देशभरका उत्कृष्ट सामुदायिक विद्यालय अन्तर्गत सल्यानबाट शारदा जनकल्याण मा.वि छनोट
असार १०, सल्यान ।
शिक्षा मन्त्रालयले मुलुकभरबाट छनोट गरेका उत्कृष्ट सामुदायिक विद्यालय अन्तर्गत सल्यानको कालिमाटी गाउँपालिका – ३ रामपुरको शारदा जनकल्याण मा.वि छनोटमा परेको छ ।
मुलुकभरिका करिब २८ हजार सामुदायिक विद्यालय मध्येबाट शैक्षिक, भौतिक तथा प्रशासनिक सुधारका क्षेत्रमा उत्कृष्ट काम गरेका विद्यालय छनोट गर्ने क्रममा सल्यानबाट उक्त बिधालय छनोटमा परेको हो ।
हरेक जिल्लाको एक निर्वाचन क्षेत्रबाट एउटाका दरले १६५ वटा विद्यालय छनोट गरिएको मन्त्रालयले जनाएको छ ।
उत्कृष्ट घोषित भएका प्रत्येक विद्यालयले पाँच लाख रुपैयाँ पाउनेछन् ।
रकम स्थानीय तहमार्फत उपलब्ध गराइने भएको हो । रकमको सदुपयोग भए वा नभएको विषयमा स्थानीय तहमार्फत अनुगमन गरिने छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रको कार्यसम्पादन परीक्षणबाट उच्च अंक प्राप्त गरेका विद्यालयलाई आर्थिक सहायताका लागि छनोट गरिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको भनाइ छ ।
केन्द्रले स्थापना कालदेखि नै माध्यमिक तहका विद्यालयको मात्रै कार्य सम्पादन मूल्यांन गर्दै आएको छ । विद्यालय कार्यसम्पादन परीक्षणका लागि केन्द्रले मुख्य गरी चार वटा सूचक निर्धारण गरेको छ ।
लगानी, प्रक्रिया, उपलब्धि र सेवाग्राहीको सन्तुष्टिको स्तर सबैलाई गरेर कुल ८९ वटा सूचक निर्धारण गरिएको छ । मुलुकभर छ हजार ८८५ वटा सामुदायिक माध्यमिक विद्यालय छन् ।
लेखकको सम्वन्धमा