम खनाल र प्रबक्ता सूर्यराज आचार्यले पार्टीको संरचना भत्काएर संयोजक मात्र राख्ने प्रस्ताव गरेका थिए । तर पार्टी नेतृत्वले अहिलेको संरचना कायम राख्दै एकता गर्दै जाने पक्षमा उभिएपछि दुबैले पार्टी परित्याग गरेका थिए ।