September 25, 2026, Friday
२०८३ आश्विन ९, शुक्रबार
२८ दिने बालक जंगलमा फाल्ने २ जना विरुद्ध मुद्दा दायर, ३ बर्ष जेल र ३० हजार जरिवाना हुन सक्ने कानुनी प्रावधान

२८ दिने बालक जंगलमा फाल्ने २ जना विरुद्ध मुद्दा दायर, ३ बर्ष जेल र ३० हजार जरिवाना हुन सक्ने कानुनी प्रावधान

असोज २०, सल्यान । आफैले जन्म दिएको २८ दिने बच्चालाई जंगलमा बेवारिसे अवस्थामा फाल्ने २ जना विरुद्ध जिल्ला प्रहरी कार्यालयले अदालतमा मुद्दा दायर गरेको छ । मंगलबार जिल्लाको शारदा नगपालिका वडा नं ३ बस्ने वर्ष ३५ को शान्ता परियार (बच्चाको आमा) र शानपा वडा नं २ पानिखोलाको वर्ष ५० को दान बहादुर भण्डारी बिरुद्द प्रहरीले मुद्दा दायर गरेको हो।

दुवैजना विरुद्ध आफ्नो संरक्षणमा रहेका व्यक्तिलाई फाल्न वा परित्याग गर्न नहुने कसुरमा मुद्दा दायर गरेको र असोज २० गतेबाट लागू हुनेगरी सम्मानित जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रबक्ता प्रहरी निरीक्षक लक्ष्मण ओली बताउनु भयो ।

परियार र भण्डारीले आफ्नो अवैध सम्बन्ध बाट जन्मिएको २८ दिने बच्चालाई उनीहरुले आइतबार साँझ जिल्लाको शारदा नगरपालिका वडा नं ३ घोरुलोटेको जंगलमा फालेका थिए । १९ गते बिहान मर्निङ वाकमा गएका स्थानीयले जंगलमा रोइरहेको अवस्थामा बच्चालाई फेला पारेको र प्रहरीलाई खबर गरेपछि प्रहरीले बच्चाको उद्धार गरेको थियो भने सोहि दिन दिउसो उनिहरुलाई पक्राउ गरेको थियो ।

बच्चा त्याग्ने बिरुद्ध यस्तो छ कानूनी व्यवस्था :

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-१२ (ज्यान सम्बन्धी कसुर) को दफा १८४.अनुसार आफ्नो संरक्षकत्वमा रहेको व्यक्तिलाई फाल्न वा परित्याग गर्न नहुने ब्यबस्था गरिएको छ । दफा १८४ को उपदफा १ ) अनुसार कुनै नवजात शिशु, बालबालिका, अशक्त रोगी वा बृद्ध व्यक्तिलाई आफुले हेरचाह वा स्याहार सम्भार गर्ने कर्तब्य भएको ब्यक्तिले निजको जिउ, ज्यानमा खतरा पुग्न सक्ने गरी फाल्न, परित्याग गर्न वा बेवास्ता गरी छोडन हुँदैन ।

त्यसैगरी २ मा भनिएको छ – ‘उपदफा (१) बमोजिम कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन बर्ष सम्म कैद र तीस हजार रुपैयासम्म जरिवाना हुनेछ ।’