May 16, 2025, Friday
२०८२ जेष्ठ ४, शनिबार
‘केपि ओलीलाई ‘बा’ भनेर हातमा ढोक्नेहरूले होहल्ला गरे’ : पाण्डे

‘केपि ओलीलाई ‘बा’ भनेर हातमा ढोक्नेहरूले होहल्ला गरे’ : पाण्डे

मंसिर ०७, सल्यान । चितवनमा आफू प्रमुख अतिथी रहेको एक कार्यक्रममा हिजो होहल्ला भएपछि नेकपा स्थाइ समिति सदस्य सुरेन्द्र पाण्डेले घटना बारे मुख खोलेका छन ।

पाण्डेको निर्वाचन क्षेत्रमा पर्ने राप्ती नगरपालिकामा शनिबार आयोजना गरिएको पार्टीको नगर कमिटी बैठक उनी बोल्ने क्रममा हिजो केही कार्यकर्ताहरूले नारावाजी र होहल्ला गरेका थिए ।

नेता पाण्डेले पार्टीको उक्त बैठकमा होहल्ला गर्नेहरू राप्ती नगर कमिटीका सरोकारवाला नभएर अन्य कमिटिका रहेका र केपी ओलीलाई भेट्दाखेरि ‘बा’ भनेर हातमा ढोग्नेहरु रहेको बताएका छन ।

“यसरी नारा लगाउने अगुवा को थिए त भन्दा चितवन जिल्ला कमिटीका पूर्वअध्यक्ष जगन्नाथ थपलियाका छोरा सुरज थपलिया । सुरजका बुबा जगन्नाथजी अहिले वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका सल्लाहकार हुनुहुन्छ ।”

उनले भने “नाराबाजीको अगुवाइ गर्ने सुरजका ससुरा दाबा लामा पनि वागमती प्रदेशकै भूमि व्यवस्था सहकारी तथा कृषिमन्त्री हुनुहुन्छ । उनै मन्त्रीका ज्वाइँको अगुवाइमा त्यहाँ नारा लगाउने काम भयो ।”

त्यसैगरी नारा लगाउनेमा मन्त्री दावाकै पीए प्रकाश कालाखेती, दाबाका छोरा केदार आचार्य र अरु ४ जना भर्खरका केटाहरु उनको भनाइ छ ।

“जगन्नाथको छोरो त अर्को नगरपालिका, खैरहनीको मान्छे रहेको र त्यहाँको सरोकारवाला मान्छे पनि भन्दै पाण्डेले उक्त गैर राजनीतिक भन्दै व्यवहार गर्नेहरूलाई अनुशासनको कारवाही गर्नुपर्ने बताए ।

उनले भने – ” यस्ता मान्छेलाई बोकेर ‘पुस’ गर्ने जुन प्रवृत्ति छ, त्यो पनि गलत कुरा छ । यस्ता व्यक्तिहरुलाई कारवाही गर्नुपर्‍यो । यस्तो प्रवृत्तिलाई प्रोत्साहन गर्नु गलत हो । नेताकै आफन्तहरुलाई त झन् नेताहरुले सम्झाउनुपर्‍यो नि । केपी कमरेडलाई भेट्दाखेरि बा भनेर हातमा ढोग्नेहरु हुन् उनीहरु ।”

कसरी भयो होहल्ला ?

पाण्डे भन्छन – “चितवनमा मेरो निर्वाचन क्षेत्रअन्तरगत पर्ने राप्ती नगरपालिकामा शनिबार पार्टीको नगर कमिटी बैठक आयोजना गरिएको थियो । त्यहाँ मलाई अतिथिका रुपमा निम्त्याइएको थियो । प्रधानमन्त्रीजीकी जनसम्पर्क सल्लाहकार सीता पौडेलकी भाइबुहारी प्रभा बराल यस नगरपालिकाको मेयर हुनुहुन्छ । उहाँ बैठकमा आउँदा ८/१० जना केटाहरु पनि उहाँसँगै आए ।

अरुले आसन ग्रहण गरिरहेका थिए, मेयरलाई वीचमा आसन ग्रहणका लागि नाम लिँदा ती केटाहरुले पर्रर ताली पिटे । उहाँलाई बोल्न उद्घोषकले बोलाउँदा पनि पर्रर ताली पिट्दै थिए । बैठकस्थलमा कानेखुशी पनि गर्दैथिए । यसबाटै उनीहरु किन आएका हुन् भन्ने बुझिन्थ्यो ।

मैले बैठकको उदघाटन सत्रमा बोल्ने क्रममा पार्टीको कार्यदलले कसरी काम गर्‍यो भन्ने कुराहरु राखें । पुष्पलाल होस् या मदन भण्डारीको नाममा, कुनै पनि फाउन्डेसनहरु नबनाउने, त्यसले पार्टीभित्र गुटबन्दीको आधार बन्यो भन्ने हामी कार्यदलका सबैको सहमति हो भन्ने कुरा मैले राखें ।

यो कुरा हामीले दस्ताबेजमा लेख्यौं, स्थायी कमिटीले निर्णय गर्‍यो र यो अहिले पार्टीको निर्णय नै भइसक्यो र सबै सदस्यका वीचमा सर्कुलर पुग्या छ । म यिनै कुराहरु भन्दै थिएँ, उनीहरु नारा लगाउन थाले – “मदन भण्डारी फाउन्डेसन जिन्दावाद, जबज जिन्दावाद, केपी ओली जिन्दावाद जस्ता नाराहरु लगाए ।”

नाराबाजी भएपछि मेयर पनि आत्तिन थाल्नुभयो । उहाँलाई अरु साथीहरुले तिनीहरुलाई ल्याएर यहाँ होहल्ला गराउने भन्दै गरेको सुनेको थिएँ । त्यसपछि उहाँ झन् आत्तिनुभयो । मचाहिँ उनीहरुले हल्ला गरुञ्जेल हाँसेर बसिरहें ।

मेरो भाषण सकिएको थियो । त्यसपछि अध्यक्षले बोल्ने सेसन अन्त्य गर्नुभयो । १ बजे भरतपुरको अर्को कार्यक्रममा जानुपर्ने थियो, हामी त्यहाँबाट हिँड्यौं ।

( स्रोत : अनलाइनखबर )