आत्महत्या न्युनिकरणमा सकारात्मक चिन्तन फैलाउन जरुरी
जेठ २८, सल्यान ।
आत्महत्या न्युनिकरणका लागि समाजमा सकारात्मक चिन्तन फैलाउन जरुरी रहेकोमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । सोमबार सल्यानको भोटेचौरमा आयोजित कार्यक्रमका वक्ताहरुले पछिल्लो समय आत्महत्या चुनौतीको रुपमा देखा परेको हुँदा यसको रोकथाम तथा न्यूनिकरणको लागी सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका हुन् ।
छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ को आयोजनामा भएको एक दिने आत्महत्या न्युनिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रममा वडा अध्यक्ष टिकाराम बुढाले आत्महत्या दुःखद दुर्घटना र अकाल मृत्यु भएको भन्दै आजको परिस्थिति र घटनाले तनाव निम्त्याए पनि भोलिका दिन सुखद हुन्छ भनेर सर्वसाधारणमा सकारात्मक चिन्तन फैलाउन आवश्यक रहेको बताए । यस्तै छत्रेश्वरी गाउँपालिकाका स्वास्थ्य संयोजक केशरीदेवी भट्टराईले मानसिक स्वास्थ्य समस्याको पहिचानका लागि गाउँपालिकामा कार्यक्रम सञ्चालन भइरहेको भन्दै परिवारका सदस्य, आफन्त, साथीभाइ कस्तो चरणबाट गुज्रिरहेका छन् भनेर मनोभाव बुझ्ने, तिनका कुरा सुन्न समय दिने र तनाव व्यवस्थापनमा ध्यान दिनुपर्ने धारणा राखिन् ।
कार्यक्रममा आत्महत्याको परिभाषा संगै आत्महत्याका कारण र चिन्ह लक्षण बारे अवगत गराइएको थियो । आत्महत्या गर्ने सोच भएका व्यक्तिहरुलाइ समयमै पहिचान गरेर उपचारको दायरामा ल्याउने र समुदायमा आत्महत्या गर्नेको संख्यालाइ घटाउने उद्देश्यको साथ अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छायाँछेत्र स्वास्थ्य चौकी भोटेचौरका प्रमुख गणेशमान डाँगीले जानकारी दिए ।
कार्यक्रममा कार्यपालिका सदस्य रेणु विक, वडा सदस्यहरु खडगनाथ योगी, मनका वस्नेत, गाउँपालिका सचिवालयका स्वकीय सचिव खडग शाही, नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसी, वडा सचिव संगीता डिसी, स्वास्थ्य संस्था तथा व्यवस्थापन समितिका सदस्यहरु, सिअहेव श्री प्रतिभा बुढाथोकी, त्रिजमावि भोटेचौरका शिक्षक रमा रेग्मी लगाएत महिला स्वास्थ्य स्वयमसेविकाहरुको उपस्थिती रहेको थियो ।
आत्महत्याको सोच र प्रकृति व्यवस्थापनका लागि व्यक्ति स्वयंले मनोपरामर्श वा मनोचिकित्सा सेवा लिने, आत्महत्याको सोच बारे मन मिल्ने साथी वा व्यक्तिलाई बताउने तथा आवश्यक उपचार शुरू गर्ने र निरन्तरता दिनुपर्नेमा अभिमुखिकरणमा जोड दिइएको थियो । यस्तो सोँच भएका व्यक्तिलाइ साथीहरू बढाउँदै जाने र सहयोगी व्यक्ति, परिवारको सदस्य वा संस्थासँग सम्पर्क समन्वय बढाउने, सामाजिक, आध्यात्मिक र धार्मिक क्रियाकलापमा सहभागी हुनेबारेमा परामर्श दिन सकिने विषयमा पनि अभिमुखिकरण गरीएको थियो ।
लेखकको सम्वन्धमा